|

काठमाडौं :  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन ८ मा पर्यटन पुनरुत्थानका लागि कार्ययोजना सार्वजनिक गर्‍यो। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र सुधारका लागि भन्दै ७३ बुँदे  पर्यटन पुनरुत्थान कार्ययोजना सर्वजनिक गरेको हो। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठले सम्हालेसँगै पहिलो कार्यक्रमको रूपमा सो योजना सार्वजनिक गरेका हुन्। तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणको योजना अगाडि बढाएका उनले काठमाडौं उपत्यकामा सम्पदा मार्ग निर्माण, र आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धनका लागि जोड दिएका छन्।

त्यसैगरी सगरमाथा आधार शिविरको ऐतिहासिकता,वर्तमान अवस्था र भविष्यको जोखिममा सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन हुने भएको छ। समितिको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने भएको छ। 

सबैभन्दा महत्त्वपूर्ण पक्ष सन् २०२३ देखि २०३३ सम्मलाई पर्यटन दशक घोषणा गर्ने मन्त्री श्रेष्ठको योजना छ। 

मन्त्रालयका समस्या बुझ्नुअघि नै मन्त्री श्रेष्ठले १० वर्षे कार्यक्रम घोषणा गरे। छोटो समयका लागि मन्त्रालयका जिम्मेवारी सम्हालेका मन्त्रीहरुले होडबाजीमा नयाँ नयाँ योजना सार्वजनिक गर्दा ती योजना अधुरो हुने जानकार बताउँछन्।

सरकारले नेपालको पर्यटन क्षेत्रलाई विश्वको पर्यटन बजारमा पुर्‍याउन सहयोग गर्ने नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए। सरकारको योजनाले सफलता पाउने उनको भनाइ छ।

नेपाल भ्रमण वर्ष : कतिको उपलब्धिमूलक? 

नेपालमा हालसम्म चार पटक नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको छ। तर उद्देश्यअनुसार सफलता प्राप्त भएको छैन।

सन् १९९८ मा नेपाल सरकार (तत्कालीन श्री ५ को सरकार)ले नेपाल भ्रमण वर्ष (भिजिट नेपाल– १९९८) आयोजना गरेको थियो। निकै तामझामका साथ कार्यक्रम गरिएको थियो। नेपालमा हिंसात्मक द्वन्द्व चलिरहेको समयमा उक्त कार्यक्रम अपेक्षा अनुरूप सफल नभएको बताइन्छ। तर नेपाल भ्रमण वर्षका व्यवस्थापनको जिम्मेवारी पाएका पर्यटन व्यवसायी कर्ण शाक्य पहिलो भ्रमण वर्ष सफल भएको दाबी गर्छन्।

सरकारले संरचना तयार गरेर मात्र पर्यटन वर्ष घोषणा गरेको खण्डमा सफल हुने उनको भनाइ छ। ‘पर्यटन वर्ष घोषणा गर्नु नराम्रो होइन। तर व्यवस्थापनमा ध्यान दिनुपर्छ’, शाक्य भन्छन्, ‘नेपालमा पर्यटक भित्र्याउन धेरै आधार छन्, तिनलाई चलायमान बनाउन जरुरी छ।’ 

सन् २०११ लाई  नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। १० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्य राखिए पनि भ्रमण वर्षमा करिब सात लाख मात्र पर्यटक नेपाल आएको सरकारको तथ्यांक छ। 

सन् २०१९ मा इतिहासकै सबैभन्दा धेरै पर्यटक भित्रिएका थिए। सो वर्ष कुल ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएको तथ्यांक छ। यो संख्याबाट उत्साहित भएर सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित  पर्यटन वर्ष घोषणा गर्‍यो। भ्रमण वर्ष सुरु हुँदै गर्दा २०१९ को अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणले विश्वका अधिकांश मुलुकलाई जस्तै नेपाललाई पनि नराम्ररी असर गर्‍यो।  महामारीका कारण भ्रमण वर्ष बिचैमा स्थगन गर्नुपर्‍यो। सो वर्ष मुस्किलले दुई लाख ३० हजार ८५ जना पर्यटक मात्रै नेपाल भित्रिए।

कोरोना संक्रमण अर्थात् कोभिड–१९  ले नेपालको पर्यटन क्षेत्रलाई ध्वस्त पार्‍यो। सन् २०२० को अन्तसम्म आइपुग्दा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भयो। वर्षको कुल पर्यटक आगमन संख्या पछिल्लो ३४ वर्ष यताकै सबैभन्दा कम थियो।  सो वर्ष पर्यटन क्षेत्रमा पछिल्लो साढे तीन दशकयताकै खराब अवस्था देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। 

हालै सरकारले सार्वजनिक गरेको नेपाल भ्रमण दशक (सन्२०२३–२०३३) यस अघि जस्तो विपद्को सामना गर्न नपरेको अवस्थामा सफल हुने नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछाने बताउँछन्।

चर्चा कमाउन घोषणा नहोस् :  पूर्व सीईओ जोशी

यसअघिका कुनै पनि भ्रमण वर्षले उद्देश्य पूरा गर्न नसकेका कारण भ्रमण दशक पनि सफल हुनेमा शंका देखिएको छ। पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी भ्रमण दशकलाई सकारात्मक नै मान्छन्। ‘तर छोटो समयका लागि आएका मन्त्रीले अध्ययन नै नगरी भ्रमण दशक घोषणा गर्नु उचित होइन’, उनी भन्छन्,‘सबैभन्दा ठूलो काम मैले गरेँ भन्नका लागि घोषणा भएको हो भने यो गलत छ।’

भ्रमण दशक नै सञ्चालन गर्ने हो भने संरचना निर्माण र निश्चित कार्यविधि  बनाएर अगाडि बढाउनुपर्ने सरोकारवाला बताउँछन्। चुनावको मिति घोषणा भइसकेको सन्दर्भमा मन्त्री बाहिरिँदा योजना अलपत्र पर्न नहुने उनीहरूको भनाइ छ।

‘काम गर्ने उद्देश्यले योजना सार्वजनिक गरे सफल हुन्छ’ जाेशीले भने,‘यदि घोषणाका लागि घोषणा गरेको हो भने सफल हुने अवस्था छैन।’

छोटो अवधि, धेरै योजना 

पर्यटन मन्त्रीहरूको समयावधि निकै छोटो हुने गरेको छ। ६ महिना तोकेर मन्त्री बनाउने प्रवृत्ति नै छ। यसअघिका मन्त्री प्रेमबहादुर आलेले पनि पर्यटन सुधारका लागि काम गर्ने योजना बाँड्न भ्याए। बरु अनावश्यक काम गरेर चर्चामा आए, काम भने गर्न सकेनन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हाल्न आउने अधिकांशमा आफ्नो काम र जिम्मेवारीबारे पूर्ण ज्ञान हुँदैन। हरेक निकायले नयाँ मन्त्रीलाई शून्यबाट बुझाउनुपर्छ। नेपाल पर्यटन बोर्डका एक उच्च अधिकारीले भने,‘मन्त्रीलाई मन्त्रालयको विषयमा जानकारी दिँदादिँदै समय सकिन्छ।’ अनि काम कसरी हुन्छ? 

अस्थिर राजनीतिको असर

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले नेपालको मात्र नभई विश्वको पर्यटन क्षेत्र ध्वस्त भयो।  विस्तारै लयमा फर्किँदै गरेको पर्यटन क्षेत्रमा  सुधारको संकेत देखिएको छ। सुधारतर्फ लागेको पर्यटन क्षेत्रका समस्या केलाएर समाधान गर्ने भन्दा पनि लोकप्रियताका लागि नयाँ योजना ल्याउने हाेड चलेको छ। हरेक मन्त्रीले नयाँ  नयाँ योजना ल्याउने र काम नगर्दा समस्या देखिएको पर्यटन व्यवसायी बताउँछन्। 

पर्यटन क्षेत्रको विकासका लागि राजनीतिक स्थिरता हुन जरुरी छ। तर  नेपालमा ६\६ महिनामा मन्त्री फेरिने र तिनले दीर्घकालीन योजना बनाउने प्रवृत्ति छ। अघिल्ला मन्त्रीले ल्याएका योजनामा अर्का मन्त्रीले काम नगर्ने कारण पनि पर्यटन क्षेत्रले फड्को मार्न नसकेको  सरोकारवाला बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.