|

नयाँ दिल्ली : दिल्ली प्रहरीले शुक्रबार कांग्रेस नेता राहुल गान्धी लगायतलाई पक्राउ गरेको छ।

महँगी लगायतका विषयमा विरोध  प्रदर्शन गरिरहेका ५० सांसदसहित कांग्रेसका २०० भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

कांग्रेसले शुक्रबार महँगी, बेरोजगारी र कैयौँ खाद्यवस्तुलाई जीएसटी (वस्तु तथा सेवा कर) को दायरामा ल्याउने विरोध गरेको थियो।

एक वरिष्ठ पुलिस अधिकारीले प्रदर्शन अखिल भारतीय कांग्रेस समिति (एआईसीसी) को कार्यालय नजिकै शुरु भएको जानकारी दिए। प्रदर्शनका क्रममा प्रहरी उपायुक्त (नयाँ दिल्ली) अमृता गुगुलोथको हातमा चोट लागेको र प्राथमिक उपचार गरिएको उनले बताए।

यसैबीच कांग्रेसको पञ्जाब र हरियाणा इकाईले पनि बढ्दो महँगी र बेरोजगारीविरुद्ध चण्डीगढमा प्रदर्शन गरेको छ। दुवै राज्यका कांग्रेस इकाईका कार्यकर्ताले सबै जिल्ला कार्यालयमा महँगीविरुद्ध प्रदर्शन गरेका छन्।

पञ्जाब इकाईले प्रदेश कांग्रेस अध्यक्ष अमरिन्दर सिंह राजा वडिङ र विपक्षी नेता प्रतापसिंह बाजवाको नेतृत्वमा विरोध प्रदर्शन गरेको थियो।

हरियाणा इकाईको प्रदर्शनको नेतृत्व पूर्वमुख्यमन्त्री भूपेन्द्रसिंह हुड्डा र प्रदेश कांग्रेस अध्यक्ष उदय भानले गरेका थिए। दुबै राज्यका कांग्रेसका धेरै विधायकहरू पनि विरोधमा सहभागी थिए।

प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरे र प्रहरीले धारा १४४ अन्तर्गत निषेधित क्षेत्र भन्दै उनीहरूलाई गभर्नरको निवासतर्फ मार्च गर्ने अनुमति दिएन। उनीहरूले प्रदर्शन नरोकेपछि प्रहरीले उनलाई केही समयमा हिरासतमा लिएको थियो।

पञ्जाब इकाईका नेताहरूले आफूहरूले उठाइरहेका विषयका बारेमा राज्यपाललाई ज्ञापनपत्र बुझाउन चाहेको बताए। पेट्रोल, डिजेल, ग्यास सिलिन्डरलगायत अत्यावश्यक वस्तुको मूल्य बढेको नेता वडिङले बताए।

‘डलरको तुलनामा रुपैयाँको अवमूल्यन भइरहेको छ। जल्दाबल्दा समस्या टन्नै छन्। यसले आम जनतालाई असर गरिरहेको छ तर सरकार सुतेको छ।’

हरियाणा विधानसभामा विपक्षी दलका नेता हुड्डाले अत्यावश्यक वस्तुको मूल्य अत्यधिक बढेको र बेरोजगारी पनि बढेको बताए। उनले कांग्रेसले संसद्‌देखि सडकसम्म जनताका मुद्दा उठाइरहने स्पष्ट पारे।

कांग्रेसका वरिष्ठ नेता प्रतापसिंह बाजवाले बढ्दो महँगी कारण सर्वसाधारण पीडित भएको बताए।​ बाजवाले भने, ‘महँगी नियन्त्रण गर्नुको साटो सरकार विपक्षी दलका नेताहरूलाई निशाना बनाउन र उनीहरूको आवाज दबाउन व्यस्त छ।’

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.