|
फाइल

इलाम : गत १५ जुन २०२२ मा भारतको संसदीय वाणिज्य स्थायी समितिले नेपालबाट आउने चियाको प्रमाणीकरणका लागि भारत सरकारले शुल्कबाहेक कडा मापदण्ड लागू गर्न सिफारिस गरेपछि पुनः चिया निर्यातमा समस्या देखिएको छ।

लोकसभा र राज्य सभामा पेश गरिएको नेपाली चिया सम्बन्धी प्रतिवेदन नेपालको चिया ‘जिओग्राफिकल इन्डिकेसन’ (जीआई)मा दर्ता नरहेको बताउँदै नेपाली चिया रोक्न भारतले तयारी गरिरहेको छ। यसरी जीआईमा समेत दर्ता नभएको चिया मिसाएर भारतीय चिया निर्यात गर्दा समग्र देशको गुणस्तर खस्किएको उनीहरूको दाबी छ।

प्रतिवेदनमा लेखिएको छ, ‘छिमेकी मुलुक विशेषगरी नेपालबाट गुणस्तरहीन चिया बढेको छ। भारतको चिया उद्योगलाई खतरामा पार्ने देखिन्छ। नेपालबाट कम गुणस्तरको चिया आयात गरी बिक्री भइरहेको छ। प्रिमियम दार्जिलिङ चियाको रूपमा पुनः निकासी गरिएको छ, जसले भारतको विश्वव्यापी ब्रान्ड छवि र घरेलु चियाको मूल्यलाई पनि असर गरिरहेको छ। चिया उद्योग पश्चिमको दार्जीलिङ जिल्लाको अर्थतन्त्रको मेरुदण्ड हो। बंगाल र दार्जीलिङ चियाको दोहोरोपनको वृद्धिले चिया उत्पादन र यस क्षेत्रका साना चिया उत्पादकको जीविकोपार्जनमा असर पारेको छ। यसबाहेक नक्कली दार्जीलिङ चियाले नेपालको दृष्टिकोणलाई कमजोर बनाउँछ। त्यसैले समितिले विभागलाई बलियो बनाउन  छिमेकी देशहरूबाट विशेष गरी नेपालबाट कम गुणस्तर र सस्तो चियाको आयातलाई रोक्न सतर्क उपाय सिफारिस गर्छ।’

२ वर्षअघि नै भारतीय टी बोर्डले नेपालबाट ठूलो मात्रामा गुणस्तरहीन चिया भारततर्फ निर्यात भइरहेकाले ‘अन्धाधुन्ध चियाको आयात र नेपालबाट अवैध निकासी’ रोक्नका लागि नियमहरू लागू गर्न भन्दै केन्द्रीय वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको थियो। बोर्डले नेपालको सीमावर्ती क्षेत्रबाट निर्यात भएको गुणस्तरहीन हरियो पत्तीलाई प्रशोधन गरेर दार्जीलिङ टी को नामबाट विश्व बजारमा विक्री गरेपछि विश्वसनीयता गुम्दै गएको समेत आरोप लगाउँदै आएको छ।

वर्षेनि भारतले नेपाली चिया निर्यातमा अनेक बखेडा निकाल्ने गरेको छ। कहिले गुणस्तरीयतामा प्रश्न त कहिले चियाका उच्च मात्रामा पेस्टिसाइड भेटिएको भन्दै सीमा नाकाबाट फर्काउँदै आएको छ। भारतले गत वर्ष मात्रै नेपाल र केन्याबाट सस्तो चिया आयात भएको भन्दै चिया बन्द गरेको थियो। बोर्डले चिया आयातकर्ताले देशमा सस्तो चिया पैठारी गरेको पाइए आयात लाइसेन्स खारेज गर्ने धम्की दिएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशन गरेका थिए।

आयातकर्ताले पालना गर्नुपर्ने केही नियम र बन्देज समेत लगाएको छ। लकडाउनअघि नै दार्जीलिङकी पश्चिम बंगाल राज्यसभा सांसद शान्ता क्षेत्रीले नेपाली चिया गुणस्तरहीन र स्वास्थ्यका दृष्टिले अखाद्य भएको भन्दै तत्काल आयात रोक्न संसद्‌मा माग गरेकी थिइन्। त्यसअघि दार्जीलिङ टी एसोसिएशनले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी दार्जीलिङ भ्रमणमा आएका वेला ज्ञापनपत्र मार्फत नेपाली चियाको आयात रोक्न आग्रह गरेको थियो।

भारतको संसदीय समितिले छिमेकी देशहरूबाट कम गुणस्तरका उत्पादन भित्रिनाले भारतीय चिया उद्योगलाई खतरामा पारेको कुरा औंल्याउँदै ४० देखि १ सय प्रतिशतसम्म एन्टी–डम्पिङ शुल्क लगाउन आग्रह गरेको छ। समितिले सन् १९५० को नेपाल–भारत व्यपार सन्धि समेत पुनरावलोकन गर्नुपर्ने माग राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नेपाली चियाको प्रमुख आयातकर्ता देश भारत हो। भारतले वार्षिक रूपमा आयात गर्ने ३ करोड केजी सिटीसी चियामध्ये १ करोड ५० लाख केजी नेपालबाट निर्यात हुन्छ।

अर्थोडक्स चिया निर्यातको ९० प्रतिशत भारतीय बजारका विक्री हुने गरेको छ। नेपालबाट निर्यात हुने अर्थोडक्स चियामा दार्जीलिङको चिया मिसाउने काम पनि भारतमा हुने गरेको आरोप छ। नेपालको अर्थोडक्स चियाको मूल्य भारतमा हुने मूल्यभन्दा आधाभन्दा भएकाले चिया आयातमा आकर्षित हुने गरेका छन्।  यसैबीच नेपाली चिया निर्यातकर्ताले भारतमा आफ्नो वस्तु विक्री वितरणका लागि उनीहरूले कडा क्वारेन्टाइन नियम पालना गर्नुपर्ने बताउँछन्। जसमा कोलकाताको केन्द्रीय खाद्य प्रयोगशालाबाट परीक्षण स्वीकृति प्रमाणपत्र समेत समावेश छ।

खाद्य प्रयोगशालाबाट जारी भएको प्रमाणपत्र ६ महिनाको लागि मात्र मान्य हुनेछ। प्रमाणपत्र प्राप्त गर्नका लागि ३० हजार रुपैयाँ खर्च लाग्ने नेपाल चिया तथा कफी विकास बोर्डका पूर्व उपाध्यक्ष सन्तोष कुँवर बताउँछन्। ‘यो प्रमाणपत्र एक क्रेताका लागि मात्र ६ महिनाका लागि मान्य छ र लागत ३० हजार रुपैयाँ छ। यदि हामी अर्को क्रेतालाई एउटै उत्पादन बेच्न चाहन्छौं भने हामीलाई अर्को प्रमाणपत्र चाहिन्छ’‚ कुँवरले भने, ‘नेपाली चिया उत्पादकहरूले भारतीय अधिकारीले थप कर लगाउन नपरोस् भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनका लागि प्रस्तुतीकरण गरिरहेका छन्।’

उनले भारतीय संसदीय स्थायी समितिले सिफारिस गरेको विधेयक नम्बर १७१ पास भएमा नेपालको चिया क्षेत्रका लागि घातक हुने बताएका छन्।

प्रतिकिलो २५० रुपैयाँभन्दा सस्तो हुने नेपालमा उत्पादित चिया अहिले भारतमा निकासी गर्न नपाइने भएकाले भारतका चिया उत्पादकका लागि चुनौती थपिनेछ।  वर्षेनि भारतबाट चिया निर्यातमा अवरोध आउँदा पनि सरकार गम्भीर बन्न नसकेको चिया व्यवसायीको गुनासो छ। चियाको मुख्य सिजनमा वर्षेनि भारतले अवरोध गर्दै आएको छ।

नेपालले निर्यात गर्ने मुख्य वस्तुमा पर्ने चियाको बारेमा सरकार किन गम्भीर बन्दैन्?’ सूर्योदय टी प्रोड्युसर्स एसोसिएशनका प्रवक्ता बुद्धभूषण योञ्जन प्रश्न गर्छन्‚ ‘एकातर्फ त सरकारले चिया उद्योगीहरूको प्रवर्द्धनका लागि नीति ल्याउन सकेको छैन। अर्कोतर्फ भारतले नेपाली चिया रोक्न कानुन नै बनाउँदै छ। तेस्रो देशको बजारसम्म पुर्‍याउन साना किसान र उद्योगीहरूको पहुँचमा छैन। यस्तो अवस्थामा सरकारले भारतसँग सरकारी स्तरमा प्रत्यक्ष वार्ता गरेर चिया निर्यात सहज बनाउनुपर्‍यो।’

गत साउन ५ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत नेपाली चियाको बारेमा चासो व्यक्त गरेका थिए। संसद्‌मा बोल्ने क्रममा चियाको बारेमा सरकार गम्भीर नभएको बताए। उनले नेपाली चियाको बजार युरोप र अमेरिकाको बजारमा खोज्न संसद्‌मा ध्यानाकर्षण समेत गराए।

‘चियाको बजार अर्थोडक्स मूल त भारत छ। हामीले चियाको बजार खोज्न सकेका छैनौँ। अर्थोडक्स चियाको बजार युरोप, अमेरिकामा अलि अलि, रूस, चीन जस्ता क्षेत्रमा पठाउने सम्भावना छन्। अलि अलि गइरहेको पनि छ। तर हामीले व्यवस्थित रूपमा बजार खोज्ने काम गर्न सकेका छैनौँ। जसले उत्पादन गरेको छ उनीहरू आफैँ बजारसम्म पहुँच अवस्थामा छैनन्’‚ खनालले भनेका छन्, ‘अहिले हामी जुन मूल्यमा भारतमा बेचिरहेका छौँ‚ चीनको बजार आकर्षित गर्न सक्ने हो भने सम्भव छ। केही समयअघि हाम्रा देशका चिया उत्पादक र विक्रेताले नेपालस्थित चिनियाँ राजदूतावाससँग कुरा गर्दा आयात गर्न सक्ने भएपछि एमओयु  बनाइएको रहेछ। एमओयु कार्यान्वयन गर्ने भनेर परराष्ट्र मन्त्रालयतर्फ गयो। मन्त्रालयमा गएपछि कता पस्यो त्यस पछाडि कसैले थाहा पाउन सकेको छैन।’

नेपाली चियाको गुणस्तरलगायतका अन्य समस्या देखाउँदै निर्यातमा पटक–पटक अवरोध र समस्या सिर्जना गर्नु राम्रो पक्ष नभएको गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाई बताउँछन्।  नेपालको ‘भर्जिन ल्यान्ड’मा उत्पादन भएको नेपाली चियाको गुणस्तरमा प्रश्न उठाएर निर्यातमा रोक्दा विदेशी बजारमा राम्रो सन्देश नजाने सञ्चालक चापागाईंको दाबी छ।

नेपालका चिया उत्पादकहरू पनि लगभग पूर्ण रूपमा भारतमा निर्भर भएकाले बारम्बार समस्या हुने गरेको छ। नेपालका चिया उत्पादक भारत सरकारले आफ्नो चियामा भारी भन्सार नलागोस् भन्ने चाहेका छन्। दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धले यो सम्भावित कदमलाई विफल पार्नेमा आशावादी रहेका छन्।

नेपाली चियाको निर्यातमा बारम्बार रोक लगाएर नेपाल–भारतबीचको व्यापार–सन्धिको उल्लंघन समेत हुँदै आएको छ। विश्व व्यfपार संगठनको सदस्य भएको हिसाबले दुवै देशले प्रि–ट्रेडमा निर्यात रोक्न नमिल्ने चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनाल बताउँछन्।

नेपाली चिया आयातमा भारतले रोक लगाए साढे तीन अर्ब रुपैयाँको व्यापार गुम्ने जोखिम बढेको छ। पछिल्लो समय रूस र खाडी मुलुकमा समेत निर्यात भइरहेको छ तर निर्यात गर्न भारतकै बाटो प्रयोग गर्नुपर्छ। जसले गर्दा समग्र चिया क्षेत्र नै समस्यामा पर्ने जानकारहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.