|

बागलुङ : बागलुङ बरेङका अर्जुन पौडेल राहदानी लिनका लागि जिल्ला प्रशासनका कार्यालय आउन लागेको पाँच दिन भयो। पाँच दिन बितिसक्दा पनि उनले राहदानी हात पार्न सकेका छैनन्।

राहदानी फाँटमा काम गर्ने कर्मचारीले केही छिनमा हुन्छ भन्न थालेको पाँच दिन बितिसक्दा पनि काम नबनेपछि अर्जुन निरास देखिन्थे। पाँच दिन बागलुङमा बस्दा खर्चसमेत व्यवस्थापन गर्नुपरेको उनले बताए।

‘काम छिटै बन्ला भनेर पैसा पनि थोरै ल्याएको थिएँ, यतिका दिन बसियो, काम बनेको छैन, अझै कति दिन लाग्ने हो ?’, खर्च व्यवस्थापन गर्न पो समस्या भयो, पौडेलले भने, ‘१, २ दिन काम हुन्न पछि आऊ भनेर बोलाएको भए म अस्ति घर जान्थेँ, अहिलेसम्म लाइन बसियो एकजनाको पनि काम भएको छैन। पालो कहिले आउने हो ?’

राहदानी बनाउनकै लागि अमलाचौरदेखि आएका दीपक नेपालीको समस्या पनि अर्जुनकै जस्तै छ। उनी पनि बुधबार नै जिल्ला प्रशासनमा आए। अहिलेसम्म काम नबन्दा दिनदिनै खर्च बढिरहेको उनले बताए। उनले कर्मचारीले काम बन्छ भनेर आफू साँझसम्मै लाइनमा बस्ने गरेको तर साँझसम्म पनि काम नहुने गरेको गुनासो गरे।

‘बुधबार नै अझै केही समय काम हुँदैन भनेको भए त म घरमै जान्थेँ नि, बन्छ बन्छ भन्छ तर काम बन्दैन, यतिका दिन भयो, बजारमा बसेको खर्च मात्रै बढिरहेको छ, काम भएको छैन’, नेपालीले भने ‘आज घर जाऔँ भने भोलि काम बन्ने हो कि निकै दोधारमा परियो, कहिले बन्ने हो भन्ने कर्मचारीलाई नै थाहा रैनछ।’

अर्जुन र दीपक जस्ता थुप्रै सेवाग्राहीको जिल्ला प्रशासन कार्यालयमा भीड छ। बिहान साढे ९ बजेदेखि नै लाइनमा बसेका सेवाग्राही साँझ पाँच बजेसम्म लाइनमै हुन्छन् तर काम भने हुँदैन। गाउँगाउँदेखि आएका सेवाग्राहीले निकै समस्या भोग्नुपरेको सेवाग्राही खिमलाल सापकोटाले बताए। उनले राहदानी बनाउनका लागि ऋण खोजेर आएकाहरू झन् समस्यामा परेको बताउँछन्।

‘यहाँ धेरै जस्तो सेवाग्राही गाउँगाउँबाट आएका छन्, बर्खामासको बाटो यही कामका लागि भनेर आएकाहरू धेरै दिनदेखि लाइनमा मात्रै बसेका छौँ, काम बन्दैन’, उनले भने, ‘प्रशासनले अहिले काम बन्दैन, सम्पर्क गरेर आउन भनेको भए यस्तो घाममा यसरी दुःख गरेर लाइनमा बस्नु पर्दैनथ्यो। यति धेरै मान्छेले एउटा समस्याका कारण दुख पाउनु परेको छ।’

राहदानी शाखामा कार्यरत कर्मचारी तेजराज गौतमले शुक्रबारदेखि सर्भर नचल्दा राहदानी वितरणमा समस्या भएको बताए। उनले सर्भर नचल्दा सेवाग्राही मर्कामा परेको बताउँछन्। ‘शुक्रबारदेखि सर्भर चलेको छैन, कति वेला चल्ने हो, हामीलाई पनि थाहा हुँदैन, सेवाग्राहीले समस्या भोग्नु पर्‍यो, सर्भर चले त काम बन्ने थियो।’

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बागलुङमा मात्रै नभएर अन्य जिल्लामा पनि सर्भर नचलेको भन्दै कतिवेला चल्छ भन्ने निश्चित नभएको बताए। उनले सर्भर नचल्दा राहदानी वितरणमा समस्या भएको हुँदा सेवाग्राहीले समस्या भोग्नु परेको बताउँछन्।

‘सर्भर नचल्नु यहाँको मात्रै समस्या होइन, यस्तो समस्या अन्य जिल्लामा पनि भएको रहेछ, सर्भरले काम नगर्दा राहदानी सम्बन्धी काम गर्न समस्या भएको छ। त्यसले गर्दा सेवाग्राहीले समस्या भोग्नु परेको छ’, प्रजिअ ढकालले भने, ‘सर्भर कति बेला कतिबेला चल्छ भन्ने निश्चित छैन।’

सर्भर नचलेपछि जिल्ला प्रशासनका कार्यालयले राहदानीसम्बन्धी सेवा दुई दिन बन्द भएको सूचना जारी गरेको छ। जारी सूचनामा प्रशासनबाट विद्युतीय राहदानी वितरण गर्दै आएकोमा राहदानी विभागबाटै वितरण प्रणालीमा समस्या आएको हुँदा समस्या समाधानका लागि निरन्तर कार्य भइरहेको र मंगलबारदेखि मात्रै राहदानी लिन आउन सेवाग्राहीलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.