|

विराटनगर : विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० वटा नाटक मञ्चन गरिनेछन्। विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।

पाठ्यक्रममा समावेश वा शिक्षक अथवा विद्यार्थीले लेखेर निर्देशन गरेका १ घण्टा अवधिका नाटक महोत्सवमा मञ्चन गरिनेछ। जसमा अभिनय गर्ने कलाकार पनि उही विद्यालयमा अध्ययन गरिरहेको विद्यार्थी हुनुपर्नेछ।

नाटक तयार पार्न सहजीकरण र प्राविधिक सहयोग आरोहण गुरुकुलले गर्ने अध्यक्ष क्षेत्रीले बताए। इच्छुक विद्यालयले आगामी भदौ ५ गतेसम्ममा आरोहणसँग सम्पर्क गर्नुपर्नेछ वा आरोहणले उसको वेबसाइट अथवा सामाजिक सञ्जालमा उपलब्ध गराएको फारम भरेर विद्यालयले सहभागिताका लागि आवेदन दिन सक्नेछन्।

महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने अपेक्षा आयोजकले गरेको छ। गुरुकुलले यसअघि ०७६ सालमा पहिलाे पटक विद्यालय नाटक महोत्सव आयोजना गरेको थियो। त्यसयता कोरोना महामारीले आयोजना हुन सकेको थिएन।

१० दिनको महोत्सव अवधिभर २ हजारभन्दा धेरै विद्यार्थीको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता हुने अपेक्षा गरिएको छ। 

फारम भर्नका लागि पोष्टरको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ  अथवा https://docs.google.com/forms/d/1l3MgTskBRDgulWDCiprb_0YyKOhI_DN9fqeJDIObjfM/viewform?edit_requested=true&fbclid=IwAR2BRCdI7Ahcsm_EPO0TdmynSCq9J8rTvVvTavdqZ0bwVn17ga9jgFvFgrI याे लिंकमा क्लिक गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.