|

काठमाडौं : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना बिरामीको शल्यक्रिया गरी उनको पेटबाट ९ केजीको ट्युमर निकालिएको छ।

जटिल शल्यक्रिया सप्तरी जिल्लाका ५५ वर्षीय एकजना पुरुषको गत साउन ९ गते भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए। उनको पेटको पछिल्लो भागमा रहेको ९ केजीको ट्युमरको शल्यक्रिया जिआई सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा. कुणालविक्रम देवको नेतृत्वमा सफलतापूर्वक गरिएको हो।

ती बिरामी शल्यक्रियाका लागि गत असार ३१ गते प्रतिष्ठानमा भर्ना भएका थिए। शल्यक्रियामा ट्युमरका साथै मिर्गौलाबाट आएको पिसाबको नली पनि काटेर जोड्नु परेको तथा बायाँ भागको आन्तरिक इलियाक धमनी बाँध्नु परेको प्रतिष्ठानले जनाएको छ।

सामान्यतया रेट्रोपेरिटोनियल ट्युमर पेटको पछिल्लो भागमा रहेको शरीरको रगतको ठूला नशा जस्तैः एब्डोमिनल एओर्टा, इन्फिरियर भेनाकावा,  मिर्गौला र यसबाट आएको पिसाबको नली, ठूलो आन्द्रा, शरीरको तल्लो भाग सञ्चालन गर्ने स्नायुसँग गाँसिएको हुनाले उक्त सर्जरी जटिल मानिन्छ। 

सफल जटिल शल्यक्रियाका लागि मल्टिडिसिप्लेनरी टिम एप्रोच तरिकाबाट डा. कुणालविक्रम देवको नेतृत्वमा जिआई सर्जरी विभागबाट प्राडा. शैलेश अधिकारी, डा. सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, युरोलजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह संलग्न थिए। एनेस्थेसिया विभागबाट प्राडा. आशिष घिमिरेको नेतृत्वमा डा.अरुण मण्डल, डा. सुजन पुन रहेको र नर्सिङ टिममा गीता बिक, रेनुका चौधरी र शोभा राईको संलग्नता थियो।

जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि बिरामी निको भएर गत मंगलबार डिस्चार्ज भइसकेको प्रतिष्ठानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.