|

पर्वत : नेपालकै पहिलो केवलकारको रूपमा २०५५ सालमा निर्माण भएको ‘मनकामना केवलकार’ करिब ४० करोडको लगानीमा ‘लेटेस्ट डिजिटल सिस्टम’मा जाने भएको छ।

२४ वर्ष अगाडि निर्माण हुने बेलामा केवलकारका लागि ‘एनालग’ प्रणाली मात्रै उपलब्ध रहेका कारण डिजिटलमा जान नपाएको भए पनि अब भने सबैभन्दा पछिल्लो सान २०२१ को ‘डिजिटल सिस्टम’ मा आफूहरू जान लागेको केवलकारका प्राविधिक सुनिल श्रेष्ठले थाहा खबरलाई बताए।

पोखरा र चन्द्रागिरि केवलकार निर्माणका बेला ‘डिजिटल’ प्रविधि उपलब्ध रहेकाले ‘डिजिटल’ प्रविधिमै निर्माण भएका छन्। मनकामना केवलकारले चन्द्रागिरि र त्यसपछि बनेको पोखरा केवलकारको भन्दा पनि ‘लेटेस्ट’ प्रविधिको प्रयोग गर्न लागेको हो।

यो वर्षलाई पहिलो र आगामी वर्षलाई दोस्रो ‘फेज’का रूपमा बाँडेर दुई वर्षको अवधिमा आफूहरू पूर्णरूपमा ‘डिजिटलाईज्ड’ बन्ने श्रेष्ठको भनाई छ। ‘यो वर्षलाई पहिलो र अर्को वर्षलाई दोस्रो फेजका रूपमा बाँडेर काम गर्न लागेका छौँ। यो वर्ष मेकानिकल परिवर्तन गर्ने तयारी हामीले गरिरहेका छौँ,’ उनले भने, ‘अर्को वर्षमा भने कन्ट्रोल सिस्टम चेन्ज गर्न लागिरहेका छौँ।

मोसर, ड्राइभलगायत चेन्ज हुन्छ। निर्माणको बेलामा डिजिटल नै नभएका कारण एनालग प्रयोग भएको थियो।’ दुई वर्षको अवधिमा सक्ने गरी लक्षित गरिएका रुपान्तरणहरु पूरा गर्न करिब ४० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको श्रेष्ठको भनाई छ।

यो वर्षका लागि तोकिएको पहिलो ‘फेज’को काम गर्नका लागि अस्ट्रियाबाट तीन जना प्राविधिकहरू आउन लागेका छन्। उनीहरू आइपुगेपछि आउँदो साउन २९ गतेबाट केवलकार नै बन्द गरेर प्रविधि रूपान्तरणको काम हुने छ।

पहिलो चरणको काम पूरा गर्नको लागि झन्डै डेढ महिना लाग्ने र त्यो अवधिभर नै केवलकार बन्द अवस्थामा रहने छ। केवलकार बन्द रहे पनि ‘बटम स्टेसन’मा रहेको रेस्टुरेन्ट सेवा भने सञ्चालनमा रहने प्राविधिक श्रेष्ठले बताए।

गोरखा जिल्लाको १३ सय दुई मिटरको उचाइमा रहेको मनकामना मन्दिरमा पूजा गर्नका लागि पाँच घण्टा पैदल यात्रा गरेर जानुपर्ने बाध्यता थियो। चितवनको कुरिनटारबाट मन्दिर नजिकसम्म बनेको केवलकारले पाँच घण्टाको हिँडाइलाई १० मिनेटमा छोट्याएको छ।

तीर्थयात्री र पर्यटकका लागि सहयोगी बनेको मनकामना केवलकारको ‘स्टेसन’ त्रिशूली नदी किनारमा रहेको छ।

अस्ट्रियन प्रविधिमा आधारित रहेर निर्माण भएको केवलकारमा ३१ ओटा डब्बाहरू राखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.