|

ए तारे भिर, 
तिम्ले डाक्दा फर्की आउँछ उही घाम जुन

गै जानेलाई मैले डाक्दा 
मनै पोल्ने विरही बोल्छ धुन
ए तारे भिर...

प्रस्तुत गीतांश आभासको शब्द संगीत तथा बानिका प्रधानको स्वर रहेको तारे भिर बोलको गीतको हो। जुन शुक्रबारदेखि प्रदर्शनमा आएको खगेन्द्र लामिछानेद्वारा लिखित तथा निर्देशित नेपाली फिल्म पानीफोटोमा समावेश छ। र, फिल्मको मुल मर्म पनि यही गीतमा भेटिन्छ।

फिल्मको कथालाई मात्र हेर्ने हो भने यो छुट्टाउन मुश्किल छ कि यो कथामा विरह छ विरहमा कथा। पानीफोटो त्यो पात्रको कथा हो जो हराएको छ र ति पात्रको पनि जो हराएको पात्रलाई पर्खिरहेका छन्।

यो यस्तो पर्खाइको कथा हो जुन सुरु त भयो तर कहिले सकिन्छ कुनै टुंगो छैन। यो पर्खाइ जीवन जत्तिकै लामो पनि हुन सक्छ अथवा त्यो भन्दा पनि लामो।

कृष्ण फिल्मको मुख्य पात्र हो। जो हराउँछ र कथाको मियो पनि उही हो। जसको वरिपरी बाँकी पात्र घुम्छन्। कृष्ण बाहेक फिल्ममा अन्य तीन मुख्य पात्र छन्, कृष्णकी आमा, बुवा र प्रेमिका। तिनै तीन जनाको पर्खाइ देखाउने प्रयास हो पानीफोटो। 

एउटी आमा जसको सन्तान हराएको वर्षौँ भइसक्यो। जो आउने कुनै ग्यारेन्टी छैन, आउँदैन भन्नको लागि मरेको प्रमाण पनि छैन। त्यस्तोमा ति आमाको हालत के हुन्छ? एउटा बुवा जो छोरो आउँदैन भनेर च्याट्टै आश मार्न पनि सक्दैन,समाजबाट छुट्टिन पनि सक्दैन। एउटी प्रेमिका जो वर्षौँदेखि आफ्नो प्रेमीको प्रतिक्षामा छिन्, नयाँ आउने हरेक ऋतुले आशा लिएर आएको छ निराशा दिएर गएको छ।

पानीफोटोमा यीनै तीन पात्रको कथा रहेको छ जो वर्षौँदेखि मसिनो आशाको त्यान्द्रोमा झुल्लेसी खेलिरहेका छन्। जहाँबाट सपना र विपना, यथार्थ र कल्पना स्पष्टसँग छुट्टाउन गाह्रो हुन्छ। 

फिल्ममा अहिलेकै समयको कथा भन्ने प्रयास गरिएको छ जसका मुख्य पात्र दश वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित छन्। देशमा शान्ति सम्झौता भएको दशक नै बितेको भए पनि उनीहरूको मनमा शान्ति आएको छैन। जुन आउने ग्यारेन्टी पनि छैन। 

त्यो समयको एउटा हाँगामा अल्झिएर वर्तमान समयमा टेक्न नसकेका पात्रहरूको कथा पानीफोटोमा छ। तीनै पात्रको आँखाबाट फिल्म देखिने भएकाले कथाको समय परिवेश नै हिजो र आजको बिच तिर कतै रुमल्लिइरहे जस्तो लाग्छ। 

त्यस्तै फिल्ममा भौगोलिक परिवेश स्याङ्जाको आँधिखोला आसपासको पहाडी क्षेत्र देखाइएको छ। उजाड डाँडादेखि, अविरल बग्ने खोला, नजिकैको पनि देख्न मुश्किल बनाउने तुवाँलो, पाती उम्रेको रित्तो घरसम्म फिल्ममा देखिन्छ। जसले कुनै न कुनै भावना बोल्न खोजे जस्तो लाग्छ। अझ भनौं डाँडा, खोला, रित्तो घर, तुवाँलो सबैलाई एउटा एउटा पात्र मान्न पनि सकिन्छ। 

पहाडी भेगको एउटा पाखोमा उभिएको घरबाट कथा सुरु भएर त्यहीँ सकिए पनि आँखामा आशा लिएर आँगनको डिलबाट कसैको बाटो हेरिरहेका कृष्णका बाबु आमा जस्ता सबै पात्रको कथा बोल्ने प्रयास पानीफोटोले गरेको छ। चाहे त्यो तराईको समथर भुगोल होस या हिमालको चिसो चट्टाने भुगोल। 

फिल्ममा क्यामेराको भूमिका पनि महत्त्वपूर्ण छ। हुन त क्यामेरा बिना फिल्म नै खिच्न असम्भव भएपछि भूमिका महत्त्वपूर्ण हुने भयो तर क्यामेराले पनि कथालाई बुझेर खिच्न थाल्यो भने, कथावाचनमा कलात्मक योगदान पनि दिन सक्छ। जुन प्रयास पानीफोटोमा देख्न सकिन्छ। कृष्णको आँखाबाट कथा देखाउनु होस्, कोठाभित्रको अत्यासलाग्दो शान्त माहोलबाट बिस्तारै बाहिर निस्किनु होस् या कथालाई जोड्नको लागि जोडक दृश्य संकलन गर्नु होस्, क्यामेराले आफ्नो बलियो उपस्थिति दिएको छ। जसको श्रेय जान्छ छायांकार दीपक बज्रचार्यलाई। 

फिल्ममा रहेको एक मात्र गीतले कथाको समग्र भावलाई बालेको छ। घरी घरी झर्ने झरीको आवाजले पनि कथावाचनमा सकारात्मक भूमिका खेलेको छ। फिल्मको संवाद पटकथा खँदिलो छ। कलाकारहरूको अभिनय पनि अस्वभाविक लाग्दैन।

स्पोइलर अलर्ट

तर, समग्र फिल्ममा केही कमजोरी भने भेटिन सक्छ। जस्तो अन्तिममा कृष्णको एकमात्र फोटो गराउनकै लागि छोराको खोजीमा हिँडेका बाबुआमाले फोटो घरमै छोडेका हुन् जस्तो लाग्न सक्छ। कृष्णको आमा बुवा र घरमा जीवन भर्ने प्रयासमा सिंगो गाउँ चाहिँ छायाँमा परेको हो कि जस्तो लाग्न सक्छ। 

फिल्मको कथा आँगनको डिलबाट सुरु भएर आँगनको डिलमै सकिएको छ। घरी आमा मात्रै घरी बाबु आमा दुवै छोराको खोजीमा निस्केका छन्। फिल्मको अन्तिमसम्म आइपुग्दा आमा बुवाको पर्खाइको, खोजीको ग्राफ त्यति तलमाथि भएको देखिँदैन। जसले गर्दा दर्शकमा पनि लगभग सरल रेखामा पर्खाइको ग्राफ बढ्छ। त्यसलाई कमजोरी नमानेर विशेषता मान्न पनि सकिन्छ। किनकी जुन कथाको मियो नै हराएको छ त्यो कथा कसरी कुनै निश्चित दिशा या उद्देश्यतिर बढ्न सक्छ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.