‘दलहरूले राजनीतिको प्राण नै सत्ता ठाने’

|

काठमाडौं : तत्कालीन नेकपाभित्रको विवाद चर्किएपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निर्णायक भूमिकामा रहे। 

ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधवले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको बागडोर सुम्पिए। ०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट धक्का खाएको कांग्रेस २३ सिटमा खुम्चिएको थियो। 

समय क्रमसँगै प्रचण्ड–माधवसहित जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको आडमा देउवा प्रधानमन्त्री बने। ओलीले संसद् विघटन गरेपछि चर्किएको राजनीति तरङ्ग अहिलेसम्म साम्य हुन सकेको छैन। 

ओलीको अहंकार र प्रचण्ड–माधवको स्वार्थ नमिलेपछि सत्ताको चाबी पाएका देउवा अहिले शक्तिशाली भएका छन्। पाँचदलीय गठबन्धनको आडमा वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनबाट पहिलो दल बनेपछि देउवा झन् शक्तिशाली बनेका छन्। 

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि देउवा गठबन्धनलाई जोगाएर कांग्रेसको बहुमत ल्याउने रणनीति बनाइरहेका छन्। 

तर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले भने कांग्रेसलाई एकल बहुमत ल्याउने गरी गठबन्धन नगर्ने रणनीति बनाइरहेको छ। अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई एकलाउने गरी सत्ता गठबन्धनमा सत्ता बाहिरका दलहरूले पनि प्रयास गरिरहेका छन्। 

एक्लै चुनावमा जाँदा सोचेजस्तो मत परिणाम ल्याउन नसक्ने निश्चित भइसकेपछि सबै सत्ता गठबन्धनमै सहकार्य गर्न राजी बनेका छन्। 

प्रचण्डले पाँचदलीय गठबन्धनभित्रका अन्य चार दलको वामपन्थी चुनावी मोर्चा बनाउने प्रयास गरिरहेका वेला जसपाबाटै विभाजित बनेका महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाली समाजवादी पार्टी पनि जोडिने प्रयासमा छन्। 

त्यति मात्रै नभएर एमालेबाट विभाजित भएर बनेको वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान पनि गठबन्धनमै जोडिएका छन्। 

देउवाकै भर 

सर्वोच्च अदालतको ०७७ फागुन २० गते फैसलापछि नेकपाको एकता भंग भएपछि माओवादी कांग्रेससहितको गठबन्धनमा छन्। एमालेमै रहेर ‘फ्लोर क्रस’ गरेर देउवा नेतृत्वको सरकार बनाउन सहयोग गरेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि गठबन्धनकै एक हिस्सा हो। 

एमालेले गरेको १४ सांसदमाथिको कारबाही सभामुख अग्निप्रसाद सापकोटाले रोकेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि गत भदौ २ गते एमाले औपचारिक रूपमा विभाजित बनेको थियो। 

साविक नेकपाको एकता भंग भएपछि पनि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी गठबन्धनमै छन्। हालै नयाँ पार्टी दर्ता गरेका वामदेव गौतम पनि गठबन्धनका नेताहरूसँग नजिक छन्। उनी वामपन्थी एकताको अभियानमा लागिरहेका छन् तर उनको प्रयास तत्काल सम्भव हुने देखिएको छैन। 

यता वामदेवले निष्काशन गरेको युवराज सफल नेतृत्वको नेकपा समाजवादी केन्द्र दल दर्ता गरेर गठबन्धनमै सहभागी हुन प्रधानमन्त्री देउवालाई आग्रह गरिसकेका छन्। मंगलबार बालुवाटार पुगेर नै उनीहरूले आफूहरूलाई गठबन्धनमा सामेल गर्न आग्रह गरिसकेका छन्। 

यस्तै मधेश केन्द्रित जसपा पनि अहिले विभाजित बनेका छन्। देउवा नेतृत्वको सरकार गठनपश्चात् नै उपेन्द्र यादवसँग बस्न नसक्ने भन्दै महन्थ ठाकुर र राजेन्द्र महतोले लोसपा गठन गरेर अलग भए। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका वेला उनीहरू अलग भएका थिए। 

उनीहरू अहिले सत्ता बाहिर छन् तर सरकार र गठबन्धनमा आउनको लागि बालुवाटार धाइरहेका छन्। महन्थ र राजेन्द्र बाहिरिएपछि जसपामा बाबुराम र उपेन्द्रको टसल बढ्यो। हालै मात्रै बाबुरामले सहमतिमै अलग भएर नेपाली समाजवादी पार्टी दर्ता गरेका छन्।  

मंगलबार आफूहरूले प्रधानमन्त्री देउवालाई भेटेर आफूहरूलाई गठबन्धनमा ल्याउनेबारे छलफल भएको अध्यक्ष महेन्द्र राय यादवले बताए। 

उनले भने, ‘ओलीको प्रतिगमनविरुद्ध हामी सँगै लडेका हौँ। स्थानीय निर्वाचनमा सँगै थियौँ। त्यसैले अहिले पनि हामीले गठबन्धनमै रहन्छौ भनेका छौँ।’ 

जवाफमा प्रधानमन्त्रीले गठबन्धनमा छलफल गर्ने बताएको उनको भनाइ छ। जसपाबाट अलग भएपछि बाबुरामलाई गठबन्धनमा ल्याउन माओवादी केन्द्रका नेताहरूले पनि चासो राखेका छन्। प्रचण्डले बाबुराम जसपाबाट बाहिरिएको भए पनि गठबन्धनबाट नबाहिरिएको बताउँदै आइरहेका छन्। 

बाबुराम र महन्थ पनि गठबन्धनमै सामेल भए फेरि जसपा नेताहरू एकै ठाउँमा हुने निश्चित छ। 

त्यो समाजवादी केन्द्रको बहस 

बाबुरामले माओवादी, एकीकृत समाजवादी लगायतका दललाई समेटेर समाजवादी केन्द्र बनाउने प्रयास गरेका थिए तर त्यो सम्भावना तत्काल सम्भावना नभएपछि नेपाली समाजवादी पार्टी दर्ता गरेको उनी निकट नेताहरु बताउँछन्। 

त्यसो त माओवादी केन्द्रका नेता वर्षमान पुनले समाजवादी केन्द्र निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका थिए तर अध्यक्ष प्रचण्डले तत्काल नबन्ने घोषणा गरे।

समाजवादी केन्द्रबारे छलफल भए पनि त्यसले कुनै मूर्तरूप नलिएको एकीकृत समाजवादीका महासचिव गंगालाल तुलाधरले बताए। 

उनले भने, ‘उहाँ (बाबुराम)जीले समाजवादी केन्द्र बनाऔँ भन्नुभएको थियो। हामीले अहिले त्यता नजाऔँ नजाऔँ भनेका हौँ। उहाँले अहिले त्यही नामको पार्टी गठन गरिसक्नुभएको छ। त्यसैले गठबन्धनमा आउनेबारे थप छलफल भएको मलाई लागेको छैन।’ 

‘उपेन्द्रसँग काम गर्न गाह्रो छैन’ 

जसपाबाट विभाजित भएर बनेका लोसपा पनि सत्ता स्वार्थका लागि फेरि उपेन्द्र यादवसँगै काम गर्न तयार भएको छ। सत्ता स्वार्थका लागि सधैं अस्थिर रहने मधेशी दलहरूमध्येको एक लोसपा पनि फेरि सरकार र सत्ता गठबन्धनमा आउने तयारी गरिरहेको छ। 

गठबन्धनमा उपेन्द्र यादव सकारात्मक नबन्दा उनीहरूको प्रयासमा बाधा आइरहेको छ तर लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री देउवालाई पटक पटक भेटवार्ता गरेर आफूहरूलाई सरकार र गठबन्धनमा ल्याउन आग्रह गरिरहेका छन्।  

सरकार र गठबन्धनमा जानेबारे चाँडै टुंगो लाग्ने नेता महतो बताउँछन्। प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएकाले अबको केही दिनमा सकारात्मक सन्देश आउने उनको विश्वास छ। 

‘हामी चुनावको तयारीमा लागिसकेका छौँ। गठबन्धनको सवाल पनि उठिरहेको छ तर अहिले ५ दलीय जुन गठबन्धन हो‚ त्यो गठबन्धनका तर्फबाट आमन्त्रण आइरहेको छ। कुरा पनि भइरहेको छ। चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ’‚ उनको भनाइ छ। 

उपेन्द्रसँगै बसेर काम गरिसकेकाले सरकारमा सँगै बस्न कुनै कठिन नरहेको उनको ठम्याइ छ। 

उनले भने, ‘छैटौं दलको रूपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ। जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन। सरकारको कुरा पनि भइरहेको छ।’ 

एमालेको तर्क 

एमालेविरुद्ध सबै दलहरूले मोर्चाबन्दीको प्रयास गरेपछि एमालेसँग एक्लै लड्ने तागत कसैसँग नभएको उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन्। 

उनले भने, ‘सत्ता गठबन्धनसँग सामना गर्ने भनेको हाम्रो मुख्य शक्ति जनताको जनमत हो। त्यसैले हाम्रो ध्यान जनमतलाई कसरी अभिवृद्धि गर्ने र पार्टीलाई बहुमतमा पुग्ने गरी जनताको बीचमा बलियो गरेर स्थापित गर्ने भन्ने कुरा हो। गठबन्धन हाम्रो प्राथमिकतामा होइन।’ 

उनले विचार मिल्ने गठबन्धन बाहिरका दलहरूसँग तालमेलको विषयमा छलफल हुनसक्ने उनको भनाइ छ। 

‘सत्ता केन्द्रित मात्रै’

दलहरूको राजनीति नै सत्ता केन्द्रित भएकै कारणले व्यवस्थामाथि नै समस्या आएको राजानीतिक विश्लेषक खगेन्द्र प्रसाई बताउँछन्। 

त्यसबारे उनको भनाइ: 

उहाँको राजनीति सत्ता केन्द्रित मात्रै छ भन्ने प्रष्ट हुन्छ। उहाँहरूसँग केही एजेण्डा छैन। राष्ट्र र जनता आवश्यकता उहाँको प्राथमिकतामा परेको देखिदैन। सरकारको वरिपरि देखिराख्नुपर्ने उहाँको एकमात्रै योजना भएजस्तो देखियो। एजेण्डाको आधारमा जनसंगठन जुटाउन सकिन्छ भन्ने आत्मविश्वास नै छैन। 

राजनीतिको प्राण नै सत्ता मात्रै हो भन्ने उहाँहरूलाई लागेको छ। अहिलेको राजनीतिका स्थिति पुँजीवादी व्यवस्था हो। भारतमा पनि हाम्रो भन्दा खराब देखिन्छ। बेलायतमा पार्टीभित्रको आन्तरिक किचलोले प्रधानमन्त्रीले राजीनामा दिए पनि अहिलेसम्म सकेको छैन। अमेरिकामा पनि उस्तै किचलो छ। 

विश्वभर नै यस्तो समस्या छ। यस्तो अराजक राजनीतिकै कारणले यस्तो समस्या आएको हो। यसको समस्याको समाधानको विकल्प देखिएको छैन। राजनीति सुध्रिनुपर्‍यो भन्छन्। बिग्रिएको के ले त्यो प्रष्ट हुन सक्नुपर्छ। मैले देखेको अहिले राजनीति बिग्रिएको पुँजीवादले नै हो। लोकतान्त्रिक प्रक्रिया नै पुँजीवादको कब्जामा छ। सबै व्यवस्था नै गलत दिशामा गएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.