|
द्वारकाधामको गुरुयोजनामा समावेश निर्माणाधिन मन्दिर।

भक्तपुर : हिन्दुहरूले मान्दै आएको चारधाममध्येको एक धाम हो द्वारका धाम। नेपालहरू द्वारका धामको दर्शन गर्नु परे भारतमा रहेको द्वारका धाम जाने गर्छन्।

यसर्थ नेपालमा पनि द्वारका धामको आवश्यकता महसुस गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्वारका धाम निर्माण हुँदै छ।

यहीँ साउन २५ गते दिउँसो १ बजेर ३२ मिनेटमा जगको साइत गरि नेपालमै पहिलो द्वारका धाम निर्माण शुरु गरिने मन्दिर निर्माणको मुख्य अगुवाई तथा गुण्डुस्थित पाथिभरा मन्दिरका मूल पुजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिए।

उनले पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्वारका धामजस्तै सूर्यविनायकको गुण्डुमा नेपालकै पहिलो द्वारका धाम निर्माण गरिने उनले जानकारी दिए।

शास्त्रीले भने, ‘भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पुर्‍याएका छौँ, अब ५ वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्वारका धाम निर्माणमा हामी जुटेका छौँ, यहीँ २५ गते बुधबारको शुभ साइतमा जग पूजा एवं हवन गरि धामको निर्माण शुरु गरिने उनले बताए।

करिब ८ रोपनीमा २० करोडको लागतमा ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्वारका धामको गुरुयोजना निर्माण सम्पन्न गरि मन्दिर निर्माण अगाडि बढाएको उनले जानकारी दिए।

द्वारका धामको मूल मन्दिर मात्रै ३ रोपनी क्षेत्रफलमा फैलिने बताउँदै उनले भारतको द्वारका धाममै मन्दिरको मुख्य मूर्ति निर्माण शुरु भइसकेको उनले बताए। 
उनले तीनवटै सरकार र दाताबाट संकलन हुने रकमबाट मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखेको बताउँदै द्वारका धामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरू मूर्ति स्थापना गरिने बताए।

यस क्षेत्रमा पाथिभरा मन्दिरदेखि द्वारका धाम निर्माणमा सांसद महेश बस्नेतले टेवा दिएको र सबै क्षेत्रका बासिन्दालाई समेटर निर्माण समिति बनाएर यसलाई पूर्णता दिने शास्त्रीले बताए।

मन्दिर निर्माणका लागि ५० औँ वर्ष अगाडिदेखि जग्गाको भोगचलन गर्दै आउनु भएका स्थानीय अर्जुन बस्नेतदेखि यहाँका बस्नेतहरूले जग्गा उपलब्ध गराएर मन्दिर निर्माणमा ठूलो गुण लगाएको उनी बताउँछन्।

मन्दिर निर्माणमा स्थानीय सरकारको पनि सहयोग रहने नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए। उनले भक्तपुरको गुण्डुमा पाथिभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको बताउँदै द्वारका धामको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्वारका धामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताए।

गौ संरक्षण केन्द्रले पाथिभरा मन्दिर निर्माणदेखि अहिले द्वारका धाम निर्माणमा समेत अगुवाई गरेको छ। केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले ताप्लेजुङको पाथिभरा मन्दिरमा २०७२ सालमा ५ वर्षको अखण्डदीप प्रज्वलन गरि २०७५ सालमा सवा करोड बत्ति बालेर नेपालकै ठूलो त्रिशूल जगाएर गुण्डुमा पाथिभराको मन्दिर निर्माण स्थलमा स्थापना गरेसँगै मन्दिर निर्माण सम्पन्न भएको बताए।

त्यतिवेलादेखि नै यसै स्थानमा द्वारका धाम निर्माण गर्ने संकल्प लिएकोमा अब पूरा गर्ने समय आएको भन्दै उनले द्वारका धाम मेरो पनि हो, त्यसको निर्माणमा मेरो पनि लगानी छ भन्ने हक राख्नका लागि दाताहरूलाई उनले आह्वान गरे।

गौ अर्थात गाईको संरक्षण गर्ने संस्कृत विद्यालय स्थापना गर्ने र धार्मिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अभियान शुरु गरेको यहाँ अहिले बटुकहरूलाई दीक्षा दिने र संस्कृत पाठशाला समेतको शुभारम्भ गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.