|

काठमाडौं : अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी नहुँदा टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचारमा आएका बिरामीलाई फिर्ता पठाउन थालेको छ।

पछिल्लो समय कोभिड १९ संक्रमण बढेसँगै अस्पतालमा दैनिक उपचारका लागि जाने कोभिड संक्रमित बढ्न थालेका छन्। तर, उपचारमा आवश्यक जनशक्ति नहुँदा अस्पतालले बिरामीलाई फिर्ता गर्न थालेको हो।

विगतमा कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरमा टेकु अस्पतालमा देशभरका अस्पतालबाट रिफर भएर पुग्ने बिरामी अब भने टेकुबाट अन्यन्त्र जानुपर्ने अवस्था आएको छ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार हाल उपचार गर्न आउने गम्भीर प्रकारका बिरामीलाई वीर अस्पताल रिफर गर्न थालिएको छ। ‘हाम्रोमा आइसियू भए पनि जनशक्ति नहुँदा हाल भर्ना गर्नुपर्ने खालका बिरामीलाई वीर अस्पताल रिफर गर्न थालिएको छ’, उनले भने।

अहिले दैनिक ६/७ जना कोभिड संक्रमित अस्पतालको इमर्जेन्सीमा उपचारको लागि जानेको गरेको र त्यसमा मध्यम खालका बिरामीलाई जनरल बेडमा भर्ना गरिए पनि जटिल प्रकारका बिरामीलाई स्वास्थ्यकर्मीकै अभावमा भर्ना गर्न नसकिएको उनले बताए।

‘संक्रमण बढ्दै गएपछि दैनिक ६/७ जना संक्रमित उपचारमा आउन थाल्नुभएको छ तर हामीले मध्यम खालका संक्रमितलाई मात्रै भर्ना गरेका  छाैँ’, उनले भने।

नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो। पहिलो र दोस्रो लहरमा टेकु अस्पतालले दिएकाे सेवा उदाहरणीय रहेको थियो।​

किन आयो त यस्तो अवस्था ?

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमण सुरु भएपछि चिकित्सक, नर्स, कार्यालय सहयोगी गरेर ७४ जना राख्न स्वीकृत गरेको थियो। तर, ६६ जना मात्रै कार्यरत थिए।

साउन १ गतेबाट करारमा राखिएका सबै कर्मचारीलाई हटाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय गरेको थियो।

हाल संक्रमित बढ्दै जाँदा कर्मचारी कटौतीको असर टेकु अस्पतालको सेवामा देखिएको हो। करारका कर्मचारी हटाउने निर्णयसँगै एकैपटक ६८ जना कर्मचारी कटौती भएका थिए।

साउन १ गतेबाट अस्पतालमा चिकित्सक ३ जना, रेडियोग्राफर २, ल्याव टेक्निसियन ५, हेल्थ असिस्टेन्ट ५, नर्सिङ अधिकृत १, स्टाफ नर्स १९, बायो मेडिकल टेक्निसियन १, सहचालक २, कार्यालय सहयोगी ३० जना र अन्य २ जना करारका कर्मचारीलाई कटौती गरेको थियो।

कोरोना महामारी अगाडि ६० शय्या रहेको टेकु अस्पताल हाल १ सय शय्यामा सञ्चालित छ भने ३ शय्या आइसियू रहेको अस्पतालमा २४ शय्या आइसियू सञ्चालन हुनुका साथै अस्पतालले पिसिआर परीक्षणसमेत गर्ने गरेको थियो।

तर स्वास्थ्यकर्मी नहुँदा हाल अस्पतालको आइसियू फुलफेजमा चल्न सकेको छैन।

‘एकातिर अस्पताललाई कोभिडको डेडिकेटेड अस्पताल तोक्नु अर्कातिर भएका कर्मचारी हटाउनु, मन्त्रालयको यो निर्णय सही थिएन, हाम्रो अस्पताल भनेको सरुवा रोगकै डेडिकेटेड अस्पताल हो संक्रमण बढिरहेको बेलामा थपिएको सेवाको लागि जनशक्ति थपिन्छ नि', अस्पतालका एक स्वास्थ्यकर्मीले भने।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने टेकु अस्पतालको सेवामा असर नगर्ने गरी थपिएको सेवाको लागि आवश्यक जनशक्ति थपिने बताएको छ। मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले आवश्यकताको आधारमा थपिएको सेवाको लागि जनशक्ति थपिने तयारी भएको बताएका हुन्।

‘पहिलेकै कर्मचारी त भन्न नसकिएला तर थपिएको सेवाको लागि आवश्यक जनशक्ति भने थपिने छन्’ उनले भने।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.