मङ्कीपक्स परीक्षणका लागि डब्लुएचओले दियो परीक्षण किट

|

काठमाडौं : भारतमा मङ्कीपक्स भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा पनि उच्च जोखिम रहेको भन्दै सरकारले तयारी थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालका अनुसार हाल देशभरका १४ जना चिकित्सकलाई फोकल पर्सन नियुक्त गरी उनीहरूलाई मङ्कीपक्स संक्रमणको बारेमा जानकारी दिनुका साथै सम्भावित विरामीको पहिचान र उपचारको बारेमा तालिम समेत दिएको बताए।

डा. गेलालका अनुसार हालसम्म नेपालमा मङ्कीपक्सको आशंकामा ४ वटा नमुना परीक्षण गरिएको छ। उक्त परीक्षणमा धेरैमा दादुरा पुष्टि भएको छ भने एकजनामा कुष्ठरोग भएको पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण हुने

यस्तै मङ्कीपक्सका शङ्कास्पद बिरामीको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने समेत डा. गेलालले बताए। ‘शंकास्पद व्यक्तिको नमुना राष्ट्रिय प्रयोगशालामा परीक्षण हुन्छ‚ आवश्यक परेको खण्डमा देशका अन्य स्थानहरूमा पनि परीक्षण सेवा बढाइन्छ’‚ उनले भने।  

यस्तै हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पताल तथा शशस्त्र प्रहरी अस्पतालका चिकित्सकलाई अभिमुखीकरण तालिम दिइसकेको समेत उनले बताए। डा. गेलाललले ‘इन्टर्नल गाइडलाइन अन क्लिनिकल म्यानेजमेन्ट अफ मङ्कीपक्स–२०७९’ तयारी गर्न थालेको समेत बताए।

महाशाखाले मङ्कीपक्सको उच्च जोखिममा रहेका समुदायसँग पनि रोकथाम र नियन्त्रणबारे छलफल गरेको उनको भनाइ छ। सातवटै प्रदेशका प्रदेश निर्देशनालयलाई मङ्कीपक्सको रोकथाम र नियन्त्रण गर्नका लागि निर्देशन दिइएको छ।

मङ्कीपक्स परीक्षणका लागि डब्लुएचओले दियो परीक्षण किट

यस्तै हालै मात्रै विश्व स्वास्थ्य संगठनले नेपाललाई २ हजार ५० थान मङ्कीपक्स परीक्षण गर्ने किट दिएको छ। अब उक्त किटको प्रयोगमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण हुने डा. गेलालले बताए। हाल टेकु प्रयोगशालामा मात्रै परीक्षण हुने भए पनि आवश्यक परेमा देशका अन्य ठाउँमा परीक्षणको दायरा बढाउन सकिने उनले बताए।

यसकारण नेपाल मङ्कीपक्सको उच्च जोखिममा

भारतमा मङ्कीपक्सको संक्रमित बढ्दै जानु र खुला सीमा भएकाले सङ्क्रमितले सजिलै नेपाल प्रवेश पाउने भएकोले पनि उच्च जोखिम रहेको हो।

यस्तै मङ्कीपक्स संक्रमण बढ्दै गएको अफ्रिका, युरोप, मध्यपूर्वी एशिया देशबाट पनि नेपालमा पर्यटक आउने सक्ने भएकाले जोखिम नेपालमा संक्रमण आउने उच्च जोखिम रहेको बताउँछन् नेपालस्थित विश्व स्वास्थ्य संगठनका महामारी विज्ञ डा. चथुरा इदिरीसुरिया।

‘हाल नेपालमा सजिलैसँग पर्यटकहरूको आउने क्रम रहेको छ अर्कोतर्फ नेपालसँग खुला सिमाना रहेको भारतमा मङ्कीपक्स संक्रमणका बिरामी बढ्दै गएका छन्। यसले गर्दा पनि नेपाल उच्च जोखिममा रहेको छ’‚ डा. चथुराले भने।

डा. इदिरीसुरियाले मङ्कीपक्स रोगको जोखिम बारेको जानकारी समुदायमा सरकारले गराउनु आवश्यक रहेको समेत बताए।

डा. इदिरीसुरियाले मङ्कीपक्स सङ्क्रमण एक व्यक्तिले अर्को व्यक्तिमा २१ देखि २४ दिनभित्र सार्ने सक्ने भएकाले एक महिनासम्म आइसोलेशनमा बस्नुपर्ने समेत बताए।

यी हुन मङ्कीपक्सका लक्षण

रोग सार्नेमध्ये ९७.५ प्रतिशत सङ्क्रमण पुरुष पुरुषबीच हुने यौन सम्पर्कबाट सर्ने गरेको पाइएको डब्लुएचओले जनाएको छ। तीमध्ये ३८ प्रतिशतमा एचआइभी पोजिटिभ पाइएको छ।

डब्लुएचओका जनस्वास्थ्य विज्ञ डा. शीतल अधिकारीका अनुसार ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थि बढ्नु मंक्किपक्सका लक्षण हुन्।

मङ्कीपक्स रोगका सम्भावित जटिलता आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्कज्वर, गर्भ खेर समेत रहेको डा. अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.