|

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन वीरगञ्जले सर्वपक्षीय छलफलमा बक्यौता शिक्षण शुल्क उठाउनै नपाउने भन्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ।

महानगरले बक्यौता शिक्षण शुल्क नउठाउनु भन्ने मनसायले सामाजिक सञ्जालमा जारी गरेको सूचनाप्रति ध्यानाकर्षण जनाउँदै वीरगञ्ज प्याब्सनले स्पष्ट पारेको हो। आज एक सूचना जारी गरी वीरगञ्ज महानगरले संस्थागत विद्यालयहरूको सञ्चालक तथा अन्य सरोकारवालाहरुसँग कुनै छलफल नै नगरी बक्यौता शिक्षण शुल्क नउठाउनु भन्ने मनसायले अनधिकृत स्रोत फेसबुकबाट सूचना जारी गरेको भन्दै आपत्ति जनाएको छ।

प्याब्सनले शुल्ककै कारण विद्यार्थीहरूको परीक्षा छुट्नु वा छुटाउन हुन्न भन्ने विषयमा सबै सदस्य विद्यालयहरू प्रतिबद्ध रहेकोसमेत जनाएको छ।

‘अनाधिकारिक स्रोतबाट जारी भएको सूचनाले व्यक्तिगत स्वार्थ पूरा गर्न गठित समूह अर्थात् अवैधानिक अभिभावक संघर्ष समितिले त्यसलाई गरी खाने भाँडो भएको छ। उक्त समूहले त्यही सूचनालाई आधार बनाएर सम्पूर्ण अभिभावकलाई दिग्भ्रमित पार्दा विद्यालय र अभिभावकबीच फाटो ल्याउने काम भएको छ।’ प्याब्सन वीरगञ्जद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अधिकांश अभिभावकहरूले मासिक रूपमा शिक्षण शुल्क नबुझाई परीक्षाको बेला तिर्ने बुझाउने गरेकोमा उक्त सूचनाले परीक्षाका वेला पनि बक्यौता शुल्क उठ्न गाह्रो भएको प्याब्सनले दाबी गरेको छ।​

विद्यालयहरूले चालु महिनाको नभएर गत शैक्षिक सत्र र विगतकै महिनाहरुको बक्यौता माग गर्दासमेत हाम्रा अभिभावक दिग्भ्रमित भएर शुल्क नबुझाइदिँदा विद्यालयहरूले दैनिक सञ्चालन खर्च, मासिक तलब, घरभाडा, डिजेल खर्चसमेत धान्न अप्ठ्यारो भएको प्याब्सनले जनाएको छ।

संस्थागत विद्यालयहरूमा आश्रित महानगरको करिब ४ हजार शिक्षक कर्मचारीहरूलाई १ देखि ३ देखि महिनासम्मको तलब सुविधा समेत दिन नसकिएको प्याब्सनले उल्लेख गरेको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.