|

काठमाडौं : अबदेखि राष्ट्रिय परिचय पत्र भएकाले मात्रै चिकित्सा शिक्षाकाे एकीकृत परीक्षा दिन पाउने निर्णय भएकाे छ।

चिकित्सा शिक्षा आयोगले सोमबार गरेको पत्रकार सम्मेलनमा एकीकृत परीक्षाको विश्वसनीयता बढाउनका लागि यस्तो निर्णय गरेको जानकारी दिएको हो।

यसका लागि आयोगले राष्ट्रिय परिचय पत्रसँग आयोगको सफ्टवेयर आबद्ध गर्नका लागि कार्यदल बनाएर काम अगाडि बढाएकोसमेत जनाएको छ।

आयोगले सार्वजनिक गरेकाे प्रगति विवरणमा भनिएको छ, 'एकीकृत परीक्षाको विश्वसनीयता अझ बढाउन राष्ट्रिय परिचय पत्र पद्धतिसँग आयोगको सफ्टवेयर आवद्ध गर्न कार्यदलले काम गरिरहेको छ।’

यस्तै आयोगको हाल भक्तपुरमा रहेको कार्यालय अबदेखि केशरमहल भवनको तेस्रो तलामा सर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पत्र पठाइसकेको आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले जानकारी दिए।

चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहमा छात्रवृत्ति सिटमा अध्ययन गराएबापत मेडिकल कलेजसहित देशभरका १८ वटा शिक्षण संस्थाहरुलाई एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ दिइएको छ।

आयोगले हालै सार्वजनिक गरेकाे उक्त विवरण अनुसार आयोगले शैक्षिक सत्र २०७६/७७ देखि २०७९ असार मसान्तसम्म उक्त रकम वितरण गरिएको जनाएको हाे।

यस्तै आयोगले चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने विभिन्न विधा र तहका १२५२ विद्यार्थीलाई अनुमति पत्र दिएको समेत बताएको छ।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.