|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिकांश जिल्लाका कार्यालय प्रमुखहरु व्यक्तिगत काममा लागेका कारण कार्यालयमा काम नभएको जानकारी आएको बताएका छन्।

साउन २ गते नै नयाँ योजनाको अख्तियारी पठाइसकेकाले योजना कार्यान्वन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयले ताकेता गर्न निर्देशन दिए।

मुख्यमन्त्री शाहीले भने, ‘यसरी हाम्रो प्रदेशको काम कसरी हुन्छ ? अबको चार महिना भित्र परिणाम निकाल्ने गरी काम गर्न मैले तपाइँहरुलाई भनेको छु, किन मेरो कुरा सुन्नुहुन्न ? राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय र सहकार्यबाट नै प्रदेशको विकास हुने हो। काम गर्नेलाई थोरै समय भएपनि धेरै काम गर्छ तर काम नगर्नेलाई जति समय भएपनि केही नगर्ने हुँदोरहेछ।’

पैसा बुझाएर योजना पारेको भन्ने गुनासोसमेत आफूसँग आएको भन्दै मुख्यमन्त्री शाहीले यस्ता गलत कार्यतर्फ नलाग्न कर्मचारी र मन्त्रीहरुलाई समेत निर्देशन दिए।

कर्णाली प्रदेश सरकारको बार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कानूनभन्दा माथि कोही नभएकाले नहुने कामतर्फ नलाग्न समेत चेतावनी दिए।

सबैभन्दा बढी कर्मचारीले मन्त्री र सचिवको नाम बिक्री गरेर पैसा असुलेको सूचना मुख्यमन्त्री कार्यालयबाट आएको भन्दै यस्ता गलत धन्दातर्फ नलाग्न सचेतसमेत गराएका छन्।

संघबाट आएको भन्दै ठूला कुरा नगर्न कर्मचारीलाई सुझाव दिएका छन्। यहाँको विकृति रोक्नका लागि अहिलेको बजेट निर्माण गर्दा आफू पुरै खटिएकोसमेत उनले बताए।

मन्त्रालयहरुले बेरुजु रकम घटाउनसमेत उनले सुझाव दिएका छन्। कर्णालीका सबै जिल्ला हाम्रा हुन् भन्ने चेतनाको विकास गर्न उनले सबैलाई निर्देशन दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.