|

भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ। सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्।

 उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसद्‌मा मतदान भएको हो।    उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन्।

स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन्। मतगणना शनिबार नै गरेर नतिजा पनि सार्वजनिक हुने बताइएको छ। 

नवनिर्वाचित उपराष्ट्रपतिलाई सपथ खुवाउने कार्यक्रम भने आगामी अगस्ट ११ मा मात्रै गराइने तालिका रहेको छ।  सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिने भएकाले नवनिर्वाचित उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइने भएको हो।

नयाँ उपराष्ट्रपतिका लागि विपक्षी दलहरूको तर्फबाट मार्गरेट अल्भालाई उम्मेदवार बनाइएको छ भने सत्तारुढ दलहरूको तर्फबाट भारतीय जनता पार्टीका शीर्ष नेता जगदिप धनकरलाई उठाइएको छ।

उनी व्यवसायीक हिसाबले वकिल हुन् भने यसअघि पश्चिम बंगालको गभर्नर भइसकेका व्यक्ति हुन्। सन् २०१९ मा गभर्नरमा नियुक्त भएका धनकरले मुख्यमन्त्री ममता बेनर्जीसँगको चिसो सम्बन्धका कारण राजीनामा दिएका थिए।  भारतको संविधान अनुसार उपराष्ट्रपति देशको दोस्रो ठूलो पद हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.