|

रूपेन्द्र पटेल

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको सरकारी अस्पतालको अवस्थामा सुधार आउन नसकेको स्वयम् जनप्रतिनिधिहरूले बताउँदै आएका छन्। केही दिन पहिला नगरका जनप्रतिनिधिको टोली अस्पतालको अनुगमनमा जाँदा अस्पतालको अवस्था लथालिंग रहेको पाईएको भन्दै चन्द्रपुर नगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए।

अस्पतालमा बिरामीको समयमा उपचार नहुने, सरकारले तोकेका निःशुल्क औषध नपाउने, डाक्टरहरू कार्यालय समयमा समेत अस्पतालमा नबस्ने गरेको सेवाग्राहीको गुनासो रहेको छ। कुनै समयमा सेवाग्राहीको भिड रहने चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पछिल्लो समय उपचार गराउन जानेको संख्या न्यून रहेको स्वयम् अस्पतालमा कार्यरत कर्मचारीहरूले नै बताउँछन्।

चन्द्रपुर नगरपालिकामा संजयकुमार काफ्ले मेयरमा जितेर आएपछि स्थानीयले अस्पतालको अवस्थामा सुधार आउने आशा गरेको भए पनि आशाअनुसार काम हुन नसकेको स्थानीय बासिन्दा केदारप्रसाद तिमल्सिनाको भनाइ रहेको छ।

आफ्नो ड्युटी समयमा पनि डाक्टर नबस्नु ,अस्पतालमा जाने बिरामीलाई डाक्टरले राम्रोसँग उपचार नगराउनु, अस्पतालले औषधीसमेत बिरामीलाई दिन नसक्नु लगायत कारणले समेत सरकारी अस्पताल जान आम सर्वसाधारणले छाडेको जानकारहरूको भनाइ रहेको छ।

आफूहरू अस्पताल अनुगमनमा जाँदा अस्पातलमा विकृति नै विकृति रहेको पाइएको चन्द्रपुर-८ का वडाध्यक्ष जितेन्द्र चौधरीको भनाइ रहेको छ। उनले अस्पतालको चारैतिर फोहोर नै फोहोर भएको भए पनि अस्पतालका कर्मचारीले फोहोर व्यवस्थापनमा चासो नदिएको बताए।

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजयकुमार काफ्लेले अब अस्पतालको अवस्था सुधारका लागि आफू एक्सनमा आउने बताएका छन्। अब राम्रोसँग अस्पतालका कर्मचारीले काम नगरे आफूले उनीहरूमाथि कारबाहीको दायरामा ल्याउने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.