बहुमत कार्यपालिका सदस्यद्धारा ध्यानाकर्षण

|

सिमरा : निजगढ नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताल्चा खोलेर काम गर्ने वातावरण बनाइदिन माग गर्दै कार्यपालिका सदस्यहरुले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन्।

  नगर प्रमुखले नै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाउनु प्रशासनिक नियमविपरीत भएको र यसबाट नियमित कार्य संचालनमा अवरोध सृजना भएको भन्दै ध्यानाकर्षण गराइएको हो।  

प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की बिदामा रहेका बेला नगर प्रमुख सुरथ पुरीले विशेष पहलमा मकवानपुरको थाहा नगरपालिकामा कार्यरत हरिलाल पुरीलाई निजगढ सरुवा गराई रातारात हाजिरी गराएर बाटो म्यादमा राखेको बहुमत कार्यपालिका सदस्यको आरोप छ।

प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको गत श्रावन ११ गते बाराको पचरौता नगरपालिकामा सरुवा भएको भनिए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्कीलाई पुनः निजगढ नगरपालिकामा नै यथावत रहनु भनी निर्णय गरेर पत्रसमेत पठाइसकेको छ।

पुरीले १३ गते हाजीरी गरेको एक दिन बित्न नपाउँदै मन्त्रालयले कार्कीको सरुवा उल्ट्याएको हो। राजनीतिक पहुँचका आधारमा नगर प्रमुखले निजगढ ल्याएका प्रशासकीय अधिकृत पुरीलाई भने मन्त्रालयमा तानिएको छ। तर मन्त्रालयको पत्रलाई बेवास्ता गर्दै नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई काम गर्न नदिई कार्यकक्षमा ताला लगाएका छन्।

मन्त्रालयले पाठाएको व्यक्तिले काम गर्न पाउनुपर्ने भन्दै मंगलबार नगर कार्यपालिकाका सदस्यहरुले नगर प्रमुख सुरथ पुरीको ध्यानाकर्षण गराएका हुन्।

वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानको नेतृत्वमा नगर कार्यपालिकाका बहुमत सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई प्रशासनिक कार्य गर्न दिन ध्यानाकर्षण गराएका हुन्।

कार्यपालिका सदस्यहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख पुरीले कार्कीलाई कुनै पनि अवस्थामा नगरमा काम गर्न नदिने गैरकानुनी प्रतिक्रिया दिएका छन्। उनले कार्कीसँग मिलेर काम गर्न सक्ने अवस्था नरहेको बताउँदै कार्कीले नै निजगढ नफर्किएर समस्याको निकास दिनुपर्ने अडान लिएका छन्। 

नगर प्रमुख पुरीले समयमै नगरसभा सम्पन्न गराई बजेट पास गराएर नगर कार्यपालिकाको वार्षिक कार्ययोजना तर्जुमा गरिसक्नुपर्नेमा सोप्रति चासो नदेखाएको ध्यानाकर्षण पत्रमा जनाइएको छ। नगर प्रमुख पुरीकै आदेशानुसार डिजिटल हाजिर प्रणालीलाई समेत बन्द गराएर कर्मचारीलाई आफ्नो कार्यकक्षमा कागजी हाजिरी गराएको भन्दै सो कार्यलाई समेत तुरुन्त सच्याउन कार्यपालिका सदस्यहरुले ध्यानाकर्षण गराएका छन्।

यसबारे नगर प्रमुख पुरीले भने डिजिटल हाजिरी मेशिन बिग्रिएकोले कागजी हाजिर गराएको प्रतिक्रिया दिएका छन्।

नगर कार्यपालिका कार्यालयको सुरक्षा, अनुगमन र नियमनका लागि जडित सिसि टिभी क्यामेरा सुनियोजित ढंगले नगर प्रमुख पुरीको आदेशमा बन्द गराएकोप्रति पनि कार्यपालिका सदस्यहरुले ध्यानाकर्षण गराएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.