|

रौतहट : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको विकासका लागि छनौट गरेका सयौँ योजनाहरू गठबन्धन सरकारले हटाएको आरोप लगाएका छन्।

रौतहट जिल्लाकै नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा जिल्लाको विकासका लागि सिन्कासमेत नभाँचेको आरोप ओलीले लगाएका छन्।

रौतहटको सदरमुकाम गौरको ब्यारेक फिल्डमा आज आयोजना गरिएकाे पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रममा बोल्दै ओलीले देशको निकास दिने एक मात्र पार्टी एमाले रहेको बताएका छन्। गठबन्धनको सरकार विकास विरोधी भएको र भ्रष्टाचारमा डुबेको आरोप उनले लगाएका छन्।

ओलीले भने, 'अरु पार्टीले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले तीन वर्षमा गरेर देखाएकाे छ। तर, यही जिल्लाको माधवकुमार नेपाल २१ महिना प्रधानमन्त्री हुँदा जिल्लाको विकासका नाममा सिन्को पनि भाँच्न सकेनन्।'

ओलीले आफू प्रधानमन्त्री हुँदा रौतहटको विकास मात्रै होइन देश कै लागि धेरै योजनाहरु अघि सारेकाे तर सयभन्दा बढी योजना अहिलेको सरकारले खारेज गरेको आरोप लगाए।

ओलीले तराई मधेशका जिल्लाहरु बर्षेनी कटान, डुबान र बाढीको समस्या झेल्दै आउँदा आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्दा समाधान गर्ने आश्वासन दिएपनि अहिलेको सरकारले कुनै वास्ता नगरेको आरोप लगाए।

कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा गौर नगरपालिकाका पूर्वमेयर अजयकुमार गुप्ता, लोसपाबाट संविधान सभा सदस्य भएकी चन्दन साह, नेपाली कांग्रेसको जिल्ला सचिव राजेश चौधरीसहित करिब ८ हजार कार्यकर्ताहरु पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेकाे भन्दै ओलीले सबैलाई स्वागत गरेका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.