|
फाइल फोटो

इलाम : योगेश भट्टराई नेकपा एमालेका सचिव हुन्। तत्कालीन नेकपाबाट २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको लागि निर्वाचित भएका उनी पछि केपी ओली सरकारमा पर्यटनमन्त्रीसमेत भए।

विद्यार्थी राजनीतिबाट आएका उनी प्रखर वक्ताको रुपमा समेत चिनिन्छन्। सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको चुनावको घोषणा गरेपछि एमालेले समेत चुनावी तयारी अघि बढाएको छ।

एमालेले प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणपछि अहिले जिल्ला तहमा केन्द्रित भएको छ। कार्यकर्ता प्रशिक्षणका लागि पूर्व आएका भट्टराईसँग आगामी चुनावमा नेकपा एमालेको तयारीका बारेमा थाहाकर्मी नमीन ढकालले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा एमालेको सचिव हुनुहुन्छ चुनाव पनि घोषणा भएको छ संघीय र प्रदेशको अब चुनावको तयारी कस्तो छ?

मंसिर ४ गतेको निर्वाचन जुन घोषणा भयो हाम्रो पार्टीको चासोको बिषय नै हो। हाम्रो पार्टीले पटकपटक चुनावको मिति घोषणाका लागि ध्यानाकर्षण गराउँदै आएको थियो। र त्यहीअनुरुप घोषणा भएको छ। यो आवधिक निर्वाचन लोकतन्त्रमा एउटा  सुन्दरता हो। यो हुनुपर्छ नेकपा एमाले एउटा देश व्यापी सन्जाल भएको सही विचार भएको संगठनात्मक क्षमता भएको राष्ट्रिय सामर्थ्य भएको पार्टी हो।

मंसिर ४ गतेको निर्वाचनमा प्रदेश र संघका निर्वाचनमा बहुमत ल्याउन जुटिसकेको छ। स्थानीय तहको निर्वाचनसँगै लगतै हामीले आम चुनावमा जुट्न पार्टी पंक्तीलाई निर्देशन गरिसकेका छौ पार्टी सचिवालय, स्थायी समिति बैठकबाट।

अहिले ७ वटै प्रदेशमा चुनाव तयारीका प्रदेश स्तरीय कार्यक्रम सकेर जिल्ला स्तरका प्रशिक्षण अभियानमा छौँ। विस्तारै निर्वाचन क्षेत्र पालिका तहमा निर्वाचन क्षेत्र र पालिका तह हुँदै वडा तहसम्म भदौको २०-२५ सम्म वडाको सबै तहसम्मका निर्वाचन केन्द्रित कार्यक्रमहरु अघि बढाउँछौँ।

हिजो नेकपालाई बहुमत दिएका जनताले फेरि पनि एमालेलाई बहुमत दिन्छन् त?

आजको मुलुकले खोजेको राष्ट्रिय सामर्थ्य भएको दुनियाँसँग शिर ठारो पारेर बोल्न सक्ने मुलुकको विकासलाई नेतृत्व गर्न सक्ने सामाजिक आर्थिक विभेदलाई अन्त्य गर्न सक्ने सामाजिक न्यायसहितको समृद्ध र  समतामुलक नेपाल बनाउने सक्ने यो दृष्टिकोण सहितको राजनितिक शक्ती नेकपा एमाले नै हो। त्यसैले हामी विश्वस्त छन्। नेपाली जनताले हामीलाई बहुमत दिनुहुन्छ।

बहुमत पुर्‍याउने हिसाले तयारी छ भन्नुभयो, यसका आधार के देख्‍नुहुन्छ?

निर्वाचन प्रणाली जटिल छ। मुलुकले के खोजेको छ भने राष्ट्रिय सामर्थ्य भएको राष्ट्रिय दृष्टिकोण भएको र मुलुकलाई सही दिशा दिन सक्ने पार्टीतर्फ ध्यानाकर्षण भएको छ।

अर्कोतर्फ विचारको हिसाबले २ कोरमा राजनीतिक शक्ति प्रभावित हुँदै आएको छ। वामपन्थी समाजवादी माक्र्सबादी कित्ता हो कम्युनिष्टहरूको जसको मुख्य शक्ति नेकपा एमाले हो।

अर्को उदारवादी लोकतन्त्रवादीहरुको कित्ता हो र त्यसको मुख्य शक्ति नेपाली कांग्रेस हो। त्यसले गर्दा यी २ वटाको मुख्य प्रतिस्पर्धा छ। आजको संविधान मानिसहरुको चेतना कांग्रेसको इतिहासका अवस्थाले मुलुकले कम्युनिष्ट विचारधाराको वामपन्थी विचारधाराको राष्ट्रिय सामर्थ्य बोक्न सक्ने तागत मुलुकले खोजेको छ र त्यो नेकपा एमाले हो। हामीलाई के विश्वास छ भने चुनावी अभियानमा जाँदा यिनै विचारधाराका बिचमा बैचारिक बहस हुँदै जान्छ। र त्यसो हूँदा साना दलको महत्व घट्दै जान्छ जनमत की त एमाले तिर केन्द्रित हुन्छ की त कांग्रेस तिर केन्द्रित हुन्छ।

आजको दिन हेर्दा सवैभन्दा ठुलो जनमत वामपन्थीहरुको छ। र देशभक्त वामपन्थीहरुको जनमत एमालेमा केन्द्रित हुन्छ भन्ने हाम्रो विश्वास छ। त्यस आधारमा समानुपातिकमा ५० लाख भन्दा बढि भोट ल्याउने हाम्रो आंकलन छ। किन भने अस्तिको स्थानीय तहमा ३८ लाख बढि मत ल्याएको हो र अरु १२ लाख बढाउँछौ। ५० लाख बढी मत ल्याउँछौ र प्रत्यक्षमा उल्लेख्य सिटमा बिजय हासिल गरेर प्रत्यक्ष र समानुपातिकमा यसरी बहुमत ल्याउने हाम्रो तयारी छ।

७४ को निर्वाचनमा वाम गठबन्धनपछि पार्टी एकता भयो टुटफुट पनि भयो अहिले पुरानै अवस्थामा पार्टीहरु छन्। यो अवस्थामा वाम गठबन्धन अथवा तालमेलको सम्भावना कत्तिको छ?

त्यो सम्भावना अहिले नै देखिँदैन वस्तुगत हिसाबले। तर, छँदै छैन भन्ने पनि सकिँदैन। क्षितिज पारि कहीँ न कहीँ हुन्छ।

किनभने हामीले देखेको डाँडा मात्रै सत्य हैन त्यो डाँडापारि पनि त ठाउँ छ नि त। त्यसो हुनाले क्षितिज पारि पनि केही सम्भावनाहरु हुन सक्छन्। तर, अहिले नै वस्तुगत अवस्था बनेजस्तो मलाई लाग्दैन। वैचारिक बहसहरू माओवादीभित्र पनि छन् एमालेभित्र पनि छन्।

अरू साना वामपन्थी दलहरूभित्र पनि छन्। एउटै वाममोर्चा बनाएर जाऔँ कांग्रेसलाई अर्को मोर्चा बनाऊ भनौँ। लोकतान्त्रिक उद्धारवादीहरुको मोर्चा कांग्रेसले बनाओस्।

वामपन्थी मोर्चाको अगुवाइ एमालेले गरोस भन्ने कुरा छलफलको विषय हो। तर अहिले नै छैन भनेर अस्विकार गर्न अवस्था पनि छैन छ भनेर भइहाल्ने अवस्था पनि देखिँदैन।

स्थानीय तहको निर्वाचनमा अन्तरघात भयो भनेर एमालेको केन्द्र, स्थायी कमिटीमा पनि छलफल छ। अ पार्टीमा अन्तरघात भएकाहरुलाई कारबाही गर्ने प्रक्रिया छ के?

पार्टीभित्रको अन्तरविरोधले स्थानीय तहको चुनावमा करिब ५० वटा सिट हामीले गुमायौँ भने सामान्यतया मूल्यांकन छ। उम्मेदवार छनोटमा आवश्यक सावधानी, पारदर्शीता, सर्वस्विकार्य प्रक्रिया अपनाइएन होला अथवा उम्मेदवार छनौँटमा जित्ने सम्भवनालाई हेरिएन अथवा वैचारिक समूहको प्रभाव भयो होला केही कारणले अन्तरविरोध भए।

पार्टी प्रक्रियामा आएपछि मेरो बुझाइ के छ भने मान्छेले आफ्नो स्वतन्त्रता पार्टीमा सुम्पिएको हुन्छ। पार्टीभित्र आएपछि विजयमा लाग्नुपर्छ त्यो कुरा स्थानीय तहको निर्वाचनपछि समिक्षाबाट कार्यकर्तालाई बताएका छौ। देशभरको प्रशिक्षणमा राखेका छौँ। हामीलाई के विश्वास छ भने आउने मंसिर ४ को चुनावमा पार्टीभित्र त्यो तहको गडबडी हुँदैन। साथीहरुले बुझ्नु भएको छ आफ्नै पार्टीका उम्मेदवार हराउँदा कसलाई नाफा हुँदो रहेछ भनेर त बुझ्नुभएको छ। त्यसो हुँदा उम्मेदवार छनौटमा पारदर्शी र लोकतान्त्रिक प्रक्रियाबाट जान्छौ र पार्टीलाई  एक ढिक्का बनाएर चुनावी अभियान जान्छौँ।

नेपालको कम्युनिष्ट आन्दोलनमा खास गरी पद, शक्ति र पैसा यो प्रति कार्यकर्ता केन्द्रित छन भन्ने बुझिन्छ। युवा पुस्ताहरु सिद्धान्त, नैतिकता र  अध्ययनभन्दा पनि अराजकता र उदण्डता हावी भएको देखिन्छ। यो सुधार्ने राजनीतिक दलको जिम्मेवारी हुन्छ। कम्युनिष्ट पार्टीमा अनुशासन नहुनुको कारण चाहि के होला?

सान्दर्भिक प्रश्नको उठान भएको छ यो आजको राजनीतिक केन्द्रीय बहस पनि हो। कम्युनिष्टको मात्र हैन सबै राजनीतिक दलको साझा बहसको विषयसमेत हो। प्रतिस्पर्धामा जित्नुपर्छ भन्ने नाममा हामीले चाहिने नचाहिने सबै गर्दै आयौ। त्यसले गर्दा पार्टीभित्र अराजनीतिकरण बढ्दै गयो वैचारिक राजनीति कामहरु कमजोर हुँदै गए।

त्यसले गर्दा नेकपा एमाले, कांग्रेसमा माओवादी र अन्य साना दलमा पनि हामी देख्छौ यसले  गर्दा समाजलाई भ्रष्टीकरणतर्फ लिएर जान्छ। पार्टी बिग्रिदै गए भने देश कहाँ बन्छ? बन्दैन नि। पार्टी मूल जहाँबाट मूल फुट्नुपर्ने हो त्यहाँ नै बिग्रिएपछि अफ्ठयारो हुन्छ। आजको यो साम्राज्यवादी,दलाल पुँजीवादी युग, चरम उन्मत्त उपभोक्तावादी युगमा पार्टीभित्र वैचारिक राजनीतिक शुद्धिकरणमार्फत जानुपर्छ।

पार्टी र समाजभित्र  नैतिक शिक्षाको आवश्यकता देखिन्छ। यसलाई नियन्त्रण गरिएन भने समाज नै अराजनीतिकरण र विस्तारै विघटनतर्फ खतरा बढ्छ त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ।

कार्यकर्ता पार्टी संगठन हुने सतामा पुगेपछि समस्या के छ भने व्यपारी वा स्वार्थ समहमा पुग्ने कम्युनिष्ट नेतृत्वको चरित्र सुध्रिने सम्भावना छ?

सुधार्नैपर्छ नसुध्रिए त उपाय नै छैन। दूधले नुहाएका मानिसहरू आउने हैन यही समाजबाट आउने हो। स्वभाविक हो सत्तामा पुगेपछि धेरै मानिसहरूसँग सम्पर्क हुन्छ।

मुख्य कुरा के हो भने उनीहरूको स्वार्थ समूहमा प्रभावित हुनु भएन। हामीले अघि सारेका घोषणपत्र, नेपालको कानुन, नेपालका नियमावलीहरु छन् त्यसभित्र रहेर काम गर्नुपर्‍यो।

सुशासनको दृष्टिले सभ्य समाजसँग जोडिएको कुरा हो। प्रक्रिया हो आज नभए भोलि हुन्छ तर निरन्तर पार्टीभित्र शुद्धिकरण प्रक्रिया लग्नुपर्छ।

अर्को विषयस्तु भनेको नेपालको सबैदलको समस्या हो। मतबाट चुनिएर गएपछि जनताको शक्तिलाई आफ्नो शक्ति नसम्झिएर विदेशीसग हिमचिम बढाउने गुनासा छन् यो के कारणले भइरहेको छ?

आजको विश्वव्यापी युगमा कुनै पनि विश्व व्यवस्थाबाट हामी अलग चाहि रहन सक्दैनौ। त्यो विश्व व्यवस्थाको एउटा अंग हो नेपाल त्यसको मतलव विश्वका महाशक्ती राष्ट्रको अनावश्यक हस्तक्षेप र शर्त मान्न हामी बाध्य छैनौँ। मान्नु हुँदैन मानेका पनि छैनौँ।

कतिपय राजनीतिक दलका नेतृत्वले त्यसलाई मूल्यांकन गर्न नसक्दा हाम्रो पार्टी र मुलुकभित्र देखिन्छ। त्यसकारणले यो चुनावमा त्यस्तो नेतृत्व चाहियो जसले चाहे दिल्लीसँग होस्, बेइजिङसँग होस् वासिङटन डिसीसँग होस् कुनै पनि महाशक्ती राष्ट्रसँग आँखा जुधाएर मुलुकको हितमा  बोल्न सक्ने ल्याकत भएको पार्टी र नेतृत्व चाहियो त्यस अर्थ एमाले चाहियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.