|

खोटाङ : अक्सिजन लिन खोटाङबाट सिलिन्डर लिएर काठमाडौं र विराटनगर जानुपर्ने बाध्यताको अन्त्य भएको छ। जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्टको स्थापना भएसँगै उक्त बाध्यता अन्त्य भएको हो।

प्लान्ट सञ्चालनका लागि अहिले विद्युतको समस्या रहेको बायो मेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले बताइन्। ‘४ सय भोल्टेजभन्दा माथि विद्युतको आवश्यक पर्छ तर सधैँ आवश्यकताअनुसार भोल्टेज आउँदैन। त्यसैले जेनेरेटर जडान गरिएको छ। अहिले अक्सिजन उत्पादनमा समस्या छैन‚’ टेक्निसियन श्रेष्ठले भनिन्।

प्लान्टले एक दिनमा २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने उनको भनाइ छ।

प्लान्ट जडान भएसँगै जिल्लामा अब अक्सिजनको कुनै समस्या नहुने जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नितु लामाले बताइन्। ‘यसअगाडि अक्सिजन लिन सिलिन्डर लिएर काठमाडौं, विराटनगर जानुपर्ने बाध्यता थियो। कोरोना भाइरस (कोभिड–१९) फैलिएको समयमा अक्सिजनको चरम समस्या खेप्नु पर्‍यो। प्लान्ट निर्माण भएसँगै जिल्लामा आवश्यक अक्सिजन अब यहीँ उत्पादन हुन्छ। सिलिन्डर बोकेर अक्सिजन खोज्दै हिँड्नुपर्ने खोटाङको बाध्यता सधैँका लागि अन्त्य भएको छ‚’ प्रमुख डक्टर लामाले भनिन्।

प्रदेश १ सरकारबाट प्राप्त भ्याटसहित ९९ लाख रूपैयाँबाट सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो। प्लान्ट जडान सम्पन्नपश्चात सोमबार जिल्ला अस्पताल खोटाङका व्यवस्थापन समिति अध्यक्ष एवं समन्वय प्रमुख सनबहादुर राईले उद्घाटन गरे। 

अस्पतालको छेउमा छुट्टै भवन निर्माण गरेर प्लान्ट जडान गरिएको छ। हाल प्लान्ट राखिएको भवन एकातर्फ इँटा र सामान्य कमसल तारजाली राखेर गुणस्तरहीन बनाइएको भन्दै प्रश्नसमेत उठेको थियो। अहिले भवनमा सिमेन्ट प्लास्टर गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.