खुश्बुनको बिलौना : 'अब न्याय नपाए मर्नुको विकल्प छैन'

|

काठमाडौं : विसं. २०७० सालमा  नवलपरासीका सफरल्लाह मियाँले छोरीको बिहेका लागि जगदीश बानियाँसँग ६ लाख रुपैयाँ ऋण काढे। ऋण लिएर छोरीको धुमधाम बिहे गरे।

कामका लागि विदेश गएर फर्किएका उनको विदेशमा पनि खास कमाइ हुन सकेन। आफ्नो नाममा भएको घरसहित १८ कठ्ठा जमिन साहुलाई बुझाएर उनले ऋण लिएका थिए।

साहु निस्किए ‘गरिब चुसाहा’। जो गरिबको पसिना चुस्न माहिर थिए। उसैको फन्दामा परे मियाँ। ती साहुलाई ऋण तिर्न मियाँ आफूले खुबै पसिना बगाए। ऋण लिएको ६ लाख तर ८ वर्षसम्म पटक पटक गरी उनले साहुलाई २२ लाख रुपैयाँ तिरे। 

त्यसपश्चात एक दिन उनले साहुसँग भने, 'मैले २२ लाख रुपैयाँ तिरिसकेँ।अब मेरो घरजग्गा फिर्ता दिनुस्।'

घरजग्गा फिर्ता पाउने आशामा रहेका मियाँलाई साहुले उल्टै थपे, 'तिमीले लिएको २९ लाख रूपैयाँ  कहिले तिर्ने हो?' मियाँ छाँगाबाट खसेजस्तै भए। साहुले भने जस्तै उनले २९ लाख लिएका थिएनन्। तर, साहुले एउटै मितिमा फरक-फरक बनाइएका ४ वटा कागज देखाए।

२०४६ साल वैशाख १९ गतेको मिति बनाएर फरक-फरक चार वटा कागज बनाइएको छ। जसमा  ८ लाख, १४ लाख, ३ लाख र ४ लाख रुपैयाँ लिएको कागज बनाइएको छ। आश्चर्यजनक कुरा त के छ भने एकैदिनमा बनाइएका ती कागजमा फरक-फरक तरिकाले पैसा लिएको देखाइएको छ। 

यो देखेपछि मियाँलाई अचानक हृदयाघात भयो। त्यसपछि उनी अस्पताल भर्ना भए।

उनलाई प्रतापपुर अस्पतालबाट बुटवल रेफर गरिएको थियो। बुटवलमा आईसीयुमा उपचार गरिरहेकै बेला उनको मृत्यु भएको उनकी श्रीमती खुश्बुन नेशाले बताइन्।

गत वैशाखमा श्रीमानको मृत्यु भएपछि साहुले ताला चाबी लिएर घर आएको र ‘निस्केर जा’ भन्न थालेपछि न्याय खोज्न काठमाडौं आइपुगेकी छिन् उनी।  'श्रीमानले छोडेर जानुभयो, घरमा समस्या उस्तै छ', उनले बिरक्तिएको आवाज निकालिन्।

तीन महिनाअघि श्रीमान बितेको पीडा छँदैछ। अहिले खुश्बुन आफ्नो परिवारमाथि परेको अन्यायलाई सरकारले न्याय दिने आशामा माइतीघर मण्डलामा चार दिनदेखि आन्दोलनरत छिन्।

'घर जग्गा साहुको कब्जामा छ। जबसम्म न्याय पाउँदिन तबसम्म घर जान सक्ने अवस्था छैन', शुक्रबार माइतीघरमा भेटिएकी उनले भनिन्', मिटर ब्याजका कारण श्रीमानको ज्यान गयो, १८ कठ्ठा जग्गा साहुको कब्जामा छ।'

खुश्बुन भन्छिन्, 'अब सरकारको आशामा आएका हौं। यहाँ आएर न्याय पाइएन भने मर्नुको विकल्प छैन।' आफूले लिएको ऋण ब्याजको पनि स्याज तिरिसक्दा साहुले मानसिक तनाव दिन नछोडेको उनले सुनाइन्।  'अब साहुले हामीबाट बढी असुलेको पैसा फिर्ता दिएर घरबारी फुकुवा गर्नुपर्छ', उनले सुनाइन्, 'साहुको अत्याचार अति भयो।'

उनी मात्र हैन यतिखेर काठमाडौंको माइतीघरमा नवलपरासीका मिटरब्याजी किसान–मजदुरहरू न्यायको आशामा धर्ना दिइरहेका छन्। करिब ८५ परिवार आफ्नो गरिबी र निरक्षरताको फाइदा उठाएर साहुले गरेको बेइमानीमाथि आक्रोश पोखिरहेका छन्।  

उनीहरूलाई आफ्नो घर खेत साहुको पन्जाबाट निकाल्न सरकारसँग बिन्ती गरिरहेका छन्।

यस्ता छन् उनीहरूका माग  :

देशैभरका मिटर ब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको उद्धारका लागि सरकारद्वारा अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने।

पीडित किसानको जमिनको दृष्टिबन्धक खोली अनाधिकृत तमसुक च्यात्नुपर्ने।

दृष्टिबन्धक भन्दै झुक्याएर नामसारी (छिनुवा पास) गरिएका जग्गा फिर्ता गर्नुपर्ने।

कानुन विपरीत अनुचित ब्याज लिनेको ऋण तिर्न नपर्ने घोषणा राज्यले गर्नुपर्ने।

सम्पूर्ण सुद्खोर परिवारको सिआइबीद्वारा सम्पत्ति जाँच गर्नुपर्ने।

मिटर ब्याजी साहुको निरन्तरको मानसिक प्रताडनाको कारण मृत्यु भएका किसानहरूको छानविन गरि क्षतिपूर्ति प्रदान गर्नुपर्ने, भूमिहीन किसानहरूको गाँस बास र कपासको ग्यारेन्टी राज्यले गर्नुपर्ने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.