|

काठमाडौं : सरकारले नेपाली कामदारलाई शून्य लागतमा जापान पठाउने तयारी गरेको छ। भाषा र सीप परीक्षा उत्तिर्ण गरी बसेका झण्डै साढे ५ हजार युवालाई क्रमशः पठाउने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो। 

त्यसका लागि दुई देशबीच भएको समझदारीअनुसार गठित संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दैछ। विहान १० बजे बस्ने बैठकमा परीक्षा पास गरि बसेकालाई कसरी पठाउने, निजी तथा सरकारी क्षेत्रको भूमिका के हुने भन्ने विषयमा छलफल गरिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले  जानकारी दिए। 

छलफलमा सरकारका तर्फबाट मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सम्मिलित टोली सहभागी हुनेछ। जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने प्रवक्ता घिमिरेको भनाइ छ।

संयुक्त बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा वृहत छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका मन्त्रालयहरुमा सिफारिस गर्नेछ। सन् २०१९ मा स्पेसिफाइड स्किल वर्कर (एसएसडब्ल्यू) प्रणाली अन्तर्गत नेपालीलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी दुई देशबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो।  सोही समझदारी अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा नेपालीले रोजगारी पाउनेछन्। 

समझदारी अनुरुप सन् २०२० को संयुक्त कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार ८ सय ५० जना नेपालीले जापानमा केअरगिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेण्टहरुमा रोजगारी प्राप्त गरि लाभ लिइरहेको मन्त्रालयले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.