घर न घाटको भएपछि काठमाडौं आएको पीडितको दु:खेसो

|

काठमाडौं :  बुढ्यौली लागेको शरीर। अनुहार देशको नक्सा जस्तो। दायाँ खुट्टालाई भएको छ प्यारालाइज। चस्माबिना देखिँदैन नजिकको दृश्य। दिमागले पनि विस्तारै भुल्दै जान थालेका छन् विगत। तर, पनि प्रेमनारायण कोइरीले भुल्न सकेका छैनन् मिटर ब्याजी साहुले दिएको मानसिक पीडा।

भत्किएको घर बनाउन लिएको ९ लाख रुपैयाँले उनलाई आज बेघर बनाइदिएको छ। मिटर ब्याजी साहुको फन्दामा ७७ वर्षीय कोइरी बूढो शरीर बोकेर न्याय माग्दै काठमाडौं आएका छन्।

न्याय पाइन्छ कि भन्ने आशा भने उनले अझै मारिसकेका छैनन्। मिटर ब्याजीको पासोबाट मुक्ति पाउन चाहन्छन् उनी। माइतीघरमा एकानास झोक्राएर बसिरहेका कोइरीले २०७३ सालमा गाउँकै साहु वसन्त कोहारबाट ९ लाख रुपैयाँ ऋण लिएका थिए। साहुले  त्यसबापत जमिन बन्धक राखिदियो। उनले दुई कट्ठा जग्गा बेचेर ऋण पनि तिरे। पाँच वर्षपछि ०७७ सालमा उनले ९ लाख साँवा र त्यसको ब्याज सबै तिरिसके।

तर, निरक्षर कोइरीसँग साहुले अनवरत पैसा असुल गरिरहे। पैसा तिर्न अझैँ बाँकी रहेको र त्यो सबै चुक्ता हुनुपर्ने साहुको अडान छ। यदि यस्तो नभए १२ कठ्ठा जग्गा र घर फुकुवा नगर्ने डर देखाइरहेका छन् उनलाई । 'नौ लाख ऋण लिएकोमा १६ लाख रुपैयाँ तिरिसकेँ। पैसा तिरेको प्रमाण के छ? भन्दै अझै सावा र ब्याज गरी ४२ लाख रुपैयाँ तिर्नुपर्ने भन्दै मानसिक तनाव दिन्छ', उनले मुठ्ठी कस्दै भने।

उनले आफूलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी, प्रहरीले पनि न्याय नदिएको बताए। किसानी जीवनको दु:ख गरेर जिन्दगीको करिब पूरा हिस्सा बिताएका उनी अहिले न्याय खोज्दै हिँड्नुपरेको छ।

 ‘मेरो भन्नु अब केही छेन। मिटर ब्याजी साहुले न घर बाँकी राख्यो न त जग्गा नै', उनी विरक्तिएको आवाजमा भन्छन्, मर्ने बेला कम्तीमा न्याय पाउँछु कि भनेर काठमाडौं आएको हुँ हजुर।' सासले परान कतिखेर छोड्छ भन्ने ठेगान नभए पनि उनी सरकारले आफूलाई न्याय दिनेमा आशावादी बनेका छन्।

त्यस्तै,  हृदेयश कुर्मी ३८ वर्षका भए। उनको पनि व्यथा प्रेमनारायणको जस्तै छ। गरिबीले आक्रान्त थियो कुर्मीको परिवार। निरक्षरता अर्को दु:खको कारण बन्ने नै भइहाल्यो। घरको आर्थिक मजबुतीका लागि विकल्प थियो विदेश। पैसा कमाउन जान पनि पहिले पैसा खर्चको जोहो आवश्यक थियो। 

पैसाको जोहो गर्न उनी पुगे जगदीश बानियाँको शरणमा। बानियाँसँग ६३ सालमा कतार जानका निम्ति उनले ९० हजार लिए। परिवारको सुन्दर भविष्यका लागि कतार पुगेका उनले १८ महिनाको अवधिका कमाएको सबै पैसा साहुलाई बुझाए।

ऋण चुक्ता भइसकेको थियो। गाउँमा फर्के। तर, दुखको भेल अझै निख्रिसकेको थिएन। विदेशले पनि गरिबी हटाउन सकेन।  गाउँमा बस्न सक्ने अवस्था थिएन।

पुनः तिनै साहुसँग १ लाख ९० हजार रुपैयाँ ऋण लिएर उनी दिल्ली गए। भारतमा मजदुरी गरे। कमाएको पैसा साहुलाई ऋण तिर्दै गए। तर, उनको हकमा उल्टो हुँदै गयो। ऋण तिर्दै जाँदा ऋणको भार घट्नुको सट्टा बढ्दै गयो।

साहुको पञ्जाबाट उम्कन उनले २०७२ सालमा ११ कठ्ठा जग्गा बेचिदिए। २० लाख रुपैयाँ तिरिदिए। दु:खको कुरा आजसम्म उनी ऋणमुक्त हुन सकेका छैनन्। उनी आफूले साहुलाई दिएको पैसाको कागज देखाउँदै भन्छन्, 'हालसम्म २३ लाख ३८  हजार ५ सय रुपैयाँ तिरिसकेँ। अझै पनि म ऋणमुक्त हुन सकेको छैन।' आफूले कमाएको पैसा मात्र होइन आफ्नो नाममा भएको जग्गा पनि साहुले बन्धक राखेको उनी सुनाउँछन्।

'मसँग केही छैन। कमाएको सबै पैसा साहुलाई तिर्दा ठिक्क हुन्छ। अब आफूमाथि भएको अन्याय सहन नसकेर काठमाडौं आएको हुँ', उनी पनि मलिन स्वरमा थप्छन्।

त्यस्तै, माइतीघरमा भेटिएकी त्रिसर्दादेवी राजभाको दु:ख पनि कम्तीको छैन। ६४ सालमा जगदीश बानियाँसँग उनले १ लाख रुपैयाँ लिएर वैदेशिक रोजगारका लागि साउदी अरब पुगिन्। अरबको तातो घाममा उनी ६ वर्ष पोलिएर कमाएको पैसा साहुको भयो। त्यसपश्चात् उनले छोरालाई मलेसिया पठाइन्। मलेसियामा तीन वर्ष छोरा बस्दा कमाएको पैसा पनि साहुलाई नै तिर्दा ठिक्क भयो।

उनी सुनाउँछिन्, 'एक लाख ऋणको १८ लाख रुपैयाँ तिर्नुपरेको छ। म मेरो पैसा फिर्ताका लागि धर्ना बस्न आएकी हुँ।' उनले आफ्नो बन्धक जग्गा भने साहुको पञ्जाबाट फिर्ता गर्न सफल भएकी छिन्। तर, १ लाख रुपैयाँको १८ लाख तिर्नुपर्दा उनले आफूलाई अन्याय भएको महसुस गरेको छिन्।

'मैले र छोराले कमाएको पैसा साहुले खाइदिएको छ। मलाई न्याय चाहिएको छ', उनले भनिन्।

उनीहरू त केवल केही उदाहरण मात्र हुन्।

यतिखेर काठमाडौंको माइतीघरमा नवलपरासीका मिटरब्याजी किसान–मजदुरहरू न्यायको आशामा धर्ना दिइरहेका छन्। करिब ८५ परिवार आफ्नो गरिबी र निरक्षरताको फाइदा उठाएर साहुले गरेको बेइमानीमाथि आक्रोश पोखिरहेका छन्। 

यस्ता छन् उनीहरूका माग  :

देशैभरका मिटर ब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको उद्धारका लागि सरकारद्वारा अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने।

पीडित किसानको जमिनको दृष्टिबन्धक खोली अनाधिकृत तमसुक च्यात्नुपर्ने। दृष्टिबन्धक भन्दै झुक्याएर नामसारी (छिनुवा पास) गरिएका जग्गा फिर्ता गर्नुपर्ने।

कानुन विपरीत अनुचित ब्याज लिनेको ऋण तिर्न नपर्ने घोषणा राज्यले गर्नुपर्ने। सम्पूर्ण सुद्खोर परिवारको सिआइबीद्वारा सम्पत्ति जाँच गर्नुपर्ने।

मिटर ब्याजी साहुको निरन्तरको मानसिक प्रताडनाको कारण मृत्यु भएका किसानहरूको छानविन गरि क्षतिपूर्ति प्रदान गर्नुपर्ने, भूमिहीन किसानहरूको गाँस बास र कपासको ग्यारेन्टी राज्यले गर्नुपर्ने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.