आत्महत्याको क्रम डरलाग्दो

|

धनगढी : कैलालीको एउटा विद्यालयमा गत शुक्रबार साँझ विद्यार्थी मृत फेला परिन्। जिल्लाको गोदावरी नगरपालिकास्थित तेघरीको सैनिक आवासीय विद्यालयमा  कक्षा १० मा अध्ययनरत हिमानी बिष्ट मृत भेटिएकी हुन्। उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन्। सेनाको विद्यालयभित्र होस्टेलमै हिमानीको शव फेला परेको थियो। उनी त्यहाँ आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको थियो।

साउन १२ गते सुदूरपश्चिमको दुर्गम मानिने बाजुराको एक छात्रावासमा पनि विद्यार्थीको शव भेटियो। बुढीगंगा नगरपालिका–१ मा रहेको धुरालसैन माध्यमिक विद्यालयको छात्रावासमा बुढीगंगा–७ बस्ने २१ वर्षीय नविन खड्को शव फेला परेको थियो। उनी कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए। खड्का उक्त विद्यालयमा प्राविधिक वन विज्ञान अध्ययन गर्दै आएका थिए।

केही समयअगाडि बाजुरामै एक युवती पनि मृत भेटिएकी थिइन्। प्रेमीसँग विवाद हुँदा जिल्लाकै एउटा जंगलमा ती युवतीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको थियो। गत असार १७ गते पनि धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत कञ्चनपुरकी एक किशोरी पनि मृत फेला परेकी थिइन्।

कञ्चनपुरको बेलौरी घर भएकी अन्दाजी १९ वर्षीया आरती विष्ट आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको थियो। उनले आत्महत्या गरेको भनाई प्रहरीको थियो। उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकाय प्रथम सेमेस्टरमा अध्ययनरत थिइन्।

प्रहरीका अनुसार किशोरावस्थाका विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण प्रेममा धोका पाउनु रहेको छ। विभिन्न घटनाको अनुसन्धान गरेको प्रहरीले प्रेममा धोका पाएपछि किशोरकिशोरीले आत्महत्याको बाटो रोज्ने गरेको निष्कर्ष निकालेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहीले प्रेममा धोका पाएका कारण कतिपयले प्राण त्याग्ने गरेको बताए।

‘किशोरावस्थाका विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण नै प्रेममा धोका हो,’ उनले भने, ‘पछिल्लो समय यो आत्महत्याको क्रम सुदूरपश्चिममै बढिरहेको अवस्था छ। हाम्रो अनुसन्धानले पनि प्रेम सम्बन्धकै कारण आत्महत्या हुने गरेको देखाउँछ।’

यसको न्यूनीकरणका लागि अभिभावक र शिक्षक तथा साथीभाइको सल्लाह, सुझाव र भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.