|

काठमाडौं : लोक संगीतमा गीतकार, संगीतकार, गायक, अभिनेता तथा म्युजिक भिडियो निर्देशकको रुपमा बेग्लै पहिचान बनाएका प्रकाश सपूत 'परदेशी २'बाट फिल्ममा डेब्यु गर्दैछन्। दशैँको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्मको एउटा गीत भर्खरै सार्वजनिक भएको छ।

सोमबार 'के वर मागी फर्क्याै' बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रकाशले पहिलो फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताएका छन्। साथै यतिवेला आफूलाई अरु धेरै फिल्मबाट अफर आइरहेको पनि उनले खुलाएका छन्।

'अफरको कुरा गर्दा मैले यो वर्ष धेरै फिल्मको अफर पाएको छु। अहिले पनि मेरो गाडीमा हेर्ने हो भने सायद दुई वटा स्क्रिप्ट छ। राम्रै टिमबाट अफर आएको छ।' उनले भनेका छन्, 'म चाहीँ यो चलचित्र आओस् अनि सोचौँला भनेर बसेको छु।' संगीत क्षेत्रमा सबैले रुचाए पनि फिल्मको अभिनेताको रुपमा दर्शकले कसरी लिन्छन् भन्ने हेर्न बाँकी रहेको र दर्शकले रुचाएको खण्डमा अर्को वर्ष अर्को फिल्म लिएर आउने उनले बताए।

रमेश बिजीको कथा एवम नारायण रायमाझीको निर्देशनमा बनेको फिल्ममा प्रकाश र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन्। ७ वर्षअघि रायमाझी कै निर्देशनमा बनेको फिल्म 'परदेशी'को सिक्वेलको रुपमा 'परदेशी २' बनेको हो। इन्डियन आइडल विजेता प्रशान्त तामाङको मुख्य भूमिका रहेको फिल्म व्यवसायिक रुपमा पनि सफल भएको थियो। 

'परदेशी २'मा प्रकाश र केकी बाहेक वर्षा शिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको छ। साथै अघिल्लो फिल्ममा मुख्य भूमिकामा देखिएका प्रशान्त पनि केमियो रोलमा देखिँदै छन्। फिल्म असोज १४ गतेदेखि प्रदर्शनमा आउँदैछ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.