|

म्याग्दी : बेनी नगरपालिका–२ ज्यामरुककोटको इतिहास १५ औँ शताब्दीको विरासतसँग जोडिएको छ।

करिब ६०० वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, खड्गभवानी कोत पुरातात्त्विक र पर्यटकीय महत्त्वले समेत जिल्लाकै महत्त्वपूर्ण मानिन्छ।

वि.सं. १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा थापा वंशका राजाले खाईपाई आएको राज्य छोडेर मल्ल राजाका मन्त्री र सेना बनेको र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख छ।

४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप छन्।

समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको ज्यामरुककोटमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माण र यातायात तथा सञ्चारको विकासको उज्यालो छिरेपछि बल्ल जिल्लाकै महत्त्वपूर्ण ऐतिहासिक स्थलका रूपमा परिचित हुँदैछ।

पुरातात्त्विक र ऐतिहासिक महत्त्वको ज्यामरुककोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौँ ग्रामीण बस्ती देखिन्छ।

१५ औँ शताब्दीमा थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले गण्डकी प्रदेश, बेनी नगरपालिका, वडा कार्यालय र स्थानीले पूर्वाधार निर्माणमा तिव्रता दिएका छन्।

मल्लकालीन विरासत बोकेको ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको खड्गभवानी कोत परिसरका ऐतिहासिक सम्पदा विकाससँग जोडिन थालेका छन्। बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७६\७७ मा २१ लाख रुपैयाँ लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो।

यसैगरी गत आर्थिक वर्ष २०७७\७८ मा नगरपालिकाको पर्यटनतर्फबाट पाँच लाख र वडा कार्यालयको दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको बेनी नगरपालिका– २ का  अध्यक्ष यामबहादुर कार्कीले बताए।

त्यसैगरी २०७८\७९ मा बेनी नगरपालिका र गण्डकीप्रदेश सरकारको करिब आठ लाख रुपैयाँ लगानीमा प्रवेशद्वारसहित पक्की सिँढी निर्माण गरेपछि ऐतिहासिक स्थल खड्गभवानी कोत चिटिक्क देखिएको उनको भनाइ छ।

यस्तै चालु आर्थिक वर्षमा खड्ग भवानी कोतको विकास र पूर्वाधार निर्माणका लागि नगरपालिका र गण्डकी प्रदेशबाट गरी आठ लाख बजेट प्राप्त भएको र कन्थराजथानदेखि कोत परिसर जोड्ने बाँकी पदमार्ग निर्माण गरिनुका साथै फूलपातीदेखि कोत प्रवेशद्वारसम्म पक्की सिँढी निर्माण गर्ने योजना रहेको वडाध्यक्ष कार्कीले बताए।

वडाअध्यक्ष कार्कीका अनुसार जिल्लाकै महत्त्वपूर्ण ऐतिहासिक स्थल खड्गभवानी कोत परिसर केवल ऐतिहासिक स्थल मात्रै नभएर प्रशस्तै पर्यटकीय सम्भावना रहेको सदरमुकाम बेनी बजारदेखि नजिकैकै महत्त्वपूर्ण ठाउँ पनि हो। यो ठाउँको प्रचारप्रसार गर्नुका साथै थप आवश्यक पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सक्ने हो भने यहाँ प्रशस्तै पर्यटक आउने अध्यक्ष कार्कीले बताए।

यो स्थानको विकास र पर्यटन विस्तारका लागि भूतपूर्व वडाध्यक्ष हिराबहादुर थापा र वर्तमान अध्यक्ष कार्कीको धारणा समान रहेको छ। ‘भौतिक पूर्वाधार निर्माणसँगै अध्यारोमा रहेको ज्यामरुककोट विस्तारै उज्यालिदै छ’, उनले भने, ‘अब खड्गभवानी कोतको आधुनिक शैलीमा पुनर्निर्माण गरी प्राचीन सम्पदालाई सुरक्षित राख्न सके जिल्लाकै उत्कृष्ट स्थल बन्न सक्छ।

पूर्व अध्यक्ष थापाका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियार समेत छन्। अध्यक्ष कार्कीका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्त्वको संगमस्थल बनाउने प्रयास गरिएको छ।

पूर्वाधार र प्रचारप्रसार अभावमा ओझेलमा रहेको ऐतिहासिक स्थलमा पछिल्लो समय वडा कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको अध्यक्ष घिमिरेले बताए। वडाध्यक्ष कार्कीले खड्गभवानी कोतलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको दाबी गरे।

गुरुयोजनासहित धार्मिक पर्यटकीयस्थलको पूर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयवाासीको सक्रियता देखाउन सके ग्रामीण भेगमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनले स्थानीयलाई होमस्टे सञ्चालनमा टेवासँगै रोजगारी सिर्जना हुने प्रशस्त सम्भावना रहेको स्थानीय समाजसेवी टीकाबहादुर कार्कीले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.