|

कञ्चनपुर : कृष्णपुर नगरपालिका-५ गुलरियाका द्वन्द्वका क्रममा दुई दशकअघि विस्थापनमा परेका आधारभूत तहका शिक्षक चन्द्रसिंह साउद पुनर्बहाली भएका छन्। शिक्षकमा पुनर्बहाली भएपछि उनी निकै खुसी छन्।

साउदलाई पुनर्वास नगरपालिकाको ‘ङ’ गाउँस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा पुनः स्थापन गरिएको छ।  वि.सं २०५८ सालमा सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका वेला शिक्षक साउद विद्यालयबाट विस्थापनमा परेका हुन्।

विद्यालयका दुईजना अस्थायी शिक्षक तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी हुन भूमिगत भएपछि साउदलाई समेत सुरक्षानिकायले शंकाको घेरामा राखी केरकार गर्ने, घर खानतलासी गर्ने, मानसिक यातना दिन थालेपछि परिवारसहित मुगलान (भारत) पस्न बाध्य भएका थिए।

‘गाउँकै सयपत्री आधारभूत विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत थिएँ’, साउदले भने, ‘विद्यालयमा शिक्षकका रूपमा कार्यरत भए पनि गीत संगीतप्रति मेरो अभिरुचि थियो। गाउँघरमा भएका विकृति विसंगतिप्रति व्यंग्य गर्दै डोटेली भाषाका देउडा लगायतका अन्य गीतका एल्बम निकाल्थेँ। ती एल्बमका गीतहरू सुरक्षानिकाय र सशस्त्र आन्दोलनमा संलग्न माओवादी लक्षित हुँदैनथे। गाउँघरको परिवेशमा देखिएका कुरा समावेश गरेर निकाल्थ्यौँ। ती कुरा पनि सुरक्षानिकायलाई त्यति वेला सह्य थिएन।’ गीतकै कारण सुरक्षानिकायको आँखाको तारा बनेको उनले सुनाए।

'त्यही वेला विद्यालयकै दुईजना शिक्षक भूमिगत भएपछि सुरक्षानिकायले केरकार गर्ने भइहाल्यो’, उनले द्वन्द्वका दिन सम्झिँदै भने, ‘मेराविरुद्ध सर्च वारेन्ट जारी भयो। घर खानतलासी गर्न थाले। मलगायत परिवारका सबैलाई केरकार गर्न थालियो। घरको कुना कुनामा सुरक्षानिकायले दुई दिनको फरकमा आएर खानतलासी गर्थ्यो। घरमा बस्ने वातावरण भएन।’

२०६४ सालमा द्वन्द्वरत पक्षबीच विस्तृत शान्ति सम्झौता भयो। साउद सपरिवार भारतबाट घर फर्किए। द्वन्द्वमा पीडा खेपेकाहरूलाई न्याय दिनका लागि सरकारले त्यही वेला जिल्लामा शान्ति समिति गठन गर्‍यो।

‘शान्ति समितिको सम्पर्कमा पुगेँ। नियुक्ति पत्रदेखि माइन्यूट गरिएका सबै कागजपत्र समितिलाई बुझाएँ। छानबिन समितिले ०७३ सालमा पुनःस्थापनका लागि सरकारलाई प्रतिवेदन बुझायो। जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि पुनःस्थापनका लागि चासो दिइएन', उनले भने। विसं २०७८ साल फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले द्वन्द्वबाट विस्थापनमा परेका सेवा अवधि बाँकी रहेका शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गर्‍यो।

शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयसँग राय माग गरेपछि अर्थ मन्त्रालयले स्वीकृति दिएपछि  विसं २०७९ साउन २ गते शिक्षा तथा मानव स्रोत केन्द्रले पुनर्बहालीका लागि जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेपछि एकाइ कार्यालयले दरबन्दी रिक्त रहेका विद्यालयमा विस्थापित शिक्षकलाई पुनर्बहाली गरेको छ। साउदसँगै द्वन्द्वका क्रममा विस्थापनमा परेका बेदकोट नगरपालिका- १० वडीदैजीका शिक्षक भगवानदास राना समेत पुनर्बहाल भएका छन्। रानालाई रिक्त दरबन्दी रहेको शुक्लाफाँटा नगरपालिका-८ स्थित पञ्चकोटी मणिकाधाम आधारभूत विद्यालय पिलरीफाँटामा पुनर्बहाली गरिएको छ।

२०४९ साल चैत २९ गते आधारभूत तहको स्थायी शिक्षक नियुक्ति लिएर राना लालझाडी गाउँपालिका-४ डाँडाजाईस्थित बैजनाथ निमाविमा प्रधानाध्यापकका रूपमा कार्यरत थिए। विद्यालयमा कार्यरत करार शिक्षक नियुक्तिको विषयलाई लिएर स्थानीय बासिन्दाबीच विवाद बढ्दै गएपछि २०५८ साल फागुन २३ गते विस्थापनमा परेका हुन्।

‘बाह्य क्षेत्रबाट आएको व्यक्तिलाई करारमा शिक्षक नियुक्त गरेको भनेर सशस्त्र द्वन्द्वरत पक्षको नाम लिएर धम्की आउँथ्यो। करारमा रहेका शिक्षकलाई हटाउनुपर्छ भन्ने एक समूहको माग थियो। माओवादीका नाममा निकै दबाव आउँथ्यो। म करारमा रहेका शिक्षकको जागिर छुटाउने पक्षमा थिएन', उनले सुनाए, 'खाइपाई आएको शिक्षकले पढाउन पाउनुपर्छ भन्थे। त्यही सिलसिलामा तत्कालीन जिल्ला शिक्षा कार्यालयमा धाउन थाले। हामीले भनेको नमान्ने अब तैंले नै स्कुल छाड्नुपर्छ भनेर त्यो समूहले भन्न थाल्यो। धम्कीको भाषा प्रयोग गरेर दबाव दिन्थे। भित्र भित्रै ईर्ष्या बोकेका थिए।’

विद्यालयमा जाने वातावरण नभएपछि सरुवाका लागि तीन महिनासम्म उनी शिक्षा कार्यालयमा  आउनेजाने गर्न गर्न थाले। ‘विद्यालय जाने क्रम टुट्यो। तीन महिना हाजिर लगाउन पाइएन’, उनले भने, ‘मेरै अगाडि तत्कालीन जिल्ला शिक्षा अधिकारीले दबावमा टिप्पणी उठाएर निलम्बन गरे।’

जागिर नभएपछि उनले निकै पीडा झेले। कार्पेन्टर, सिलाइकटाइको काम गर्न थाले। कृषि सहजकर्ता भएर केही समय आइपिएम पाठशाला समेत चलाउन थाले।

शिक्षकमा पुनर्बहाली हुने कल्पना पनि नगरेका उनले विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचन समेत लडेका हुन् तर हारे  ‘शिक्षकको जागिरमा पुनर्बहाली होला भनेर सोचेकै थिएनौं’‚ उनले भने, ‘पुनर्बहाली भएपछि निकै खुसी छु। कार्यरत विद्यालयको शिक्षाको गुणस्तर सुधार्नमा मेरो ध्यान केन्द्रित रहन्छ। अरू कुनै ध्येय छैन।’

सरकारले दुवै पुनर्बहाली भएका शिक्षकलाई विस्थापित भएका बेलाको सात वर्षको तलबबापतको रकम दिने निर्णय समेत गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका इकाइ प्रमुख दीपकराज कलौनीका अनुसार पुनर्बहालीमा परेका दुवैजना शिक्षकको पदस्थापन भएको छ। विद्यालयमा हाजिर भएको मितिदेखि प्रचलित तलबभत्ता एवं अन्य सुविधा पाउने गरी पदस्थापन गरिएको उनले बताए।

शिक्षक दरबन्दी रिक्त रहेका विद्यालयमा पदस्थापन गरिएका छन्। पदस्थापन गरिएका दुवैजना शिक्षक आधारभूत तहका रहेका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो थिमी भक्तपुरको साउन १ गतेको द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली तथा पदस्थापन सम्बन्धको पत्रअनुसार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयको साउन ९ गतेको निर्णय अनुसार दुवैजनाको पुनर्बहाली  गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.