|

इलाम : डाक्टर गोविन्द केसीले आजदेखि इलामबाट जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेका छन्। आइतबार ताप्लेजुङबाट इलाम आएका केसीले इलाम अस्पतालमार्फत हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन्।

इलाममा उनले २० दिनसम्म सेवा दिने बताएका छन्। शहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण ताप्लेजुङ, इलामलगायतको पहाडी जिल्लामा सेवा दिन आएको उनले बताए।

केसीले इलाममा उपचार दिन थालेपछि जिल्लाका ग्रामीण क्षेत्रबाट पुराना हाडजोर्नी सम्बन्धी बिरामीहरु इलाम बजारमा आएका छन्।

दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरेको उनले बताए। डा. केसीले आगामी भदौ १० गतेसम्म इलामबाट निशुल्क सेवा दिने जनाइएको छ।

इलाम अस्पतालले उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने व्यवस्थापक क्षितिज खतिवडाले बताए। डा. केसीलाई आवश्यक सहयोगसहित सुरक्षा गार्डको समेत व्यवस्था गरेको खतिवडाले बताए।

शिक्षण अस्पतालमा २७ वर्ष काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन्। त्यसबाहेक १५ वटा देश पुगेर उनले बिरामीहरूलाई उपचार र औषधि उपलब्ध गराएका छन्।

२०७५ पुष २५ गते मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा लगायतको माग राख्दै १६ औँ अनसन इलामबाट थालेका थिए।

उनको अनसन २४ दिनसम्म चलेको थियो।  स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौँ दिन उनलाई हेलिकप्टरबाट काठमाण्डौं लगेर शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.