|

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गरेको छ। उपत्यकामा बाइक चोरीका घटना, जथाभावि लेन मिच्ने, मापसेको घटना बढ्न थालेपछि प्रहरीले दिउँसो पनि कडा सवारी जाँच गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सवारी जाँच हुनु नियमित प्रक्रिया नै भएको बताए। प्रहरीले मंगलबारमात्र करिब २ हजार ५ सय २९ सवारीलाई कारबाही गरेको थियो।

ट्राफिक प्रहरीले आज गरेको विशेष जाँचका क्रममा २ सय ६३ जना चालक कारबाहीमा परेका छन्।

पानी बोक्ने सवारीसाधन ७१ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारीसाधन १ सय ८७ गरी जम्मा २ सय ६३ ओटा सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

तीमध्ये मदिरा सेवन गरी सवारी चलाउने ७ जना चालकसमेत कारबाहीमा परेका छन्। मापसे कारबाहीमा पर्नेमध्ये २ जना स्कुल बसचालक रहेका छन्। मापसे गरी पानी बोक्ने सवारीसाधन चलाउने चालक ३ जना र अन्य सवारीसाधनका २ जना चालकसमेत कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यकाको रत्नपार्क, स्वयम्भु, सोह्रखुट्टे, बौद्ध र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधनमा ट्राफिक प्रहरीले अनुगमन गर्दा सवारीसाधनमा छुट्याइएका आरक्षण सिटमा सम्बन्धित व्यक्तिहरू नराखेको पाइएकाले कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.