|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकका लागि जोखिमपूर्ण गन्तव्य बनेको छ।

पर्यटकले सावधानी नअपनाउँदा र स्थानीय प्रशासनले ध्यान नदिँदा चन्द्रपुर नगरपालिका-१ मा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर जोखिमपूर्ण बनेको हो। यहाँ वर्षेनी ६/७ जना पर्यटकको ज्यान गइरहेको स्थानीयहरुको भनाइ छ।

पर्यटक सचेत नभइदिँदा र स्थानीय प्रशासनले दुर्घटनाबाट बच्नका लागि आवश्यक कदम नचाल्दा दुःखद् घटनाका समाचार धेरै बन्ने गरेको स्थानीयको गुनासो छ। गत असार ३१ गते शुक्रबार र असार १८ गते गरी नुहाउन नदीमा पसेका ३ जना पर्यटकको ज्यान गयो।

गर्मीको समयमा मेला लाग्ने र वनभोज लगायतको गन्तव्य बन्ने गरे पनि नदीको गहिराइ र जोखिमको ख्याल नगरी पौडी खेल्न पस्दा पर्यटकको ज्यान जाने गरेको स्थानीयको भनाइ छ। नुनथर मधेश प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्छ।

धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकोले गाईवस्तु यस क्षेत्रमा चर्न जाँदा बागमतीको पानी पिइसकेपछि त्यहाँको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुनथर रहन गएको किंवदन्ती छ। नुनथरमा वर्षको बाह्रै महिना आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गरेको पाइन्छ।

रौतहट, मकवानपुर, सर्लाही र सिन्धुली गरी ४ वटा जिल्लासँग सिमाना जोडिएको प्राकृतिक छटाले भरिपूर्ण यस क्षेत्रमा नेपाल मात्र नभएर भारतका विभिन्न स्थानबाट पर्यटक घुम्न तथा पिकनिक खान आउने गर्छन्। नुनथर क्षेत्रमा साउनभर विभिन्न नेपाल तथा भारतका विभिन्न स्थानबाट बोलबम यात्रामा आउने हिन्दु भक्तजनको घुँइचोसमेत लाग्ने गर्छ।

सो स्थानमा बागमती नदी स्थिर देखिए पनि गहिरो र भुमरीयुक्त भएकाले अचानक डुब्ने गरेको स्थानीय सुरेन्द्र सापकोटाले बताए। उनले यसरी वर्षेनी सरदर ५/६ जना नुनथर घुम्न आउनेहरू बागमतीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुने गरेको बताए।

यसरी तीर्थयात्रा र पर्यटन गर्न आएकाहरू बागमतीमा पौडी खेल्न, नुहाउन जाने गरेकाले नदीमा डुबेर बेपत्ता हुने जोखिम उच्च रहेको स्थानीय लक्ष्मण न्यौपानेले बताए। उनले नुनथर क्षेत्र विकास समितिमातहत रहेको सो नुनथर क्षेत्रका मानिसलाई डुब्नबाट जोगाउन समितिले विशेष पहल गर्नुपर्ने बताए।

धेरै मानिस डुबेर बेपत्ता तथा मृत्यु भएपछि नदी किनारको ठूलो ढुङ्गामा ‘खतरा’ लेखिए पनि पर्यटकले त्यसको बेवास्ता गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।

उनले सो संकेतलाई बेवास्ता गर्दै नदीमा पर्यटक पौडी खेल्न जाने गरेकाले धेरै दुर्घटना निम्तिएको बताए। उनले स्थानीय प्रशासनले पनि बारम्बार बागमतीमा पौडी नखेल्न अनुरोध गरे पनि त्यसलाई तीर्थयात्री र पर्यटकले नै बेवास्ता गर्ने गरेको देखिएको बताए।

पर्यटक रमाइलोका लागि नुनथर घुम्न आउँछन्। तर पौडी खेल्ने क्रममा बागमतीमा हुने दुःखद् घटनाले सबैको मन खल्लो बनाइदिने गरेको छ। नदीमा पौडी खेल्न जानुअघि पर्यटक पनि सचेत हुनुपर्ने स्थानीय प्रशासनको भनाइ छ।

यसरी वर्षेनी बागमतीमा डुबेर मानिसको मृत्यु हुने क्रम रोक्न नुनथर विकास समिति, चन्द्रपुर नगरपालिका र स्थानीय प्रशासनले विशेष कदम चाल्न अत्यावश्यक भएको स्थानीयको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.