|

सिमरा : मधेश प्रदेशले औद्योगिक सम्मेलन गुपचुप तवरले सम्पन्न गरेको छ। बाराको सिमरास्थित एक महँगो होटेलमा पत्रकारलाई सुइको सम्म पनि नदिएर २ दिने आवासीय सम्मेलन सम्पन्न गरिएको हो।

आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र आगामी सुधारका कार्यहरु तय गर्ने उद्देश्यले आयोजित सम्मेलनमा एकजना पनि सञ्चारकर्मीलाई बोलाइएको थिएन भने उद्योगीको सहभागितामा समेत बेवास्ता गरिएको थियो।

देशकै ठूलो औद्योगिक करिडोरको रूपमा रहेको पथलैया वीरगञ्ज औद्योगिक करिडोरको मुटु सिमरामा राखिएको उद्योग लक्षित कार्यक्रम थाहा पाउलान् झैँ गरेर गुपचुप गर्नुले कार्यक्रम उद्योग उकास्नभन्दा पनि बजेट सकाउनतर्फ उन्मुख देखिएको छ।

मधेश प्रदेशले नेतृत्व लिएर नेपाल उद्योग परिसंघ सिएनआई र युकेएडको सिप कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतसमेत उपस्थित थिए।

केही संघीय तथा प्रादेशिक मन्त्री र मन्त्रालयस्तरीय कर्मचारी र आयोजक संस्थाका प्रतिनिधि मात्रको उपस्थितिमा भएको कार्यक्रमले उद्योगमार्फत आर्थिक वृद्धि गराउन आगामी दिनमा के गर्नु पर्ला? भन्नेबारे प्रभावकारी योजना के बनाउलान् र? भन्दै नाम नबताउने सर्तमा एक उद्योगीले प्रश्न गरे।

 

मुख्यमन्त्रीको फितलो जवाफ

कसैलाई थाहा दिन नहुने गरी प्रदेश स्तरीय सम्मेलन गर्नुको पछाडि के रहस्य छ? भनेर अन्य जिल्लाका साथीबाट कार्यक्रमबारे थाहा पाएर पुगेका सञ्चारकर्मीले सोध्दा मुख्यमन्त्री राउतले सञ्चारकर्मीलाई बोलाउनमा आयोजक चुके पनि कार्यक्रम गुपचुप नभएको दाबी गरे।  उनले आफू प्रमुख अतिथि भएर आएको र कार्यक्रम सकेर पत्रकार सम्मेलन गर्ने योजनाबारे सुनेको भन्दै फितलो जवाफ दिए।

मुख्यमन्त्रीले भने जस्तो पत्रकार सम्मेलनको न त कुनै तयारी थियो न त भयो नै। मंगलबार साँझ सकिएको सम्मेलनका सहभागीलाई बुधबार बिहानै विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ घुमाएर आयोजक टिम बाटो लागिसकेको छ।

संघीय मन्त्रीहरू, मुख्यमन्त्री सहितका मन्त्रीहरू सहभागी भएको प्रदेश स्तरीय सम्मेलनको स्वागत ब्यानरसमेत बाहिर राखिएको थिएन।

तर, कार्यक्रम हलबाहिर भने निक्कै तामझाम गरिएको पाइयो। जानकारी नै नदिँदा पनि कार्यक्रम स्थलमा पत्रकारहरूलाई देखेपछि आत्तिएका अर्थ सचिव गजेन्द्र ठाकुरलाई भेट्न हम्मेहम्मे नै पर्‍यो।

मोबाइल स्विच अफ गरेर गायव भएका उनीसँग राति ८ बजे बल्ल भेट भयो। सम्मेलन सकेर पत्रकारहरुलाई भेट्ने योजना भएको भन्दै मुख्यमन्त्रीकै भाषा दोहोर्‍याएका उनले यो सम्मेलनका लागि प्रदेश सरकारले रु. पच्चिस लाख छुट्याएको बताए।

प्रदेश सरकारको यो रबैयाले सञ्चार जगतसँग लुकेर कार्यक्रमको नाममा मधेश प्रदेश सरकारले यति ठूलो बजेट तारे होटलमा सिध्याउने र प्रदेश वासीको सूचनाको हक खोस्ने काम गरेको स्पष्ट हुन्छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.