|

काठमाडौं : बार्सिलोनाले मेक्सिकन क्लब पुमास युनाममाथि ६-० को प्रभावसाली जित निकालेको छ। जितसँगै बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि हात पार्‍यो।​

युनाममाथि प्रभावसालि जित निकाल्ने क्रममा बार्सिलोनाका लागि पेड्रीले दुई गोल गर्दा रोबर्ट लेवान्डोस्की, औसमाने डेम्वेले, पिएरे एमरिक औवामियाङ र फ्रान्की डि जोङले समान एक-एक गोल गरे। गोलको वर्षा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थपेको थियो।

बार्सिलोनालाई अग्रता दिलाउने क्रममा खेलको तेस्रो मिनेटमानै लेवान्डोस्कीले गोल गरेका थिए। पाँचौ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पार्दा १०औं मिनेटमा डेम्वेलेले गोल गर्दै खेल सुरु भएको छोटो समयमानै बार्सिलोनालाई ३-० को जित दिलाए। बार्सिलोनाले १९औं मिनेटमा पेड्रीको व्यक्तिगत दोस्रो गोल मार्फत खेलमा ४-० को प्रभावसालि अग्रता लिएको थियो।

दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गरेको थियो। ४९औं मिनेटमा सब्सटिच्युट खेलाडी औवामियाङले पाँचौं गोल गर्दा छैटौं गोल ८४औं मिनेटमा फ्रान्की डि जोङले गरे।

बार्सिलोनाले नयाँ सिजन अघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ। हालसम्म ५७ पटक यो कपको आयोजना हुदा बार्सिलोनाले सर्वाधिक ४५ पटक उपाधि जितेको छ। गत वर्ष बार्सिलोनाले युभेन्ट्सलाई हराएर उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.