|

इलाम : राष्ट्रिय जनमुक्ति पार्टीले २०६६ सालदेखि हरेक वर्ष साउन २२ गतेलाई कालो दिन भन्दै एकदिने लिम्बुवान बन्द गर्दै आएको छ। ०६६ मा राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान राज्य परिषदले साउन २२ गतेलाई पहिलोपल्ट ‘कालो दिन’ भनेर घोषणा गर्‍यो।

त्यही कालो दिन मनाउने क्रममा उसले (हिजो) आइतबार पनि  अरुणपूर्वका ९ जिल्ला बन्द गरायो। बन्दको आंशिक प्रभाव पर्‍यो।

जनमुक्ति पार्टीले लगातार सांकेतिक रुपमा बन्दको आहवान गर्दै आएको छ। तत्कालीन अरुण–सप्तकोशी पूर्वको लिम्बुवान वि.सं. १८३१ साउन २२ गते गोर्खाली राजा पृथ्वीनारायण शाहसँग ‘नून–पानी’ सन्धि गर्दै नेपालमा गाभिएको थियो। त्यसअघि लिम्बुवान कहिले उपनिवेश त कहिले स्वतन्त्र, सार्वभौम देशको रुपमा रहँदै आएको थियो।

जनमुक्तिले १८३१ साल साउन २२ गते गोरखा राज्यले छलकपटपूर्ण सन्धिमार्फत् लिम्बुवानको सार्वभौम सत्ता हरण गरेकाले त्यही दिनदेखि लिम्बुवान स्वायत्तता निर्माणको लागि आन्दोलन र विद्रोह गर्दै आएको जनाएको छ।

१८३१ साउन २२ गतेदेखि २०२१ कात्तिक ९ गतेसम्म लिम्बुवान स्वायत्त रहेको थियो भन्ने तर्क भ्रममात्र रहेको जनाएको छ।  लिम्वुवानको इतिहास प्राचिनकालबाट सुरु हुँदै आएको थियो। लिम्बुवान किराँत सभ्यतामा किराँत भूमिको राजनीतिक क्रान्तिले जन्माएको नाम हो।

आजको लिम्बुवान भूमिलाई पहिले फेदाप भनिन्थ्यो। इतिहासकार इमानसिंह चेम्जोङ्गको अनुसार छैटौ शताव्दीमा तत्कालिन आठ राजाहरुसंग विशाल आन्दोलन अर्थात युद्ध पश्चात लिम्वुवान स्थापना भएको हो।

युद्धपश्चात् मुलुकको नाम के राख्ने भन्ने विषयमा व्यापक छलफलपश्चात त्यो देशलाई धनुवाणको सहायताले जितेको हुनाले पुरानो नाम याक्थुङ लाजे फेदापको नयाँ नाम लिम्बुवान (लि– धनु, आबु–हान्ने, वान्– नाउँ लाउनु, अर्थात् लिम्बु भाषामा धनुवाणले जितिएको देश लिम्बुवान ) राखे। लिम्वुवान स्थापना पश्चात पछि दश सरदारहरुको नेतृत्वमा उनीहरुले ओगेटेको भूमिलाई १० भागमा विभाजन गरी संघीय गणतान्त्रिक पद्धती अनुरुप राज्य गरेका थिए।

यो दश लिम्बुवानमा शासन व्यवस्था सुव्यस्थित र लोकतान्त्रिक होस भनेर समयक्रममा (१) यासोक (२) संखुवा (३) सभाया (४) जल्लारा (५) मझिया (६) खपन (७) माईवा भनेर सात थुममा छुट्याइएको थियो। दश राजाहरुले लिम्वुवान भित्र राज्य गर्न एक नियम वनाएका थिए। यसलाई ‘दश लिम्वुवान’ अर्थात ‘सत्र थुम दश लिम्वुवानको नीति भनिन्थ्यो। अहिले पनि लिम्वुवानमा यो शब्द चलनचल्तीमा छ। यो भनेको हाल ‘नेपालको प्रचलित कानुन बमोजिम’ भनेझैं हो।

यसरी लिम्वुवान स्थापना यो भूमि मध्ये सन् १८१६ मा भएको सुगौली सन्धीले दक्षिणको जोगवनी देखि जलालगढसम्मको ६२ कि.मि. र दार्जिलिङ कालिङपोङ क्षेत्र भारतमा पर्न गयो भने सिंहलीला पहाड पूर्व टिष्टा सम्मको भूभाग व्रिटिश इण्डियाले सिक्किमलाई दिएकोले उक्त भूमि सिक्किममा पर्न गयो। तत् पश्चात लिम्वुवानको सिमा वर्तमान नेपालको सिमामा खुम्चिन पुग्यो।

यो सुगौली सन्धि लिम्वुवान स्वतन्त्र राज्यसंग नभै वि.सं. १८३१ को लालमोहर सन्धि पश्चातको नेपालसंग भएको थियो। लिम्वुवान भुमि संघीय लोकतान्त्रिक पद्धती अनुरुप सञ्चालन हुने क्रममा सोह्रौं शताव्दीतिर मोरङ राज्यमा लिम्वु साक्वादेन (सावदेन) वंशीय साङलाईङ भन्ने राजा थिए। उनी इतिहास अनुसार कुदुङजापाको दरसन्तान थिए।

उनले मोरङ राज्यलाई सुदृढ गरे। उनको सन्तती विजयनारायणले मोरङको उत्तरी क्षेत्रको पहाडको समथल डांडामा दरवार वनाएर राज्य   गरे। त्यो दरवार क्षेत्रलाई पछाडि उनकै नामवाट विजयपुर भनियो। जुन अहिले सुनसरी जिल्लाको धरान नगरपालिकामा पर्दछ।

सन् १६०९ तिर विजयपुरमा लोहाङसेन भन्ने राजा भए। त्यस्तै वाजाहाङ, विद्याचन्द्र लिम्वुहरु पनि राजा भए। वि.सं. १८२५ तिर वुद्धिकर्ण राय लिम्वु राजा भए। उक्त समयान्तरमा अथिङहाङ लिम्वु पनि राजा भए। विजयपुर दरवारलाई भताभुङगे राजाको लथालिङगे दरवार भनेर पनि नेपालको इतिहासमा भनिएको पाईन्छ।

तत्कालिन सिमा अनुसार पूर्वमा टिष्टा नदी र (हाल सिक्किम) पश्चिममा सिस्वा संखुवा अरुण हुदै सप्तकोशी, उत्तरमा तिब्वत र दक्षिण जलालगढ पर्दथ्यो। एक समयमा लिम्वुवानलाई फेदाप पनि भनिन्थ्यो र यो तराइको ठूलो भाग पर्दथ्यो।

अर्थात् हालको झापा, मोरङ, सुनसरी तथा सप्तरी, सिराह, धनुषा पर्दथ्यो। त्यस्तै तिव्वतीहरुले लिम्वुहरुलाई चोङ भनेर सम्वोधन गर्ने चलन छ। वि.सं. १८३१ तिर लिम्वुवानको पश्चिमी क्षेत्रवाट गोर्खा राज्य शक्तिमा उदाई राज्य विस्तार गर्दै पूर्व लिम्वुवानसम्म आईपुग्यो।

लिम्वुवान युद्धको कथा र किपट अन्त्य

वि.सं. १८२९ को साउन महिनामा गोरखाका राजा पृथ्वीनारायण शाहले किरात राज्यहरूको विरुद्ध आक्रमण गर्ने योजना बनाए। वि.सं.१८२९ मा वल्लो किरात र माझ किरात (खम्बुवान) लाई फत्ते गरे। वि.सं. १८३० मा गोर्खाली सेनाले लिम्बुवान माथि हमला ग¥यो। यस युद्धमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरूको ज्यान गयो।

वि.सं. १८३१ बैसाख २५ गते गोर्खाली सेनापति रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो। वीरताका साथ लडिरहेको काङसोरेको षडयन्त्रपूर्वक हत्या गरिएको इतिहास पाइन्छ।  यसरी १७ पटकको युद्धमा पटकै पिच्छे गोर्खा लिम्वुवानसंग पराजित भयो।

तसर्थ गोर्खाले मगर सैनिक कमाण्डरहरुलाई अगाडि बढाउदै लैजाँदा वंशावलीअनुसार मगर र लिम्वुहरु इतिहासमा दाजुभाई भएको पाइयो। यसरी दाजुभाई भएको पाउँदा यही जाल फालेर गोर्खाले लिम्वूवानका शासक लिम्बूहरुलाई दाजुभाईको सम्वन्ध गांसी गोर्खाको सहराज्यमा रहन सहमती गराई वि.सं. १८३१ श्रावण २२ मा लालमोहर सम्झौता गरेको महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्राध्यापक मोहनसिंह थेवे बताउँछन्। त्यहाँदेखि लिम्वुवान गोर्खा – नेपालको सहराज्य भयो।

लालमोहरमा यस्तो लेखिएको छ

स्वस्ति श्री गिरीराज चंक्रचुडामुनि नर नरयेनी त्यादि विविध विरुदावली विराजमान मंमत्त श्री मंमाहाराजधिराज श्री श्री श्री माहाराज्ये पृथ्वीणारायेनी साहा बाहादुर श्यामसेरजंङ्ग देवानाम समर विजयेनाम। स्वास्ति श्री आगे राजभोरको सामर्थ श्री श्री सुंन राई, श्री कुंम राई, श्री जंङ राई अरु सबै गैह्रा लिम्वु राईके पूर्ण मोहरका पत्रम येथोचित उप्रान्त मिल मिलंमतंम ञाहाको लागि ताहालाई कुल चाहियो मेरो धर्म मंन भलो छ तिमीहरु हिजु पनि पिछा बक्स्येका हौं।

तिम्रा मुलुक हाम्रा प्रतापले तिमी तुंतु तुंम्याहां यांहां संन्तान हयौ। त्यो मुलुक हाम्रो भया तापनि तिमीहरु हाम्रै छौ। तिंम्रा जहाणको पिछा हामीले लिञ्यूं जजस्को ज्येज्ये तंम्रा खैन पैन र लुंबांगढ सिंबांगढ असुधलाई सब खतवात सभासुध गरी खानामा हिजुको तिम्रा मुलुकभित्रको सबै थामी बक्सौ। तिमीहरु हांम्रा भारदारसंग सामेल रहौ र मद्दत सघाइ हिजु आपै आप आपुंगी बसी आये बमोजिम त्यो मुलुक संभार गरी जिमी भूमि रहंज्याल तिंम्रा शाखा संन्तांनतंक्क भोग गर अरु नौलाख र येकपटि हौना क्ये अर्थले भने अरु राजा मासिने हुदा तिमीहरु राजा नै भन्ये नमासिने हौ यो तिमीहरुको नीति हामीले जानेको छ तर कुराको विस्तार तिंम्रा नाभीमा बसेकोले तिंनले गर्यो सुख्मिंको र हाम्रो घर नभयाको हो हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गयेको छ।

उनैबाट कुराको विस्तार बुझाउला मिली तिमीहरुको आपै आप आपुंगी खैन पैन माथि लेखेबमोजिम जिमीं भूमि जानी चलंन गरी खानु हामीले खोसी मांस्ये मानी पूजी ल्यायेको देवताले हाम्रो राजकाज भंङ नासोस् भन्या ताम्व्रा पत्र वाचाको तसलि मुलुकि लालमोहर वाधी माथि लेखिन्ये लिम्वु कुल भाइलाई दिञ्यूं इति सम्वत १८३१ साल मिति श्रावण सुदि २२ रोज २ वार मुकांम कान्तिपुर राजधनी सुभये स्वम

यो लालमोहरमा सम्झौता गर्ने प्रतिनिधिहरु गोर्खाको तर्फवाट अभिमानसिंह वस्नेत, पारथ भण्डारी, किर्ती सिं खवास र वली बानिया थिए र लिम्वुवानको तर्फवाट श्री श्री सुन राई, कुम राई र श्रीजंग राई थिए। यी राई लेखिनेहरु सवै लिम्वु थिए। राजाको समानार्थी राई भन्ने प्रचलन भएकोले राई उल्लेख गरिएको थियो।

वि.सं.१८३३ मा मोरङका राजा (राई) र बिजयपुरका देवान (सुब्बा) बुद्धिकर्ण राई खेवाङको हत्या भयो। बुद्धिकर्ण लिम्बुवानको अन्तिम लिम्बु राजा (राई) हुन। नेपाल र अंग्रेज विच सुगौली सन्धि पश्चात लिम्बु तथा लेप्चा बसी आएको भू–भाग तीन भागमा विभाजित भई सिक्किम, लिम्बुवान र दार्जिलिङ भयो। वि.सं.१८४३ सालमा, रणबहादुर शाहको पालादेखि लिम्बुवान राज्यमा तिरो लगाइयो। चन्द्रसम्शेरको पालामा लिम्बुहरूको मुन्धुम र धर्मग्रन्थहरू चैनपुरमा लगेर जलाउन लगाइयो। विसं. १९०१ मा जंगबहादुर राणाले लिम्बुहरूको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा (राई) उपाधिलाई सुब्बा लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरूलाई आफ्नो कर्मचारी सरह बनाए। वि.सं. १९१० मा जंगबहादुर राणाद्वारा ल्याइएको मुलुकी ऐनमा नमासिन्या मतवाली लिम्बु जाति भन्दै व्याख्या गरिएको थियो। नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरिन थालेपछि धनकुटाका आठपहरियाहरूले दशै नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ आठपहरिया र रिदमा आठपहरिया मारिए।

वि.सं. १९५२ को माघ महिनामा ताप्लेजुङ हाङपाङका बाजहाङ आङबुहाङलाई राणा शासनको विरोध गरेकोमा फुङलिङ बजार नजिक पात्लेको रुखमा झुण्ड्याएर मारिएको इतिहास पाइन्छ।

 वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहसनहस गरी कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा विभाजन गरियो।

यिनै क्षेत्रहरूलाई यो भन्दा पहिले लिम्बुवान भनिन्थ्यो। वि.सं. २०२१ सालमा लिम्बुहरूको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू गरियो। पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व सकिएको छ। यसरी लिम्वुवान र गोर्खाको दुइ पक्ष विच भएको वि.सं. १८३१ मा भएको लालमोहर सन्धी वि.सं. २०२१ मा एकतर्फी टुटेकोमा लिम्वुवान नेताहरुले साउन २२ लाई कालो दिनको संज्ञा दिन्छन्।

 मोहनसिंह थेवेको सहयोगमा तयार पारिएको

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.