|

बैतडी : सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल शुरु भएको छ। दशैंभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई लिइन्छ। विशेष गरेर सुदूरका पहाडी समुदायले यो पर्व मनाउने गर्दछन्।

गौरा एकादशीपछि यहाँ गौराको चहलपहल शुरु भएको दोगडाकेदार गाउँपालिका-३ की फुनडी विष्टले बताईन्। हरेक वर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ। एकादशीको दिन गौरा उपासना गर्ने महिलाहरु ब्रत बस्ने गर्दछन्।

उनले भनिन्, ‘गौरा पर्व उपासना गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा छ,पहिलो पटक गौरा उपासना गर्नेहरुले पनि गौरा एकादशीको ब्रत बस्नुुपर्ने नियम छ।’

गौरा उपासना गर्ने महिलाहरूले ब्रत बसेर साँझको समयमा पूजाआजा गर्ने चलन रही आएको छ। गौरामा दुवधागो धारण गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीबाटै गौरा पर्व शुरुवात भएको मान्ने गरेका छन्।

हरेक वर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथिबाट गौरा पर्व शुरु हुने गर्दछ। त्योभन्दा अगाडि साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत बस्ने चलन रही आएको हो।

भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए। यो वर्ष भाद्र शुक्ल पक्षमा गौरा परेको छ। पहिलो पटक गौरा पर्वको ब्रत बस्ने महिलाले उजेली गौरामा ब्रत बस्न उपयुक्त हुने बताइएको छ।

बैतडीसहित सुदूरपश्चिमका सबै जिल्लाहरुमा गौरा पर्व मनाउने चलन रही आएको छ। तराईका जिल्लाहरूमा पनि पहाडी समुदायले गौरा पर्व मनाउने गरेका छन्। यसका साथै छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ।

गौरा पर्वको चहलपहल शुरु भएसँगै रोजगारीका लागि देशबाहिर रहेको स्थानीय बासिन्दा घर फर्किने क्रम शुरु भएको छ। बजारमा पनि नयाँ लुगा किन्नेको भीड बढ्न थालेको छ। घर बाहिर भएकाहरु पनि घर फर्किन थालेका र गौराको समयमा नयाँ लुगा लगाउने चलन रहेकाले बजारमा पनि चहलपहल बढेको बैतडीको दोगडाकेदारका गणेश विष्टले बताए।

गौरामा शिवपार्वतीको पूजाआजा गरिनुका साथै स्थानीय ठाउँमा रहेका देवीदेवताका मन्दिरमा पनि जात्रा लैजाने चलन रही आएको छ। पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा/गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यतिवेलादेखि नै गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको मानिन्छ।

गौरा पर्व भाद्र शुक्लको पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरिका गेडागुडी भिजाउने गर्छन्।

यहाँका महिलाले गहुँ‚ केराउ‚ गहत‚ मास र गुरुस मिसाएर तामाका भाँडामा भिजाउँछन्। यी ५ अन्नलाई बिरुडा भनिन्छ।

महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहुर्तमा सामूहिक रुपमा बिरुडा धुन्छन्। सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ।

गौरा भित्र्याएर पूजा अर्चना गरि महिलाहरुले दुवधागो चढाउने गर्छन्। दुर्गाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो।

गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल)मा फाग गाएर पूजाआजा गर्छन। साँझपख अभिषेक गरेर दुवधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ।

सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरि आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन्।

महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्।

गौरा पर्वमा देउडाका माध्यमबाट एक अर्काका दुःखसुख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ।

सुदूरपश्चिमेलीहरूले दशैंभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन्। त्यसैले गौरामा एकैदिन भए पनि देउडामा रमाउन परदेशिएकाहरू पनि घरपरिवार सम्झिएर घर फर्किने गर्छन्। गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.