|

बैतडी : दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ।

आयोजक पाटन क्रिकेट क्लबले आइतबार बैतडीको पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १ देखि दोस्रो पिपिएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने जानकारी गराएको हो।

प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो हुनेले पुरस्कारबापत ५५ हजार ५ सय ५५ नगदसहित प्रमाणपत्र पाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एकजना खेलाडीलाई म्यान अफ द सिरिज पुरस्कारस्वरुप ११ हजार १११ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए।

बेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई जनही ५ हजार ५५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। उदीयमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

देशभरका जुनसुकै टोलीले पनि सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा सहभागिता जनाउन भाद्र ३० गतेसम्म टिम दर्ता गर्नुपर्नेछ। टिम दर्ताका लागि शुल्क ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ।

पाटन नगरपालिका-६ मा रहेको कृष्ण माविको खेलमैदानमा हुने राउण्ड रोबिनका आधारमा खेलाइने लिग चरणका खेल १५ ओभरका हुनेछन् भने क्वार्टरफाइनलपछिका खेलहरू २० ओभरमा खेलाइने जनाइएको छ। प्रतियोगिता आयोजनामा  बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.