|

म्याग्दी : 'ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल' राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो कवितांश पर्वत बेनीका खेम केसीको पौरखसँग मेल खान्छ।

पर्वत जलजला ७ केराबारी स्थायी घर भै हाल म्याग्दीको सदरमुकाम बेनीको काली पुलमा व्यवसाय गर्दै आएका खेम केसीले पर्वतको जलजला ७ केराबारीको ढुङ्गे पाखोलाई खनीखोस्रो, मलजल गरेर पाखैभरी केरा खेती गरेका छन्।

नाम केराबारी भएपनि भिरालो जमिनमा चट्टानै चट्टान रहेको पाखोलाई सम्याएर केसीले २५ सयभन्दा बढी केराका बिरुवा लगाएका छन्। आजभन्दा करिब ४ बर्ष अगाडि २०७५ साल फागुन महिनामा बेनी नगरपालिका वडा नम्वर २ खबराबाट प्रति विरुवा ६० रुपैयाँका दरले ४०० वटा केराका बोट लिएर केराखेती सुरु गरेका थिए।

४ वर्षको अवधिमा केसीले केरा खेती विस्तार गरी अहिले ३० रोपनी जग्गामा २५ सय केराका विरुवा लगाएका छन्। केसीले पाखैभरी हजारे, मुंग्रे, धुर्से प्रजातिका केरा तथा अन्य फलफूल खेती लगाएपछि उजाड पाखा अहिले बगैँचामा परिणत भएको छ।

एल्भिन फलफूल फर्म दर्ता गरी व्यावसायिक रुपमा केरा खेती सुरु गरेका केसीको फर्ममा हाल कागती, एभोकाडो, अम्बा, आँप, लिचीलगायत ५०० वटा फलफूलका विरुवा हुर्किरहेका छन्।

मौरीपालन पनि गरेका केसीको फर्ममा ५० वटा मौरीका घारसमेत रहेका छन्।

करिब १५ सय केराका बोटले फल दिन थालेको केसीले बताए। काँचो केराकाे बोटबाटै एक दर्जनलाई एक सय रुपैयाँमा बिक्री हुने गरेको छ। १५ सय बोटको केराबाट मासिक ५० हजारभन्दा बढी कमाई हुने गरेको कृषक केसीले बताए।

एक घारीमा २ सय देखि २ सय ५० वटासम्म केरा हुन्छ, अरु सबै केराहरु पनि राम्रोसँग सप्रिएका छन्, केसीले भने, ‘अघिल्लो बर्षदेखि मासिक ५० हजार त केरा बेचेर मात्रै कमाई भएको छ, साँच्चै भन्नुपर्दा मलाई केरा खेती फापेको छ।’

केरामात्रै होइन केसीको फर्मबाट केराका बिरुवासमेत विक्री हुने गरेको छ। यो बर्ष म्याग्दीको राखु, पर्वतको बाँसखर्क, लस्तीलगायतका स्थानमा करिब २ हजार वटा विरुवा प्रति विरुवा १ सयका दरले बिक्री भएको केसीको भनाई छ।

कहिलेकाहीँ परिवार तथा साथीसंगी गएर बस्नका लागि कटेजसमेत निर्माण गरेका केसीको फर्ममा पुग्दा वरिपरिको शान्त र सुन्दर वातावरणले मनलाई आनन्दित तुल्याउने गर्दछ।

४६ बर्षीय केसीलाई श्रीमती सपना केसीले पनि खेतीमा राम्रो साथ दिएकी छन्। फर्ममा फर्सी, घिरौँला, भन्टा, तितेकरेला, हरियो खुर्सानीलगायत अन्य तरकारीहरू पनि राम्रोसँग उत्पादन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.