राणाले शिक्षामा व्यापार गरेको आरोप खेपेका थिए

|

काठमाडौं : तत्कालीन प्रधानमन्त्री जंगबहादुर कुँवर (राणा) बेलायत भ्रमणमा गएका वेला त्यहाँको विकास देखेर चकित परेका थिए । 

नेपाल फर्किनासाथ उनले दरबार स्कुल स्थापना गरे। बेलायतमा हरेक दिन झोला बोकेर पढ्न हिँडेका बालबालिका देखेर प्रभावित बनेका थिए कि सायद! 

नेपालमा पहिलो पटक अंग्रेजी (आधुनिक) शिक्षाको जग स्थापाना हुनुमा जंगबहादुरको त्यही बेलायत भ्रमण कारक मानिन्छ।

उनले आफ्ना भाइभारदारका सन्ततिलाई साक्षर बनाउन चाहे। तर, नेपालमा दक्ष शिक्षक थिएनन्।  विदेशी शिक्षक भित्र्याए। अनि स्थापना गरे, थापाथली दरबारको दाखचोकमा १९१० साल असोज २७ गते दरबार स्कुल।

देशकै पहिलो शैक्षिक संस्था हो, दरबार स्कुल । कतिपयले गुरुकुल परम्पराअनुसार प्रदान हुँदै आएको संस्कृत शिक्षाको घाँटी निमोठ्ने अंग्रेजको योजनालाई जंगबहादुरलाई स्कुल खोलेर सफल बनाइदिएको तर्क गर्छन्। जंगबहादुरले अंग्रेज शिक्षकको सल्लाहमा शिक्षा विभाग खडा गरेका थिए।

त्यसको तालुकवाला अर्थात् पहिलो ‘डाइरेक्टर’का रूपमा लेफ्टिनेन्ट जनरल बबरजंगलाई बनाए। तर उनको क्षयरोगका कारण १९३२ सालमा उनको मृत्यु भयो। त्यसपछि शिक्षा विभागभाइ धीरशमशेरको जिम्मेवारीमा गयो। 

अंग्रेजी भाषा सिकाउन एक अंग्रेजी शिक्षक बेलायतबाट झिकाइयो। जेम्स क्यानिङ (निजामती थमौतीमा केनियन लेखिएको) नाम गरेका उनी स्कुलको पहिलो प्रिन्सिपल थिए।  

 मासिक तलब १० रुपैयाँदेखि ९० रुपैयाँसम्म

१९१२ सालको निजामती थमौती (कर्मचारीको वैयक्तिक विवरण) मा ‘देसी अंग्रेजी फार्सी चिनिञा पढाउन्या बाजा नाच गाउन सिकाउन्या’ शीर्षकमा १९१० सालमा हराधुम घोसलाई मासिक ९० रुपैयाँँका दरले वार्षिक एक हजार ८० रुपैयाँ पारिश्रमिक तोकिएको उल्लेख छ। उनीलाई अंग्रेजी पढाउने बंगाली भनिएको छ।

१९१० साल पुस ८ मा उनको नियुक्ति भएको थियो। चिनिया भाषा सिकाउने शिक्षक ब्यायराम घोसलाई वार्षिक ८४० रुपैयाँ दिएर राखिएको थियो। १९११ सालबाट रामचन्द्र घोस र अछेकुमार बनर्जी थपिएका थिए।

राचन्द्रले मासिक ६० रुपैयाँ,अछेकुमारले मासिक ५० रुपैयाँ दरले पारिश्रमिक तोकिएको थियो। फारसी पढाउन मौलवी मुहम्मद नियुक्त भएका थिए। उनले पढाए बापत वार्षिक ६ सय रुपैयाँ पाउँथे। त्यस बखत भारतसँगको पत्राचारका लागि यो भाषाको आवश्यक पर्थ्यो। 

थापाथली दरबारमा छात्रहरूलाई सिकाउने वंशीधर गोसाहीलाई मासिक १० रुपैयाँका दरले वार्षिक १२० रुपैयाँ पारिश्रमिक दिइएको थियो। १९१५ सालमा कालिकादास बनारसले पनि वार्षिक २० रुपैयाँ पारिश्रमिक लगायत अन्य शिक्षकले अन्य विभिन्न शुल्क बुझेको देखिन्छ। 

१९३७ सालमा दरबार स्कुलमा हेडमाष्टर केदारनाथ चट्टोपाध्याय (पारिश्रमिक वार्षिक २४००), मास्टर ऐहिकचन्द्र चक्रवर्ती (पारिश्रमिक वार्षिक १०२०), हेमचन्द्र भट्टाचार्य (पारिश्रमिक वार्षिक ८४०) थिए।

त्यस्तै, सेन्ट मास्टर शिवप्रसाद (पारिश्रमिक वार्षिक एक हजार २६०),माष्टर अमृतलाल (पारिश्रमिक वार्षिक ७२०),पण्डित हरिज्यू (पारिश्रमिक वार्षिक ३००),जोगे दत्त (पारिश्रमिक वार्षिक ३००) र अग्निदत्त पन्थ (पारिश्रमिक वार्षिक ४२०) थिए।  निजामती थमौतीमा १९५२ सालदेखि स्कुले विद्यार्थीले बदमासी गरेमा थुनेर पढाउने व्यवस्था गरिएको थियो। 

भारतीयहरू नेपालका सबै प्रधानमन्त्रीलाई ‘जंगबहादुर’ भन्थे

स्कुल स्थापनापछि जंगबहादुरले शिक्षालाई राष्ट्रिय चासोका रूपमा लिन्थे। त्यसैले उनी प्रत्येक वर्ष दरबार स्कुल निरीक्षण गर्न जान्थे। अति जेहेन्दार विद्यार्थीलाई पुरस्कार दिन्थे। साना कक्षाका केटाकेटीलाई ‘भविष्यका राष्ट्रिय गौरव’ भन्दै प्रोत्साहन दिन्थे।

वि.स १९३३ मा उनको मृत्यु भयो। उनको देहान्तपछि भारतीय नेपालका सबै प्रधानमन्त्रीहरूलाई ‘जंगबहादुर’भन्थे। भारत स्वतन्त्र नहुञ्जेलसम्म ‘अब नेपालमे जंगबहादुर कौन है?’ भनेर सोध्ने गरेका थिए। 

...त्यसपछि सर्वसाधारणले पढ्न पाए स्कुलमा 

स्कुल दरबारभित्रको चार घेराभित्र रहेकाले सर्वसाधारणको पहुँच थिएन। राणा परिवारले मात्रै अध्ययन गर्न पाउँथे। स्कुलमा भर्ना हुन त्यति सजिलो थिएन। राणा शासकहरूको चाकरी गरी डिठ्ठा,खरदार, सुब्बा, सरदार, लप्टन, कप्तान, मेजर, कर्णेल र साहु आदिका सन्तान मात्र पढ्न पाउँथे। 

दरबार स्कुलमा प्रवेश पाउन बिन्तीपत्र हाल्नुपर्थ्यो। यो स्कुल बेलायतीहरूका लागि व्यापार चलाइदिएको आरोप पनि जंगबहादुरले खेपेका थिए।

स्कुल राणाका निजी आवासगृह थापाथली दरबार(दाखचोक)मा स्थापना भएको थियो।  उनका जेठा छोरा भीमजंग कुँवर(राणा) पनि दरबार स्कुलमा भर्ना भएका विद्यार्थीमध्ये एक थिए।

केही समयपछि उक्त स्कुल थापाथलीबाट हाल निर्वाचन आयोग रहेको बहादुर भवन,धीरशमशेरको निवास (तल्लो नारायणहिटी), नारायणहिटी दरबारभित्रको चोक बैठक,सेतोदरबारको ढोका नजिकैको टहरा हुँदै अहिले रानीपोखरीको पश्चिमतर्फको भवनमा सरेको थियो। वीरशमशेरले हाल रहेको स्थानमा १९४८ सालमा भवन निर्माण गर्न लगाई सारेका हुन्।  

त्यसपछि यो पब्लिक स्कुल बन्यो। १९५७ सालमा स्कुलमा सर्वसाधारणका सन्तान पनि पढ्न पाउने व्यवस्था गरिएको हो। 

भूकम्पपछि बौरिएको स्कुल 

२०७२ वैशाख १२ गतेको भूकम्पले दरबार हाइस्कुलमा क्षति पुग्यो। भवन भत्किनुअघि दरबार हाइस्कुलमा भानु र संस्कृत मावि सञ्चालन हुन्थ्यो। भवन भत्किएपछि प्रदर्शनीमार्ग वाल्मीकी विद्यापीठ परिसरमा टहरो बनाएर पठन–पाठनको व्यवस्था मिलाइएको थियो। अहिले भने चीनले पुरानै स्वरूप देखिनेगरी अत्याधुनिक नयाँ भवन बनाइसकेको छ। 

२०७५ साउनबाट पुनर्निर्माणको लागि काम थालेको चीनले भवन पुरानै स्वरूपमा बनाए पनि भित्री भाग अत्याधुनिक बनाइदिएको छ। 

भर्ना हुने विद्यार्थीहरूको चाप बढ्दो छ। हाइस्कुलको नयाँ भवनभित्र (भानु मावि दरबार हाइस्कुल र रानीपोखरी संस्कृत मावि) गरी  दुईवटा स्कुल सञ्चालित छन्। संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले यस वर्ष दुई विद्यालयको करिब ११ सय विद्यार्थी अध्ययन गरिरहेको बताउँछन्।

उनी भन्छन्,‘अब कक्षा ११ को लागि पनि भर्ना प्रकृया भइरहेको छ,यो संख्या अझै बढ्छ।’ पहुँचवाला मात्र नभई अहिले सबै वर्गका अभिभावकहरूले सहजै ढंगले छोराछोरी पढाउन पाएको र पाउने उनी स्पष्ट पार्छन्। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले सरकारी तथा निजी विद्यालयको सुधार, व्यवस्थापन र अनुगमन गर्ने जिम्मा पाएसँगै अहिले यो स्कुल काठमाडौं महानगरपालिकाको अधीनमा रहेको छ। 

वरिष्ठ शिक्षा पत्रकार प्रकृति अधिकारीद्वारा लिखित पुस्तक ‘राणाकालीन शिक्षा’ को सहयोगबाट तयार पारिएको सामग्री। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.