विश्लेषक भन्छन् : तत्काल मिल्ने सम्भावना देखिएको छैन

|

काठमाडौं : सरकारले निर्वाचनको मिति तोकेसँगै सबै राजनीतिक दलहरू चुनावी मोर्चामा होमिएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रणनीति बनाउन सबै दलहरू सक्रिय भएर लागेका छन्। 

सत्ता गठबन्धनसँग वैशाख भएको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेको प्रमुख प्रतिपक्षी दल पनि निर्वाचन विशेष रणनीति बनाउन केन्द्रित भएको छ। 

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गठबन्धनमै जानेबारे छलफल भइरहेको छ। 

स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनबाट धक्का खाएपछि एमालेका केही नेताहरूले ०७४ सालमा झैँ वामपन्थीहरूबीच तालमेल गर्नुपर्ने कुरालाई जोड दिएका छन्। 

तत्कालिन नेकपाको एकता भंग भइसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न निर्णायक भूमिका खेलेका माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसँगको तालमेलको सम्भावना क्लोज भइसकेको बताइसकेका छन्। 

‘एमालेसँग तालमेलको सम्भावना तत्कालका लागि अन्त्य भइसकेको छ। हामी कांग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ’ प्रचण्डको भनाइ थियो। 

हालै भारतीय जनता पार्टीको निमन्त्रणमा भारतको तीन दिने भ्रमण गरेर फर्किएका प्रचण्डले यही गठबन्धनलाई कायम राखेर सरकारको नेतृत्वको गर्ने योजना बनाइरहेका छन्। सरकारको नेतृत्व गर्नेबारे प्रचण्डले पटक पटक बताउँदै आइरहेका छन्। 

‘एमाले माओवादी मिल्नुको विकल्प छैन’

वामपन्थी एकताको विकल्प नभएको भन्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले फेरि एमाले र माओवादीलाई एक गराउन लागिपरेका छन्। 

शीर्ष तहमा छलफल नभएपनि गुरुङसहित महासचिव शंकर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, घनश्याम भुसाल, रघुजी पन्तलगायत नेताहरूले वामपन्थी एकताबारे पार्टी नेतृत्वलाई दबाब बढाइरहेका छन्। 

दोस्रो तहका नेताहरूको दबाबका कारणले एमाले अध्यक्ष केपी शर्मा ओली पनि पछिल्लो समय लचक भएका छन्। प्रचण्ड र माधव नेपालको नाम लिएपछि मुख कुल्ला गर्नेसम्मको अभिव्यक्ति दिएका ओलीको पछिल्लो पटक बोलि फेरिएको छ। 

गठबन्धन टुटाउने प्रयास असफल बन्दै गइसकेपछि उनले कांग्रेसको पछि लागेर वामपन्थी एकता नहुने बताइरहेका छन्। उनले कांग्रेससँगको सहकार्य प्रचण्ड–माधवले छाडे आफूले सोच्नेसम्मको उनको भनाइ छ। उनले प्रचण्ड–माधवलाई मात्रै नभएर छरिएर रहेका साना कम्युनिष्ट घटकलाई पनि एकै ठाउँमा आउन आह्वान गरिसकेका छन्। 

‘दुष्ट आशय बोकेकासँग हामी एकता गर्न सक्दैनौं। दुष्ट आशय नबोकेका साथीहरू ए बाबा! ठूलै भाँडामा पकाएको ढिँडो खाउनँ, फेरि साना–साना भाँडा किन बसाउनुपर्‍यो। म आव्हान गर्छु, आग्रह गर्छु साथीहरूलाई आउनुहोस् सँगै मिलेर काम गरौं’ ओलीको भनाइ थियो।  तर, वाम एकताको पहल गर्दै आइरहेका एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ माओवादी केन्द्रबाहेक सँगको कार्यगत एकता गर्नुको अर्थ भएको दाबी गर्छन्।
  
उनले भने, ‘वाम एकताको बिषयमा संस्थागत रुपमा कुनै निर्णय भएको छैन। कसैले एमालेबाहेकको वामपन्थी एकता गर्नुपर्छ भनेर लागेका पनि छन्। एमालेले वामपन्थी एकता भनेर माधव नेपाल र मसालसँग मात्रै एकता गरेर अर्थ हुँदैन।’

एमाले र माओवादीबीच नै कार्यगत एकता भए ०७४ सालझैँ दुई तिहाइ बहुमत ल्याउनसक्ने उनको बुझाइ छ। 

‘एमाले माओवादी एकता गर्न सक्यौँ भनेर सार्थक हुन्छ र फेरि पनि दुई तिहाइ बहुमत आउँछ। माओवादीसँग कार्यगत एकताको लागि छलफल भइरहेको छ। तत्काल पार्टी एकताको सम्भावना छैन’ उनले भने। 

माओवादी केन्द्रका दोस्रो तहको नेताहरूबीच कार्यगत एकताबारे छलफल भइरहेपनि शीर्ष तहमा नपुगेको स्वीकार गर्छन्। छलफल सकारात्मक दिशामा अघि बढिरहेकाले आगामी निर्वाचनअघि वामपन्थीहरूबीच कार्यगत एकता हुने उनको दाबी छ। 

‘वामपन्थी भनेर कांग्रेससँग गठबन्धन गरेर हुँदैन। वाम गठबन्धन गर्ने कुरामा चाहिँ मेरो हिजो पनि विचार थियो, आज पनि छ’ उनले भने, ‘वाम गठबन्धन आजको आवश्यकता हो। स्थानीय तहको नतिजाले पनि त्यो देखाइसकेको छ।’

माओवादी केन्द्रका दोस्रो तहका नेताहरूसँग संवाद भइरहेको बताएपनि कोको लागिपरेको भन्ने खुलाउन नमिल्ने उनको भनाइ छ। 

‘नेतृत्वले गल्ती स्वीकार्नुपर्छ’ 

असार ३२ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  एमाले ओलीलाई सार्वजनिक कार्यक्रमबाटै वाम गठबन्धनको प्रस्ताव राखे। 

तर, नेता श्रेष्ठपछि बोलेको ओलीले कांग्रेसको पुच्छर बनेर हिँडेकाहरू वामपन्थी नहुने भन्दै उनको प्रस्तावलाई अस्वीकार गरिदिएका थिए। ओलीले प्रस्ताव अस्वीकार गरेपछि वाम एकताको पहल गर्दै आएका नेता श्रेष्ठ रिसाएका थिए। तर, वामपन्थी एकता आजको आवश्यकता भएकाले नेतृत्व गम्भिर हुनुपर्ने माओवादी केन्द्रका नेता वर्षमान पुन बताउँछन्। ओलीले दुई पटक गरेको संसद विघटनलाई गल्ती स्विकार गरे पनि गठबन्धनको वातावरण बन्नसक्ने उनको बुझाइ छ। 

उनले भने, ‘मैले सुरुदेखि नै वाम एकताको पहल गछौँ आइरहेको छ। अहिले पनि एमालेका साथीहरूसँग छलफल भइरहेको छ। उहाँहरूले नेतृत्वलाई गल्ती स्वीकार्न राजी बनाएर अझै वाम गठबन्धनको सम्भावना नभएको होइन।’

उनले वाम एकताकै लागि समाजवादी केन्द्र निर्माणको पहल थालेको समेत बताए। ओलीले संविधानको ट्र्याक मोड्न खोजेकै कारणले त्यसको रक्षाको लागि गठबन्धन निर्माण गरेको उनको भनाइ छ। 

माओवादीमा पनि नारायणकाजीसहित वर्षमान पुन, शक्ति बस्नेतलगायत नेताहरूले एमालेसहितको वामपन्थी एकतामा जोड दिइरहेका छन्। 

‘मिल्ने सम्भावना छैन’

एमाले माओवादी केन्द्रका दोस्रो तहको नेताहरूले मिलाउन प्रयास गरिरहेको भएपनि तत्काल मिल्ने सम्भावना नरहेको राजनीतिक विश्लेषक हरि रोक्का दाबी गर्छन्। 

उनी भन्छन्, ‘विगतमा उहाँहरूले एक अर्काले जुन गम्भिर खालको आरोप–प्रत्यारोप गर्नुभएको थियो। त्यसको अहिलेसम्म छलफल बहस कतै भएको छैन। दोस्रो तहको नेताहरूको छलफललाई आधार मान्न सकिन्‍नँ।’

उनको भनाइ :

तत्काल एमाले र माओवादीबीच सम्भावना छैन। राजनीतिमा जतिसुकै छलछाम गरेपछि गम्भिर बिषयमा शीर्ष तहबाट छलफल गर्नुपर्ने हुन्छ। विगतमा उहाँहरूले एक अर्काले जुन गम्भिर खालको आरोप प्रत्यारोप गर्नुभएको थियो। त्यसको अहिलेसम्म छलफल बहस कतै भएको छैन। 

सैद्धान्तिक वैचारिक रुपबाट छलफल बाहिर नल्याइ र उहाँहरू त्यस बिषयमा कुराकानी नभइ एकता हुनसक्ने सम्भावना छैन। दोस्रो तहको प्रयास आफ्नो खालको हुन्छ। वामपन्थीहरूको एकता सामान्यतया सबै मान्छेहरूले खोज्छन्। 

जनताले भोट हाल्ने बेलामा पनि पहिला तपाईंहरू मिलेर आउनुभएको थियो दिएका थियौँ। तर, अहिले एक्ला एक्लै आउनुभयो हार्नुहुन्छ त्यसैले हामीले बेकारमा किन भोट दिने भन्ने कुरा आउनसक्छ। 

अब त्यो भन्नको लागि सबै दलहरू अफठ्यारो हुन्छ। के भन्न जाने पनि हुनसक्छ। प्रचण्डले एमालेबाहेकका एकता बनाउने सम्भावना पनि देखिँदैन। एमाले र कांग्रेसबीच प्रतिस्पर्धा गर्न सक्ने बन्न सक्दैन। यता पाँच दलीय गठबन्धनमा पनि मुख्य कुरा भागबण्डामै निर्भर हुन्छ।

उहाँहरूले जोगाएरै जानुपर्छ भनेर पहल गरिराख्नुभएको छ। स्थानीय तहको निर्वाचनमा पनि अभ्यास गरिसक्नुभएकाले माओवादीको एमालेसँग भन्दा यही गठबन्धन नै निरन्तर जान्छ जस्तो लाग्छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.