|

काठमाडौं : कोरोना महामारीका कारण झण्डै २ वर्ष निष्क्रिय रहेको नेपाली फिल्म उद्योग महामारीपछि कुन दिशातर्फ जाने हो भन्ने चासो सबैलाई थियो।

अघिल्लो वर्ष असोजदेखि नै फिल्म हल खुले पनि फागुनदेखि मात्रै नेपाली फिल्म नियमित रुपमा प्रदर्शन भइरहेका छन्।

जसमा व्यावसायिक रुपमा असफल फिल्मको सूची लामो छ। लगानी सुरक्षित गरेर मुनाफा कमाएका सबै फिल्म पहिलेका सफल फिल्मका सिक्वेल रहेका छन्। 

गत असोज २६ गते 'डाँडाको वर पिपल' प्रदर्शनमा आए पनि हलमा दर्शकको उपस्थिति भने देखिएन। पुस १६ मा प्रदर्शनमा आएको 'कठपुतली'लाई कोरोनापछि हलमा दर्शक तान्ने पहिलो नेपाली फिल्म मान्न सकिन्छ। तर फिल्मले मुनाफा नै कमाउने गरी भने व्यापार गर्न सकेन न त फिल्म समीक्षकले नै रुचाए। 

'कठपुतली'देखि 'चपली हाइट ३', 'म यस्तो गीत गाउँछु २', 'लप्पन छप्पन २', 'चिसो एष्ट्रे', 'हेल्लो जिन्दगी', 'ए मेरो हजुर ४', 'मन्त्र', 'लक्का जवान', 'कबड्डी ४', 'चिसो मान्छे', 'घनचक्कर', 'सम्झना बिर्सना', 'सिल्ली फो', 'दोख', 'पानीफोटो' हुँदै भर्खर प्रदर्शनमा आएको ‘म’सम्म आउँदा व्यावसायिक रुपमा सफल फिल्म 'म यस्तो गीत गाउँछु २', 'ए मेरो हजुर ४' र 'कबड्डी ४' मात्रै छन्। जुन सबै अघिल्ला सफल फिल्मका सिक्वेल हुन्।

सिक्वेलमै पनि अघिल्ला दुई फिल्म सफल रहेको 'चपली हाइट' चलेन। न त सबैभन्दा ठूलो नेपाली एक्सन फिल्म भनेर प्रचार गरिएको 'लप्पन छप्पन २' नै चल्यो। प्रदर्शनमा आएका अधिकांश फिल्मलाई त झन हप्ता दिन हलमा टिक्न समेत गाह्रो पर्‍यो। 

कोरोना महामारी शुरु हुनुभन्दा अगाडि पनि नेपाली फिल्मको अवस्था खासै फरक थिएन। तर कोरोनापछि केही यस्ता घटना भए जुन सम्झनलायक छन्।

जस्तो 'ए मेरो हजुर ४' ले ठूलो बजेटमा बनेको बहुप्रतीक्षित कन्नड फिल्म 'केजिएफ च्याप्टर २' सँग जुधेर पनि आफ्नो लगानी सुरक्षित गरी मुनाफा कमाउन सफल भयो।

त्यस्तै 'कबड्डी ४' नेपाली फिल्म इतिहासकै सर्वाधिक कमाइ गर्ने र कोरोना महामारीपछि हलमा ५१ दिन मनाउने पहिलो र एकमात्र नेपाली फिल्म बन्यो। 

यीबाहेक पनि केही यस्ता फिल्म प्रदर्शनमा आए जसले व्यावसायिक रुपमा राम्रो प्रदर्शन गर्न नसके पनि समीक्षात्मक रुपमा अब्बल मानिए।

समीक्षात्मक रुपमा अब्बल नमानिएका फिल्मले पनि नेपाली फिल्मका दर्शकलाई फरक स्वाद दिने प्रयास गरे। जसमा 'चिसो एष्ट्रे', 'मन्त्र', 'चिसो मान्छे', 'दोख', 'पानीफोटो' जस्ता फिल्म पर्छन्।

'कबड्डी', 'ए मेरो हजुर', 'म यस्तो गीत गाउँछु', 'चपली हाइट' पछि 'प्रेम गीत' र 'परदेशी' जस्ता सफल फिल्मका सिक्वेल प्रदर्शनको तयारीमा छन्। जसमा 'प्रेम गीत ३' को चर्चा नेपालमा मात्रै नभएर भारतमा पनि हुन थालेको छ। फिल्मले प्रदर्शनअघि नै लगानी उठाएर नाफामा छ।

त्यस्तै दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको 'परदेशी २' लाई पनि प्रतीक्षित फिल्मको रुपमा हेरिएको छ। 

अर्को सफल फ्रेन्चाइज 'छक्का पञ्जा'को चौथो फिल्म छायांकनमा छ भने 'छड्के २' पनि छायांकनमा जाने तयारीमा छ। 'छड्के' व्यावसायिक रुपमा सफल नभए पनि 'छड्के २' मा अनमोल केसीलाई लिएर व्यावसायिक सफलता हात पार्ने लक्ष्य निर्माण टिमले लिएको छ।

सिक्वेलहरूबाहेक 'माइकल अधिकारी', 'कृष्ण लीला', 'प्रकाश', 'राधा', 'लाखे', 'झिँगे दाउ', 'बाबरी', 'दुई नम्बरी', 'के घर के डेरा' लगायतका फिल्म क्रमशः प्रदर्शनको तयारीमा रहेका छन्।

काेराेनाकालपछि फिल्म उद्याेग सिक्वेल फिल्मकाे आडमा धानिएकाे छ। अबका दिनमा प्रदर्शन हुन बाँकी फिल्मले कस्ताे व्यापार गर्छन् त्याे भने हेर्न बाँकी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.