|

काठमाडौं : बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशले नेपालसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा पुगेको हो । यसअघिका सबै ३ खेल जितेको बंगलादेश अपराजित रहँदा १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। 

भारतसँग ८–० को फराकिलो गोल अन्तरले पराजित नेपालको ७ अंक भएको छ । अहिले अंक तालिकाको दोस्रो स्थानमा उक्लिए पनि फाइनलमा पुग्ने नपुग्ने टुंगो लाग्नका लागि उसले भारत र माल्दिभ्सबीचको खेल कुर्नुपर्ने भएको छ। 

भारतलाई माल्दिभ्सले पराजित गरेमा नेपालले फाइनल खेल्ने मौका पाउनेछ । अन्यथा भारतले माल्दिभ्सलाई पराजित वा बराबरी गरे मात्रै पनि नेपालको साफ यात्रा टुंगिनेछ। 

मंगलबार नेपालको बंगलादेशसँगको खेल निकै प्रतिस्पर्धात्मक र तनावपूर्ण रह्यो। खेलका क्रममा झगडामा उत्रिएपछि दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाए।

बंगलादेशका सहिदुल इस्लाम र नेपालका दीपेश गुरुङले रातो कार्ड पाएका थिए। नेपालको बेन्चमा रहेका रोहित सुब्बालाई पनि रेफ्रीले रातो कार्ड देखाए। उनी झगडाका क्रममा मैदान छिरेका थिए। 

खेलमा बंगलादेशले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ६३ औं मिनेटमा मोहमद पियास नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए। खेलको ६८ औं मिनेटमा निरञ्जन मल्लले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका हुन्।

आजै साँझ सवा ७ बजे हुने समूह चरणको अन्तिम खेलमा माल्दिभ्स र भारतबीच प्रतिष्पर्धा हुँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.