|

रौतहट : नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको बताएका छन्।

साहले चुनावको मुखमा गौरमा हावा योजनाको शिलान्यास गरेर मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको आरोप लगाएका छन्।

बुधबार रौतहटको चन्द्रनिगाहपुरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रौतहटको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले माधव कुमार नेपाल सहरी विकास मन्त्रालयको ठेकेदार बनेकाले हावामा विभिन्न योजनाको शिलान्यास गर्दै मधेशीलाई मूर्ख बनाउने अभियानमा लागेको बताए।

उनले अबको संचार युगमा कोही मूर्ख बन्न नसक्ने भन्दै जनता नझुक्याउनसमेत चेतावनी दिए। साहले केन्द्रको गठबन्धन सरकारले न्यायालयलाई बदनाम गराउने काम गरेकोसमेत आरोप लगाए।

मधेश प्रदेश सरकारलेसमेत आदिवासी जनजाति र पहाडी समुदायलाई सरकारमा सामेल नगराएर अन्याय गरेको बताए।

उनले मधेश सरकार भष्ट्राचार गर्न लिप्त रहेको बताउँदै प्रदेशमा गठबन्धन गरेर सरकारमा गएको नेपाली कांग्रेसले आदिवासी र पहाडी समुदायलाई सरकारमा सहभागी नगराउनु दुःखद भएको बताए।

लोकतन्त्रमा केन्द्र सरकार र मधेश प्रदेश सरकारले आदिवासीलाई भ्रममा पारेको बताए। आदिवासी जनजाति महासंघ रौतहटका अध्यक्ष खड्गबहादुर बम्जनको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेता राजकुमार लेखी, उद्धब रेग्मी लगायतले आफ्नो धारणा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.