|

म्याग्दी :  बेनी नगरपालिका- २ ज्यामरुककोटको गौश्वारमा १ सय वर्ष पुराना काष्ठकला र प्रस्थरकलाका इतिहास बोकेको ऐतिहासिक घरहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्।

सिर्मु र सालका काठमा कलात्मक रुपले कुदिएका सुन्दर बुट्टा। चिल्ला र बाख्ला छाउने ढुंगाले छाउको धुरी र पाली मुनि ९० डिग्रिको कोणमा हालिएका टुडाल। हेर्दै लोभ्याउने आकर्षक झ्याल ढोका। मल्ल र राणाकालीन शैलीको विरासत देखाउने १ सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङेघर।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिव ९ किलोमिटर दक्षिणमा पर्ने गौश्वारा गाउँ यिनै घरहरूका कारण अहिले पनि आकर्षक र मनमोहक देखिन्छ।

ज्यामरुककोटको शिरानमा रहेको गौश्वार गाउँमा मल्लकालीन वास्तुकलाका १०० वर्ष बढी पुराना घरहरू अहिले इतिहासको साक्षी बनेर रहेका छन्।

२०४५ सालसम्म मल्ल वंशीय ठकुरीहरूको वाहुल्य वसोवास रहेको यस गाउँ विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि यहाँका ठकुरीहरू बसाइँसराइ गर्ने र शहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन्।

घरहरू जीर्ण अवस्थामा पुगेका भए पनि मर्मत सम्हार र सुरक्षाको विषयमा कसैले चासो नदेखाएका स्थानीयले बताए। ती घरहरूको पुरानै शैलीमा मर्मत गरी प्रचारप्रसार गर्ने हो भने बागलुङको पञ्चकोट,म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा आउने धेरै पर्यटकहरू यहाँ पुग्न सक्ने बलियो संभावना देखिएको स्थानीयवासीसमेत रहेका बेनी नगरपालिका-२ का वडासदस्य चन्द्रकान्त रिजालले बताए।

वडासदस्य रिजालका अनुसार सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका ती घरहरूमा आँखीझ्याल, फलाँटे ढोका रहेका छन् भने गारोमा लगाइएका ढुंगा पनि आकर्षक तरिकाले कुँदिएका छन्।

 गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्ववम मल्लको स्वामित्वमा रहेका १०० वर्ष भन्दा बढी पुराना घरहरू गौश्वारा गाउँका अनमोल सम्पदा भएकाले पनि तिनको सुरक्षा र मर्मत सम्हारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय वुद्धिजीवि रत्नवम मल्लले बताए।

मल्लका अनुसार यी घर गौश्वाराका पहिचान भएका र यिनलाई व्यवस्थित गर्न सक्ने हो भने पर्यटकलाई आकर्षित गर्न सकिने बलियो सम्भावना रहेको छ। यी घरहरूको इतिहास मल्ल वंशीय राजखलक र राणा खलकसँग जोडिएको छ। तत्कालीन मल्ल ठकुरीहरू जुम्लाको सिञ्जा उपत्यकाबाट बसाइँ सरी यहाँ आएको मानिन्छ। यहाँ आएपछि काठमाडौँमा रहेका मल्ल र राणाहरूसँग यहाँका ठकुरीहरूको वैवाहिक सम्बन्ध गाँसिएको थियो।

त्यसै क्रममा एक ठाउँको कला र संस्कृति पनि स्थानान्तरण हुँदै यताको उता र उताको यता भएकाले यहाँ तत्कालीन समयमा बन्ने घरहरूभन्दा मल्ल वंशीय ठकुरीहरूका घरहरू फरक शैलीमा निर्माण भएका मल्लले बताए।  त्यसैगरी चार पुस्तादेखि पुरानो घरमा नै बस्दै आएका परमेश्वरवम मल्लले यी घरहरूसँग आफ्नो पुर्खाको पुरुषार्थ र पहिचानसँग जोडिएकाले अझसम्म पनि सुरक्षित राखिएको प्रतिक्रिया दिए।

‘कतिपय भाइबन्धुहरू काठमाडौँ, चितवन, पोखरालगायतका शहरहरूमा गइसके तर म भने पुर्खाको बिरासतलाई संरक्षण गरेर बसेको छु’, मल्लले भने, ‘घरका दारपात, झ्यालढोका, ढुंगा आदिमा हाम्रा पुर्खाको पसिनाको गन्ध र तत्कालिन काष्ठ कलाको आनन्द मिसिएको छ।’

ढुंगाले छाएका, कौसीसहितका तीनतले आकर्षक घर अहिले जीर्ण अवस्थामा रहेका छन्। गौश्वारा गाउँमा अहिलेसम्म पनि रहेका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुई घरमा मात्रै बसोबास रहेको छ भने तीन घर जीर्ण अवस्थामा छन्।

ऐतिहासिक महत्व र राणाकालीन विरासतले युक्त घरहरूको मर्मत र संरक्षण आवश्यक देखिएको छ। यस्ता पुरानो कला  र सामाग्रीहरूले निर्माण गरिएका घरहरू जिल्लामा अत्यन्त थोरै रहेका र यी घरहरूले भावी पुस्तालाई आफ्ना पूर्वजहरूको वास्तविकता र तत्कालीन समयको कला,संस्कृति र आवासीय पद्यतिलाई पनि बुझाउन सहयोग पुग्ने कला संस्कृतिका अभियन्ता प्रकाश श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.