|

काठमाडौं : बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकियो।

रन वेमा पुगिसकेको उक्त विमानमा शंकास्पद व्यक्ति रहेको सूचनाका आधारमा प्रहरीले विमान रोकेको थियो।

यात्रुहरू सबै ओरालेर चेकजाँच गर्ने क्रममा एक जनालाई प्रहरीले पक्राउ गर्‍यो।  उड्न लागेको विमानमा पक्राउ गर्नुपर्ने मान्छे भएको जानकारी आएपछि केहीबेर विमान रोकिएको थियो।  ती व्यक्तिलाई पक्राउ गरेपछि विमान मुम्बईका लागि उडिसकेको छ।

किन समातिए ती व्यक्ति?

ती व्यक्ति अपराधिक गतिविधिमा आवद्ध रहेको भन्दै कैलाली प्रहरीको सूचनापछि विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए।

पक्राउ पर्नेमा धनगढी घर भएका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने र उनकी श्रीमती मीना लामिछाने रहेपनि प्रहरीले एक जना मात्र पक्राउ परेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार उनीहरूविरुद्ध ठगीको कसुरमा जाहेरी परेको थियो। उनीहरूले भारतबाट सुन चोरेर बिक्री गर्ने गरेको आशंकामा कैलाली प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

उनीहरूलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको एक टोली कैलालीमा नै खटिएको थियो।

सोही टोलीले उनीहरू सुनचाँदी व्यवसायीहरूको टोलीसँग मुम्बई घुम्न जान लागेको थाहा पाएपछि प्रहरी प्रधान कार्यालयलाई सूचना दिएको थियो। सोही सूचनाका आधारमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.