|
एन्फा ब्वाइजमा प्रतिनिधित्व गरेको इलामका लोकबन्धु गुरुङ (नीलो रङको ज्याकेट) र सुवास राई (खैरो कोट) लगाएका ।

इलाम : ०५४ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले ‘ग्रासरुट’ फुटबल विकासको नयाँ मोडल अघि सारे।

त्यो थियो, जुनियर फुटबल एकेडेमी। २०५१ चैतमा तत्कालीन राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशव स्थापितले रुक्मशमशेर राणालाई हटाएर एन्फामा थापालाई ल्याएका थिए।

विवादित आगमनका कारण थापा आफूलाई फरक प्रमाणित गर्ने उपायको खोजीमा थिए। उनी नेतृत्वको एन्फाको रोजाई युथ एकाडेमी बन्यो। अध्यक्ष गणेश थापाको त्यो ‘ड्रिम प्रोजेक्ट’ थियो।

त्यो एकेडेमी साँच्चै एसियाकै लागि नमुना थियो। देशभरका १२ हजार १२ वर्ष मुनिका खेलाडी माझबाट ४० जना छानियो। र नाम दिइयो ‘एन्फा ब्बाइज’। 

राष्ट्रिय टोलीका पूर्व कप्तान राजुकाजी शाक्य, उमेश प्रधान, किशोर केसी र सुनील श्रेष्ठले पूरा देश घुमेर खेलाडी छनोट गरेका थिए। पूर्वी पहाडको इलामबाट लोकबन्धु गुरुङ र सुवास राईले ‘एन्फा ब्बाइज’ को हिस्सा हुने अवसर पाए।  सदमुकामका सुवासले सिनियरहरुसँग पनि खेलेर फुटबल अनुभव बटुलेका थिए।

तर इलामको विकट गाउँ माबुबाट इलाम बजार पढ्न आएका लोकबन्धुलाई फुटबल भनेको गाउँघरमा झुम्रो मोरेर बनाइएको डल्लो मात्र थियो। त्यसलाई गोलपोष्टमा छिराउनु जित बुझेका थिए उनले। उनलाई न त ‘पोजिसन’को बारेमा नै राम्रो थाहा थियो न त फुटबल ‘स्किल’। छनोटमा होमिए अनि एकाडेमीको पहिलो ब्याचको खेलाडी हुने सौभाग्य पनि पाए। 

छनोटमा सहभागिताको त्यो रोचक कथा

सुरुवाती छनौटको कथा पनि कम चाखलाग्दो छैन, लोकबन्धुको। माबुबाट ५ कक्षा पास गरेपछि बाबु आमाले लोकबन्धुलाई पढ्न इलाम बजार ल्याए। अनि ज्योति सदनमा ६ कक्षामा भर्ना भए। अंग्रेजी मोहका कारण बाबु डोलबहादुर र छलिमायाले उनलाई सोही वर्ष प्रज्ञा सदनमा भर्ना गरिदिए कक्षा ३ मा। अर्को साल लोकबन्धु पुनः ज्योति सदन फर्किए कक्षा ७ पढ्नका लागि।

२०५३ मा एन्फाको एकाडेमीका लागि खेलाडी छनोट हुने जानकारी पाएपछि लोकबन्धुमा पनि त्यहाँ जाने इच्छा जाग्यो। बिहीबार र शुक्रबार छनोट हुने तय भएको थियो। ज्योति सदनका प्रिन्सिपलले अरुलाई छनोटमा जान विदा दिए, तर लोकबन्धुले पाएनन्। विद्यालयमा अरुले फुटबल खेलेको शिक्षकले देखेका थिए। तर लजालु स्वभावका लोकबन्धुको कलाको बारेमा उनीहरु अनभिज्ञ नै थिए।

‘अन्य विद्यार्थी प्रिसिन्सपललाई विदा मागेर गए। ‘मैले खेलेको नदेख्नुभएकाले होला मलाई विदा नै दिनुभएन’, २५ वर्षअघिको त्यो घटना अझै लोकबन्धुको मानसपटलमा ताजै छ, ‘शुक्रबार बिहान कक्षा हुने भएकाले स्कुल सकेर घरको छतबाट हेरेको त अझै छनोट चलिरहेको रहेछ हतारहतार ‘कन्र्भस सुज’ खोजेर लाइनको अन्तिममा गएर बसेँ।’ 

छनोटकर्ताले अग्लो देखेर उनलाई डिफेन्समा राखिदिए। गाउँमा प्लाष्टिक भेला पारेर डोरीले मोरेर बनाएको गोल खेलेका लोकबन्धुलाई बुटसहित फुटबल छुँदा बेग्लै अनुभव भएको रहेछ। ‘गाउँमा झुम्रो मोरेर खेलेको हो। कहिले काही गाउँका दाजु काकाहरूले हानेको बल टिपेर ल्याउँदा नै हो फुटबल हान्न पाउने। थोरै डर र धेरै उत्साह थियो’, उनी सम्झिन्छन्, ‘सुवास त सिनियर दाइहरूसँग खेल्थ्यो। हामीचाहिँ मैदान बाहिर हेर्ने गर्थ्यौँ। 

तैपनि इलामबाट १५÷१६ जनामा छनोट भयौँ, दुवै जना।’ खेलमैदानमा डटेर खेल्ने बानीले नै उनी छनोटकर्ताको नजरमा पर्न सफल भए थिए। त्यसपछि उनलाई फुटबलको ‘बेसिक स्किल’को बारेमा दर्शन भक्तराज, मंगेश बस्नेत लगायतले सिकाए। 

अनि सुरु भयो लोकबन्धुको एन्फा यात्रा  

काठमाडौंमा देशभरका सयौँ को संख्या माझबाट अन्तिम ४० मा छानिए लोकबन्धु। भर्खर एकेडेमी छिर्दा धेरै खेलाडी १२ वर्षको हाराहारीका थिए। परिवारसँगको बिछोड सहन नसकेर होस्टलमै अरु खेलाडीजस्तै लोकबन्धु पनि एक्लै रुन्थे। सबै फरकफरक परिवेशबाट आएकाले सुरुमा घुलमिल हुन केही कठिन थियो। समयक्रमसँगै खेलाडीमा आत्मीयता जाग्यो। ‘राम्रो प्रशिक्षण, राम्रो खाना र नियमित स्वास्थ्य परीक्षण पनि हुन्थ्यो’, लोकबन्धुले सम्झिए। 

किशोर खेलाडीले होस्टलमै बसेर पढ्ने, खाने र स्कुल जाने, अनि खालि फुटबल खेल्ने वास्तवमै गज्जब थियो। अध्यक्ष थापा यसको प्रशंसा गर्दै समय बिताउने गर्थे। एन्फाको सुरुआती प्रशिक्षक थिए, उज्वेकिस्तानका रुस्टम अक्रमक। छोटो समयमा लोकबन्धुले टिमभित्र क्लासिक डिफेन्डरको छवि बनाए। सेन्ट्रल डिफेन्स र राइट ब्याकमा उनी माहिर मानिन्थे। आफ्नो व्यवसायिक करियर लोकबन्धुले यही पोजिसनमा बिताए। 

एकेडेमीका साथीसँग उनले करिब आठ वर्ष सँगै बिताए। सुरुमा ग्यालेक्सी स्कुलमा पढे । पछि एलिट्स को–एडमा सारियो। नोबल एकेडेमीबाट प्लस टु गरे। नेतृत्वका लागि गणेश थापा र गीता राणाबीचको हानाथापले फुट आउँदा सबै खेलाडी दशैँ विदामा घर गएका थिए। विदा सकेर इलामबाट फर्किँदै गरेका आफू र अन्य खेलाडीलाई गणेश थापाले थानकोटबाटै सिधै सुन्धाराको होटलमा लगेर राखेको लोकबन्धुले अझै बिर्सिएका छैनन्। ‘फुटबलसम्बन्धी विवाद के थियो थाहा भएन। तर दशैँ सकेर काठमाडौं पस्न नपाउँदै गणेश सरले होटलमा राख्नुभयो’, उनले भने’, त्यतिवेलासम्म लोकबन्धुलाई फुटबल विवादको बारेमा जानकारी थिएन। 

राष्ट्रिय टोलीमा लोकबन्धु

सन् १९९९ मा लोकबन्धु सम्मिलित एन्फा एकेडेमीले पहिलोपल्ट भारतमा गएर सुबर्तो मुखर्जी कप खेल्यो। त्यसको एक वर्षमा उपाधिसमेत चुम्यो। सन् २००३ मा यही टिमले यू–१९ एसियाली छनोटमा गज्जब खेल्यो। प्रतियोगिता बंगलादेशमा भएको थियो । छनोटमा पाकिस्तान पनि थियो र नेपाल अर्को चरण पनि पुग्यो । सन् २००४ मा मलेसियामा भएको प्रतियोगिताको समूह चरणको तीनवटै खेलमा लोकबन्धु नेपाली टोलीको डिफेन्स लाइनमा थिए।

सिनियर टोलीमा डेब्यू 

२००५ को डिसेम्बरमा पाकिस्तानको कराँचीमा भएको पाँचौँ साफ च्याम्पियनसिपमा लोकबन्धुसहित एकैपटक आठ खेलाडीले डेब्यूको मौका पाएका थिए। यसै प्रतियोगिताबाट राष्ट्रिय टिममा एन्फा एकेडेमीका खेलाडीको प्रवेश भयो । र, यही प्रतियोगिताबाट नेपाली फुटबलमा स्पष्ट देखिने गरेर पहिलोपल्ट पुस्ता पनि फेरियो ।

भारतविरुद्धको पहिलो खेलमा लोकबन्धुसहित सात खेलाडीले डेब्यूको अवसर पाएका थिए। त्यसमध्ये लोकबन्धुसँगै एन्फा एकेडेमीका चार खेलाडीले पहिलोपल्ट खेल्ने अवसर पाए। श्याम थापाको प्रशिक्षणमा समेत लोकबन्धुले पहिलो रोजाईमा खेले। एसियाकप छनोटमा खराब प्रदर्शनमा कारण २ वर्ष ठप्प रहेको नेपाली फुटबल पुनः जागृत बनेको खेलमा लोकबन्धुले डेब्यूको मौका पाएका थिए। दुर्भाग्य खेल नेपालले २–१ ले गुमाउन पुग्यो।  त्यसपछि उनले सन् २००८ सम्म नेपाली राष्ट्रिय टिमबाट खेले।

लोकबन्धुले ती तीन वर्षमा भारत अतिरिक्त, बंगलादेश, भुटान, ब्रुनाई, श्रीलंका, ओमन, मकाउ र कम्वोडियाविरुद्ध मैदानमा बिताए। 

थ्रीस्टारमा बितेको व्यावसायिक करियर

थापा र राणाको विवादका कारण २०५७ पछि लिग रोकिएको थियो। ०६० मा फेरिसुरु भयो। त्यतिवेला १० खेलाडी फ्रेन्ड्स क्लबलाई र १० खेलाडी ब्वाइज स्पोर्टस्लाई  दिइयो। लोकबन्धु फ्रेन्डस्को भागमा परे। ०६० लिग फ्रेन्डसमा क्लबमा बिताएपछि लिग च्याम्पियन थ्रीस्टारले उनलाई अनुबन्ध गर्‍यो। घरेलु लिगको सशक्त मानिएको क्लब प्रवेश लोकबन्धुको लागि सुखद संकेत थियो। क्लबले ६ वर्षपछि सहिद स्माकर लिग जित्न सफल रहयो। अझ अर्को सुखद संयोग त लोकबन्धु लिगको उत्कृष्ट डिफेन्डर चुनिँदै बाइक प्राप्त गर्न सफल रहे।

एएफसीले पहिलो पटक एसियाका उदियमान राष्ट्रका लिग च्याम्पियनलाई सहभागी गराएर एएफसी प्रेसिडेन्ट कप आयोजना गरेपछि लिग च्याम्पियनको हैसियतले लोकबन्धुले थ्रीस्टारबाट सन् २००५ को संस्करणमा पहिलो रोजाइमा रहेर खेल्न पाए। दुर्भाग्य सेमिफाइनलमा किर्गिज च्याम्पियन डोरोडो डाइनोमोसँग थ्रीस्टार टाइब्रेकरमा पराजित बनेको थियो। त्यसपछि लोकबन्धुले जति समय लिग खेले सबै थ्रीस्टारका लागि नै खेले। बीचमा केही समय उनी बंगलादेशको अब्हानी लिमिटेडमा खेल्न समेत गएका थिए। तर एक महिना नबित्दै स्वदेश फर्किए।

अनि फुटबलबाट पलायन

खेल मैदानकै कुरा गर्ने हो भने लोकबन्धु नेपाली फुटबलमा २०६६ सालसम्म देखिए। २०६७ साल ताका दशरथ रंगशालामा नकाउट फुटबल प्रतियोगिता चलिरहेको थियो। प्रतियोगिताका लागि भनेर थ्रीस्टारले लोकबन्धुको नाम समेत दर्ता गराएको थियो। तर लोकबन्धु मैदानमा थिएनन्। क्लब समेत उनकै खोजीमा थियो। तर लोकबन्धु फुटबल छाडेर जाने अन्तिम चरणमा थिए। 

श्रीमतीसँगै इंग्ल्यान्ड जानका लागि कागजी प्रक्रिया पूरा गर्न लोकबन्धु गृहजिल्लामा थिए। त्यसयता उनलाई नेपाली फुटबल र दशरथ रंगशाला बिरानो बनेको छ। नेपाली फुटबलका क्लासिक डिफेन्डर अहिले लण्डनको व्यस्त जीवनमा आफूलाई स्थापित बनाउन लागिपरेका छन्। 

अहिले लोकबन्धुलाई केमडेन टाउन लण्डनको सुसी जापनिज रेस्टुरेण्टमा देख्न सकिन्छ।  दिनको आठदेखि १० घण्टा उनी यहीँ बिताउँछन्। ‘लिग समेत नियमित हुन् सकेन। फुटबल खेलेर जिन्दगी नचल्ने भएपछि केही विकल्प खोज्नै पर्ने थियो। मैले बेलायत रोजेँ,’ उनले भने, ‘नेपाली फुटबलमा प्रोफेसनालिज्म नै छैन। २÷४ महिना लिग हुन्छ त्यसपछि खेलाडी बेरोजगार हुन्छन्। अहिलेसम्म खेलेर बाँच्ने वातावरण बनाउने बारेमा कसैले पनि सोच्नै सकेको छैन।’ 

क्लासिक डिफेन्डर बेलायत पलायन भएको एक दशक नाघ्यो। फुटबललाई माया मार्न नसकेपछि त्यहाँ सन्डे लिग खेल्न थाले। तर खुट्टा भाँचिएपछि झण्डै डेढ वर्ष घरमै थन्किनुपर्यो। खुट्टा अझैसम्म पूर्णरूपमा ठिक नभएको लोकबन्धु सुनाउँछन्। ‘उच्च फर्ममा रहँदा छाड्नु पर्दा दुःख लागेको छ। नेपाली फुटबल छाडेर अर्काको देशमा आउन मन कहाँ थियो र! सन्तानको भविष्य र परिवारको जिम्मेवारी काँधमा आएपछि पलायन हुनुको विकल्प पनि त रहेन्,’ लोकबन्धु भन्छन्।

परिवारको जिम्मेवारी वहन गर्दा गर्दै लोकबन्धु यति धेरै व्यस्त भए। उनलाई आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल समेत याद छैन। राष्ट्रिय टोलीबाट अन्तिम खेल कुन हो भनेर सोध्यो भने २\४ वटा देशको सम्भावित नाम लिन्छन्। ‘खै अन्तिम पटक कुन टिमविरुद्ध खेलियो याद नै छैन’, उनी भन्छन्, ‘त्यसवेला खेल्नमै लागियो। रेकर्ड राखिएन्।’ 

राष्ट्रिय टोलीबाट १३ क्याम्प जितेका उनको अन्तिम खेल एएफसी च्यालेन्ज कप छनोट २००८ उत्तर कोरियाविरुद्ध थियो। १–० ले पराजित त्यो खेलमा उनले पुरै समय मैदानमा बिताए। सोही प्रतियोगिताको अन्तिम खेलमा चन्द्रसूर्य अंकित झण्डामा म्यानमारविरुद्ध बेञ्चमा देखिएका लोकबन्धु त्यसपछि एकाएक नेपाली फुटबलको पूर्वराष्ट्रिय खेलाडी बन्न पुगे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.