पाँचदलीय गठबन्धनभित्र उप-गठबन्धन बन्छ

|

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको एक वर्ष पुग्न नपाउँदै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा विवाद देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरेपछि दक्षिणपन्थी भासमा भासिएको आरोप लगाउँदै माधव नेपालसहित झलनाथ खनाल र बेदुराम भुसाललगायतले नयाँ पार्टी गठन गरेका थिए। 

आफूहरूलाई कट्टर कम्युनिष्ट मान्ने माधव नेपाल अहिले गठबन्धन र पार्टीभित्रको विवादमै अल्झिएका छन्। उनलाई यही अवस्थामा एमाले विभाजनको औचित्य पुष्टि गर्न नसक्दै बाटोमै अलमलिरहेको टिकाटिप्पणी भइरहेको छ। त्यसो त पार्टी विभाजनको बेलामा माधव नेपाललाई बलियो साथ दिएकी रामकुमारी झाँक्री समेत अध्यक्ष नेपालको आलोचनामा उत्रिन थालेकी छिन्। 

समाजवादीभित्रको पछिल्लो समय देखिएको भनिएको विवाद के हो? स्थानीय निर्वाचनको समीक्षा र आगामी निर्वाचनको रणनीति, पार्टीको अवस्था गठबन्धन र बृहत् वाम एकताको विषयमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरसँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानी :  

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेको एक वर्ष नपुग्दै विवाद देखिएको छ। त्यसलाई कसरी हेर्नु भएको छ? 

हाम्रो पार्टीमा कुनै विवाद र बेमेल छैन। रामकुमारी झाँक्रीको विषयमा बाहिरबाट हामीले पनि सुनिरहेका हौँ। त्यसबाहेक अहिले पार्टीमा कुनै समस्या छैन। र, विवाद पनि। उहाँको विषयमा पनि कुनै छलफल भएको छैन।

पार्टीमा छलफल गर्ने या नगर्ने भन्ने कुरा पनि पार्टीमा प्रवेश गरेको छैन। हामी कतिपटक यस्ता खालको कुराबाट पीडित हुने भन्ने आउँछ। व्यक्तिगत रूपमा भन्नुपर्छ। उहाँ पार्टीको जिम्मेवार नेता अनि सचिव हुनुहुन्छ। हामीले आशा गरेको महिला युवा नेता हुनुहुन्छ। हामीले मन्त्री बनाइसकेको मान्छे।

संघीय संसदमा उहाँजतिको मान्छे पठाउनुपर्छ भनिरहेको बेलामा द्विविधा उत्पन्न भएको छ। त्यसैले उहाँले नबोलेको भए हुन्थ्यो भन्ने लाग्छ। सम्भावना बोकेको नेताले यस्तो अभिव्यक्ति नदिए हुन्थ्यो। 

उहाँसहित सरकारबाट फिर्ता बोलाइएको चार जना पछिल्लो समय पार्टीमा सक्रिय देखिनुहुन्न नि!

उहाँहरू सबै आआफ्नो ठाउँमा लाग्नुभएको छ। प्रेम आलेले डोटीमा हालै ठूलो कार्यक्रम गर्नुभयो। त्यो कार्यक्रममा एमालेबाट करिब ३०० जना पार्टीमा भित्र्याउनुभएको छ। विरोधजी पनि लागिराख्नुभएको छ। कृष्ण श्रेष्ठ पनि आफ्नै ठाउँमा सक्रिय भएर लागिराख्नुभएको छ। अब रामकुमारी झाँक्रीको विषयमा सबैलाई अवगत नै छ। 

तपाईंहरूमाथि एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न चुनौती भयो भन्ने आरोप लाग्न थालिसकेको छ। यो अवस्था किन आयो? 

हामीले एक वर्षमा समीक्षा गर्दा संगठनात्मक आधार बलियो बनेको छ। देशभर संगठन निर्माण भएको छ। संघीय सबै प्रकारको कमिटी केन्द्रमा बनेका छन्। प्रदेशमा प्रदेशमा पनि बनेका छन्।

७५३ पालिकामध्ये अधिकांशमा बनिसकेका छन्। ६ हजार ७४३ वडामा कमिटी बन्नुपर्नेमा अधिकांशमा बनिसकेका छन्। बन्न बाँकीमा हामी सक्रिय रूपमा लागिरहेका छौँ। जनवर्गीय संगठन पनि आफ्नो ठाउँमा सक्रिय छन्। विभागहरू पनि बनाएर काम भइसकेको छ। हामीले केन्द्रीय परिषद्का झण्डै १७ सय प्रतिनिधि राखेर भदौमा मात्रै प्रशिक्षण दिइसकेका छौँ।

प्रशिक्षणबाट सबै सन्तुष्ट भएर आआफ्नो जिल्ला र क्षेत्रका काम गर्न थालिसक्नुभएको छ। त्यसकारण जुन हिसाबले पार्टी निर्माण गर्नुपर्ने थियो त्यो गरेका छौँ। हामीले सोचेको भन्दा प्रगति गरेका छौँ भन्ने लाग्छ। औचित्य नै रहेन भन्ने कुरा निरर्थक हुन्। 

अब संघ र प्रदेशको निर्वाचनमा जाँदै हुनुहुन्छ। गठबन्धनमा तपाईंहरूको कति सिट दाबी रहन्छ? 

हामीले अहिलेकै अवस्थामा हाम्रो पार्टीलाई यति सिट चाहिन्छ भनेर दाबी गरेका छैनौँ। त्यसबारेमा गठबन्धनमा कुरा भइरहेको बेलामा बोल्न पनि मिल्दैन। अहिले पाँचदलीय गठबन्धन कायम राखेर जाने कुरा नै सबैभन्दा महत्त्वपूर्ण र खुसीको कुरा भएको छ।

स्थानीय तहको निर्वाचनमा पनि केही कमी कमजोरी भएपनि हामीले त्यसलाई सन्तोषजनक रूपमै लिनुपर्छ। अहिले सिट बाँडफाँडको लागि गठबन्धनको छुट्टै कार्यदलले काम गरिरहेको छ। कार्यदलले काम गरिरहेको वेलामा हाम्रो पार्टीलाई यति चाहिन्छ भनेर दाबी गर्न मिल्दैन। कार्यदलले अध्ययनपछि मापदण्ड बनाएर समान रूपमा भागबण्डा गर्छ भन्नेमा हामी विश्वस्त छौँ। 

तत्काल एमालेसँगको सहकार्यको सम्भावना सकिएको हो? 

राजनीतिमा कुनै पनि ढोका बन्द हुँदैन। हामीले सबैलाई खुला नै राखेको छौँ। एमालेसँग पनि कुरा पनि भइरहेको छ। त्यसलाई निरन्तरता दिन सकिन्छ। त्यसको लागि केही निश्चित पूर्वशर्त छन्। एमालेले पालना गर्नुपर्छ।  

त्यही पूर्वशर्तका लागि अहिले अनौपचारिक रूपमा छलफल भइरहेको छ। त्यसले मूर्तरूप लिन सकेको छैन। हामीले एमालेबाट विद्रोह गरेपछि त्यहाँको अवस्था अझै फेरिएको छैन। दुई दुई पटक संसद् विघटन गरेको कुरा पनि छ। एमालेले पनि हामीलाई केही शर्त राख्ला। आशा गरौँ, त्यसो भएछ भने राम्रो हुन्छ। तर, अहिले हामीले गठबन्धनलाई प्राथामिकतामा राखेको वेलामा आधारहीन कुरा गर्न मिल्दैन। सम्भावना पनि छैन। 

माओवादी र एमालेका दोस्रो तहको नेता पनि संवादमा हुनुहुन्छ। तपाईँहरू पनि छलफलमै हुनुहुन्छ भनेपछि चुनावअघि नै वाम तालमेल हुन्छ? 

पाँचदलीय गठबन्धनभित्र अर्को एउटा वाम गठबन्धन छ हुन्छ नै। हामीले त्यसलाई मोर्चाको रूपमा विकास गछौँ। गठबन्धनभित्रको अर्को उप-गठबन्धन हुन्छ। तर, एमालेसँगको एकताको विषय वा बृहत् वाम एकताको विषयमा हामीले सचिवालयको ३२ औँ बैठकबाटै हामीले पाँचदलीय गठबन्धनलाई कायम राख्दै वाम एकताको पहल गर्ने निर्णय गरेका थियौँ।

त्यो निर्णय भनेका कार्यान्वयनको तहमा लग्नको लागि गठबन्धनभित्रको दलहरूको मोर्चा बनाउँदै बाहिर पनि प्रयास हुन्छ। हामी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच चुनावी मोर्चा बन्छ। तर, त्यो मोर्चालाई कसरी अगाडि बढाउने भन्नेबारे अहिले छलफल भइरहेको छ। हामीले गठबन्धनमा सम्मानजनक सिटको भागबण्डा गर्नुपर्छ भनेको छौँ। 

चार दल मात्रै हुने भएपनि बाबुराम भट्टराईको गठबन्धनमा सामेल हुने सम्भावना सकिएको हो? 

उहाँले समाजवादी केन्द्रको नाम प्रस्तावमा ल्याउनुभएको हो। तर, हामीले अहिले समाजवादी केन्द्रमा नजाऔँ भनेका हौँ। उहाँले अहिले त्यही नामको पार्टी गठन गरिसक्नुभएको छ। त्यसैले गठबन्धनमा आउनेबारे थप छलफल भएको मलाई लागेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.