|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाले हालै खरिद गरेका २० लाख वटा एन्टीरेबिज सिरिन्ज प्रयोग गर्नै नमिल्ने खालको रहेको पुष्टि भएको छ। ७७ लाख मूल्य बराबरमा खरिद गरिएको उक्त सिरिन्ज प्रयोग गर्न नमिल्ने खालको छ।

एन्टीरेबिजको खोप लगाउन २७ गेज (सानो निडल) भएको सिरिन्ज आवश्यक पर्ने भए पनि हाल खरिद गरिएको सिरिन्ज २२ गेज (ठूलो निडल) भएको सिरिन्ज भएकाले प्रयोग गर्न नमिल्ने खालको रहेको बताइएको छ।

देशमा सबैभन्दा बढी एन्टीरेबिज सिरिन्ज प्रयोग हुने टेकु अस्पतालका एक कर्मचारीका अनुसार हाल विभागले जुन सिरिन्ज खरिद गरेको छ त्यो प्रयोग गर्न नमिल्ने खालको रहेको बताए। ‘विभागले सिरिन्ज नदिएपछि हाल हामीले आफैले सिरिन्ज खरिद गरेर लगाइरहेका छौँ तर विभागले जुन सिरिन्ज खरिद गरेको भन्ने छ‚ त्यो हाम्रोमा आइपुगेको छैन तर जानकारी आएअनुसार त्यो प्रयोग गर्न मिल्दैन’‚ टेकु अस्पतालका एक स्वास्थ्यकर्मीले भने।

कुकुरको टोकाइपछि एन्टीरेबिज खोप लगाउनुपर्ने हुन्छ। कुकुरले टोकेपछि खोप लगाउन भन्दै टेकु अस्पतालमा दैनिक ८/९ जनाभन्दा बढी मानिस पुग्ने गर्छन्। टेकु अस्पतालले १ लाख सिरिन्ज आफै खरिद गरेर र अहिले सोही सिरिन्ज प्रयोग गरिरहेको छ।

अस्पतालका अनुसार गत वर्ष टेकुमा छालामा लगाउने १ लाख १ हजार १९६ जनालाई रेबिजविरुद्धको सिरिन्ज लगाइएको छ। आइएम अर्थात् मासुमा १ हजार ७३३ जनाले लगाएका छन् तर विभागले खरिद गरेको सिरिन्ज मासु र छाला कहीँ पनि लगाउन नमिल्ने खालको रहेको विभागकै स्वास्थ्यकर्मीहरू बताउँछन्।

हाल खरिद गरिएका २० लाख वटा सिरिन्ज ३ वर्षसम्म म्याद भएको भए पनि लगाउन नमिल्दा समस्या आएको हो।

एन्टीरेबिज सिरिन्ज सबैभन्दा धेरै टेकु अस्पतालमा हुने गर्छ। वर्षमा १ लाख टेकुमा खपत हुँदा देशभरका अन्य स्वास्थ्य संस्थामा  ३० देखि ४० हजारसम्म मात्रै सिरिन्ज खपत हुन्छ।  

प्रयोग गर्न नमिल्ने सिरिन्ज भएको भनेर स्वास्थ्यकर्मीले भनेपछि सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाले यही विषयमा छलफल समेत बोलाएको छ।

आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार प्रयोग गर्न नमिल्ने सिरिन्ज रहेको स्वास्थ्यकर्मीले भनेपछि आफूहरूले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई छलफलमा बोलाएको समेत बताए। ‘हामीलाई इडिसिडीलेको सिफारिस अनुसारको सिरिन्ज खरिद गरे पनि हाल लगाउन नमिल्ने खालको भनेर कुरा आएपछि हामीले इडिसिडीलाई छलफलमा बोलाएका छौँ’‚ डा. चौरसियाले भने।

नेपालमा हाल रेबिज रोगबाट वर्षेनि १५ देखि २० जनाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.