|

भोजपुर : यहाँको पौवादुङमा गाउँपालिकामा प्रहरी चौकी निर्माणका लागि स्थानीय खड्गराज शाक्यले निःशुल्क जग्गा दान गरेका छन्। जग्गा अभावमा प्रहरीको भवन निर्माणमा समस्या भएपछि शाक्यले २९ लाख बराबरको तीन रोपनी जग्गा निःशुल्क दिएका हुन्।

जग्गा पाएसँगै अब चौकी निर्माणमा सहजता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले बताए। प्रमुख राईले भने, ‘जग्गा नहुँदा प्रहरी चौकी निर्माणमा समस्या भएको थियो। चौकीको नाममा जग्गा प्राप्त भएको छ। अब प्रहरी भवन निर्माणको लागि पहल थाल्छौँ।’

गाउँपालिकाको पहलमा चौकीको नाममा जग्गा प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। गाउँपालिकाको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरेको भएपनि आफ्नो नाममा जग्गा नहुँदा प्रहरीलाई भवन निर्माणमा समस्या रहेको उनको भनाइ छ।

अब जग्गा प्राप्त भएकाले प्रहरीको भवन निर्माणमा गाउँपालिकाले पहल गर्ने राईले बताए। अध्यक्ष राईले भने, ‘गाउँपालिकामा अस्थायी प्रहरी चौकी स्थापना गरेर सुरक्षा प्रदान भइरहेको छ। प्रहरीको भवन नहुँदा गाउँपालिकाको भवनमा बस्नुपर्ने अवस्था छ। जग्गा प्रहरीको नाममा पास भयो। अव भवन निर्माणमा हामी पनि पहल गर्नेछौँ। लाखौँको सम्पति गाउँपालिकाको हितका लागि निःशुल्क दिने जग्गादातालाई धन्यवाद दिन चाहन्छु।’

अध्यक्ष राईले स्थानीयबासीहरुले यसअघि पनि मिराराई बहुउद्धेश्यीय अन्तरराष्ट्रिय रंगशाला, स्वास्थ्य चौकीलगायत संरचना निर्माणको लागि निःशुल्क जग्गा दिएकोसमेत बताए।

गाउँपालिकाको सुरक्षामा सहजता होस् भन्ने उद्धेश्यले प्रहरीलाई जग्गा दिएको जग्गादाता खड्गराज शाक्यले बताए। यसले गाउँपालिकाको विकासमा टेवा पुग्ने उनको भनाइ छ। जग्गादाता शाक्यले भने, ‘हाम्रो सुरक्षामा खट्ने प्रहरीको आफ्नै भवन नहुँदा समस्या छ। प्रहरीको समस्या बुझेर मैले निःशुल्क जग्गा दिएको छु। अब प्रहरीको आफ्नै भवन बनेको हेर्ने इच्छा छ।’

   
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.