|

काठमाडौं : विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका–२ घर भइ हाल काठमाडौं महानगरपालिका–३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई प्रहरीले जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि मंगलबार डिल्लीबजार कारागार चलान गरेको हो ।

श्रेष्ठले अष्ट्रेलियाको वेल्थ बैंकमा एक लाख ९४ हजार २८५ अमेरिकी डलर, क्यानडाको रोयल बैंकमा १८ लाख ७४ हजार ४२१, एभरेष्ट बैंक लिमिटेडको खाताबाट दुई करोड छ लाख छ हजार ६९२ रुपैयाँ, एनआइसी एसिया बैंक लिमिटेडको खाताबाट ६५ लाख २४ हजार ९१०, नबिल बैंक लिमिटेडको खाताबाट क्यानेडियन ६७ हजार पाँच ९६ र ६५ लाख रुपैयाँ अवैध कारोबार गरेको पाइएको छ।

काठमाडौं महानगरपालिका–१४ कलंकी तथा कामपा–३ लाजिम्पाटमा उनको जग्गा र पानीपोखरीमा अपार्टमेन्टसमेत रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। श्रेष्ठको साथबाट बरामद भएको दुई थान मोबाइल र दुई थान ल्यापटपबाट उक्त कारोबार पत्ता लागेको प्रहरीले जनाएको छ।

सरकारी वकिलको कार्यालयबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस पैरवी पश्चात जिल्ला अदालतको आदेशअनुसार श्रेष्ठलाई कारागार चलान गरिएको मैनालीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.