अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम

|

काठमाडाैं : थापाथलीस्थित नर्भिक अस्पताललाई कानूनको पालना गर्न काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले आग्रह गरेका छन्।​ अस्पतालले सरकारी जग्गामा अनुमति विना संरचना बनाएर हडपेको सन्दर्भमा मेयर शाहले यस्ताे बताएका हुन्।

महानगरले साेमबार २४ घण्टाकाे म्याद दिएर जग्गा खाली गर्न सूचना जारी गरेकाे थियाे। आज २४ घण्टा बितिसक्दा पनि अस्पतालले अटेर गरेपछि मेयर स्वयं उपस्थित भएर अस्पताल प्रशासनसँग कुरा गरेका थिए।

अस्पतालले त्यहाँ निर्माण गरिएका संरचना हटाउन र स्थानान्तरण गर्न केही थप समय लाग्ने र त्यतिन्जेल बिरामीका लागि अत्यावश्यक अक्सिजन प्लान्टसमेत त्यहीँ रहेकाे बताएपछि महानगरले थप ३५ दिन समय दिएकाे हाे।

समय अवधि थपेपछि मेयर शाहले कानून सबैका लागि बराबर हुने र यसकाे पालना सबैले गर्नुपर्ने आग्रह गरेका छन्। यदि ताेकिएकाे नयाँ अवधिमा पनि संरचना नहटाए कानून बमाेजिम हटाइने धम्कीसमेत उनले दिएका छन्।

फेसबुकमार्फत आफ्नाे धारणा राख्दै शाहले भनेका छन्, 'कानून सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रस्ट छौँ। सडकमा होस् वा महलमा होस्, कानूनको पालना बराबर किसिमले हुनुपर्छ। नर्भिक अस्पताललाई कानूनको पालना गर्नका लागि समय दिइएको थियो। दिइएको समयमा सुधार नभए पछि कानूनको कार्यान्वयन गर्नका लागि अनधिकृत रुपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो। तर, त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरूलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो। सो थप समय कति हुने भन्ने सम्बन्धमा संरचनाको स्थानान्तरणका लागि लाग्ने न्यूनतम समयले फरक पार्ने छ। इन्जिनियरिङ अध्ययनबाट सो समय तोकिने छ। यसैले हामी पुन: आग्रह गर्छाैं, कानूनको पालना गर्दै त्यहाँ भएका अनधिकृत संरचनाहरू हटाइदिनु होला। अन्यथा, अन्य कुनै कारणले कानूनको पालना गर्नबाट हामी पछि हट्ने छैनौँ।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.